Close This

खप्तडमा हिउ फूल

सोमबार पौष १६, २०७५/ Monday 12-31-18
Paschim Today

दीर्घराज उपाध्याय ।

हिउले ढाकिएको खप्तड हेर्ने रहर थियो । अन्य बेलाको खप्तड पटक पटक टेकिसकेको थिए । हिउको खप्तड हेर्ने त्यही रहरले पाँच वर्षअघि खप्तडको यात्रामा निस्कियौ, दीपकजी र म ।
एक दिनमा धनगढीबाट सिलगढी । दोस्रो बिहान सिलगढीबाट लाग्यौ 
झिंग्रानालाई ढाकेर लमतन्न सुतेको हिउ पग्लिने संकेत देखिन्थेन । हामी भने हिउ छिचोलेर खप्तड टेक्ने दुस्साहस गरिरहेका थियौ ।
कठ्यांग्रिने जाडोले नाक, कान र हात मात्र नभएर मुटु नै चिसो बनाईरहेको थियो । तर चिसोको वास्ता नगरी हामी अघि बढ्यौ, झिंग्रानाबाट । दीपकजी झिंग्रानाको उकालोमा ढाडको समस्याले फिर्ता भए । र म एक जना नेपाली सेनाका जवानसंगै अघि बढे । हिउ परेपछि सेनाले मुस्किल सामान्य खोलेको ट्रयाक थियो । ट्रयाकभन्दा दाया बाया पाईला टेके त्यही फस्ने डर उत्तिकै थियो । एक किसिमको डर थियो मनभित्र । तर खप्तडमा टेक्ने दृढ अठोट र आट पनि उत्तिकै थियो । त्यही दृढ अठोटका कारण अघि बढिरहे । जुत्ताभित्र हिउ पसेर पानी पानी भएको थियो । र त्यो पानीले खु्ट्टा र औलाहरु पुरै चिसिईसकेका थिए ।

त्यसका बाबजुद निरन्तर हिडिरहे । किनकी रोकिने अथवा बास बस्ने कही ठाउ पनि थिएन । जताजतै हिउ । रोकिने छुट पनि थिएन । रोकिदा चिसोले ज्यानै जाने सक्ने अवस्था थियो ।
एक दिनको पैदल यात्रापछि साँझ खप्तड मुख्यालय पुग्दा अव त बाँचियो भनेर ढुक्क भईयो । त्यहाँ पुग्दा हिउको त्यो कष्टकर यात्रा बिर्सिसकेको थिए । हिउको खप्तड । आहा कति सुन्दर र मनमोहक दृष्य । 
कोणधारी बृक्षहरु हिऊले सेताम्मे भएका । बुकी फूलहरु हिउ फूलमा परिणत भएका थिए । सेनाको मुख्यालय पुरै ढाकिएको । सेनाको सेन्ट्री बस्ने पोष्ट आधा भन्दा बढि ढाकिएको । साँच्चिकै गजवको दृष्य थियो । जति तस्वीर लिएपनि धित नमर्ने । जति हेरे पनि हेरिरहु लाग्ने । 

सुदूर पश्चिमलाई सुन्दर पश्चिमका रुपमा चिनाउने पर्यटकीय क्षेत्रमा खप्तडको नाम अग्रपंक्तिमा आउछ । सुदूर पश्चिम र खप्तड एक अर्काका पर्याय जस्तै छन् ।

खप्तड भनेपछि सुदूर पश्चिम । सुदूर पश्चिम भनेपछि खप्तड । एकले अर्कालाई यसरी चिनाएका छन् । दुईटैको परिचय एक साथ जोडिएर आउछ । 


खप्तड साच्चिैक सुन्दर छ । मनमोहक छ । रमणीय पनि । खप्तडमा पुग्ने जो कोही खप्तडलाई भू—स्वर्गको संज्ञा दिन चुक्दैनन ।


स्थानीय भाषामा ‘२२ पाटन, ५२ झोती’ भनिने खप्तड सुन्दरताको मोतीका रुपमा पनि चिनिन्छ । ओझेलमा परेका कारण पर्यटक आगमन न्यून रहेको खप्तड पछिल्लो समयमा भने बिदेशीको समेत रोजाईमा पर्न थालेको छ ।


खप्तड जादा यात्रा केही कठिन भएपनि खप्तड पुगेपछि भने मान्छे पीडा,कष्ट,थकान सबै बिर्सिन्छ । खप्तड छ नै यस्तो । खप्तडको सुन्दरताका अगाडि मान्छे सबैथोक बिर्सिन्छ । खप्तडको बिशेषता नै यही हो ।


हिउदमा बुकी फुल होईन । हिउ फूल्छ,खप्तडमा । चारैतिर कोणधारी बृक्ष । जताजतै हरियाली । आँखा अगाडि उड्दै गरेको डाँफे र चराहरुको चीरबीर आवाज सुनेर नलठ्ठिने कोही हुदैनन ।