Close This

हुलाकी राजमार्ग निर्माणमा तीव्रता दिइयोस्

सोमबार पौष १६, २०७५/ Monday 12-31-18
Paschim Today

    दशकअघि निर्माण शुरु भएको हुलाकी राजमार्गले अभैm पूर्णता पाउन सकेको छैन । विभिन्न विवादका कारण धनगढी, वसन्ता जैविक मार्गलगायत केही ठाउँमा राजमार्गको ट्रयाक खोल्ने कामसमेत पुरा हुन सकेको छैन । धनगढी क्याम्पस चोकपूर्व हुलाकी सडक चार वर्षअघि नै कालोपत्रे भए पनि बजार क्षेत्रमा कहाँबाट हुलाकी सडक लैजाने भन्ने विवादले यहाँ ट्रयाक खोल्ने कामसमेत हुन सकेको छैन । यस्तै वनको विवादले वसन्ता जैविक मार्गमा पनि हुलाकी राजमार्गको ट्रयाक खोल्ने कार्य पुरा भएको छैन । जसले गर्दा तराइको समृद्धिसँग जोडिएको हुलाकी राजमार्ग पूर्ण रुपमा संचालन हुन सकेको छैन । अन्य राजमार्गको बैकल्पिक मार्गको रुपमा यसलाई प्रयोग गर्न सकिएको छैन । यद्यपि कैलालीको दक्षिणी क्षेत्रका कयौं बस्तीहरु निर्माण भएको हुलाकी सडकबाट लाभान्वित भएका छन् । स्थानीयलाई आवतजावतमा सहज भएको छ । यो राजमार्गको निर्माण कार्यले पूर्णता पाए यसबाट ठूलो जनसंख्या लाभान्वित हुने देखिन्छ । तर सरकारको काम गराइको शैलीले राजमार्गको निर्माण कहिले सकिएला भन्ने टुङ्गो छैन ।
    हुलाकी राजमार्गअन्तरगत केही किलोमिटर सडक कैलालीमा भारत सरकारको सहयोगमा चार वर्षअघि नै कालोपत्रे भइसकेको छ । धनगढी र बसन्ता क्षेत्रमा भने काम भएको छैन । धनगढीमा ठेक्का भएर पनि स्थानीयको विरोधका कारण काम शुरु नै हुन सकेको थिएन । विवादको कारण झन्डै तीन वर्षसम्म काम हुन नसकेको धनगढी क्षेत्रमा हुलाकी सडक विस्तारको काम सुरु भएको छ । धनगढीको क्याम्पस रोडदेखि धनगढी गाउँ हुँदै मोहना पुलसम्म हुलाकी बाइपास सडक विस्तारको कार्य सुरु भएको हो । यसअघि सडक चौडाइको विरोध गर्दै आएका सम्बन्धित क्षेत्रका स्थानीय सहमतिमा आएपछि काम थालिएको छ । क्याम्पस रोडदेखि धनगढी गाउँ चौकसम्म १४ मिटर चौडा सडक बनाउन सकिने स्थानीयले सहमति जनाएपछि काम अगाडि बढेको छ । तर केही ठाउँमा सडकको चौडाइ घटाउनु पर्ने माग स्थानीयले गरेका छन् । हुलाकी राजमार्गको अधिकार क्षेत्र १२ मिटर भए पनि धनगढी गाउँ चौकदेखि भन्सारसम्मको सडकमा संरचना धेरै परेकाले नौ मिटर चौडामात्रै सडक बनाउनु पर्ने माग स्थानीयले गरिरहेका छन् । त्यसकारण विवाद पूर्ण रुपमा समाधान भइसकेको छैन ।
विवादकै कारण भारतीय कम्पनीले यो खण्डमा सडक निर्माणको काम गर्न सकेको थिएन । धनगढी गाउँ चौकदेखि मोहना पुलसम्म अझै पनि पुरानो डीपीआरअनुसार हुलाकी सडक बनाउन नहुने माग स्थानीयले गरिरहेका छन् । सडक १४ मिटर चौडा बनाउँदा धेरैको उठीबास हुने भन्दै स्थानीयले विरोध गरिरहेका छन् । यस कारण अहिले प्रारम्भीक काम शुरु भए पनि राजमार्ग निर्माण विषयको विवाद पुनः बल्झिन सक्छ । तराइको समृद्धिसँग जोडिएको हुलाकी राजमार्ग कञ्चनपुर, कैलाली हुँदै बर्दियासम्मको भाग सबै कालोपत्रे हुन सके सयौं मानिस लाभान्वित हुने देखिन्छ । यद्यपि धनगढीजस्तै कयौं ठाउँमा विवाद छ । कञ्चनपुरमा राजमार्ग निर्माणको गति निकै सुस्त छ । यता कैलालीको बसन्ता क्षेत्रमा पनि काम सुस्त भइरहेको छ । धनगढीमा जुनसुकै बेला विवाद बल्झेर काम रोकिन सक्ने संभावना छ । विभिन्न वहानामा विकास निर्माणका कामहरु अवरुद्ध हुने, निर्माणाधिन कामले तीव्रता नपाउने अवस्था छ । त्यसैले हुलाकी राजमार्गमात्र होइन, अन्य आयोजनाहरुको निर्माणमा पनि सरोकारवाला निकाय गम्भीर हुनुपर्छ । कतिपय आयोजनाहरु स्थानीय स्तरमा हुने विवादका कारण प्रभावित हुने गरेका छन् । यस्तो विवाद देखिएका ठाउँमा विवाद समाधानका लागि स्थानीय तहका जनप्रतिनिधिले भूमिका खेल्नुपर्छ ।