Close This

थारु होमस्टे गाउँ भादालाई नमूना बनाउने – सांसद् राना

बुधबार पौष १८, २०७५/ Wednesday 01-02-19
Paschim Today

धनगढी, १८ पुष । 
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा मंगलबारदेखि थारु होमस्टे गाउँ भादा महोत्सव सुरु भएको छ । 
    अंगेजी नयाँ वर्षको अवसरमा पर्यटन विकास तथा संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित थारु होमस्टे गाउँ भादा पर्यटन विकास समितिले महोत्सवको आयोजना गरेको हो । मंगलबार एक समारोहाकाबीच संघीय संसद्का सदस्य नारदमुनि रानाले उद्घाटन गरे । 
    कार्यक्रममा बोल्दै उनले थारु होमस्टे गाउँलाई नमूना गाउँ बनाउनका लागि पहल गर्ने बताए । सांसद् रानाले भादामा होमस्टे विस्तार गर्न आवश्यक रहेको औंल्याए । 
    ‘दशक बितेपनि अहिलेसम्म जम्मा १९ घरमामात्रै होमस्टे छ’, उनले थपे–‘अरु घरमा पनि होमस्टेको विस्तार गर्न आवश्यक छ ।’ महोत्सव सञ्चालन गरेरमात्रै भादामा होमस्टे फष्टाउन नसक्ने भन्दै सांसद् रानाले आसपासका पर्यटकीय क्षेत्रमा पनि विकास गर्न आवश्यक रहेको बताए । 
    ‘बेहडाबाबा मन्दिर र नजिक रहेको कोइलहुवा तालको पर्यटनलाई पनि संगसंगै अगाडि बढाउनु पर्दछ’, उनले भने–‘यसले होमस्टे फष्टाउनमा टेवा पुग्नेछ ।’ उनले पर्यटन गन्तव्यलाई लक्षित गरेर विभिन्न सडकहरु निर्माणको कार्य भइरहेको र निर्माण हुन बाँकी सडक यसैवर्षबाट बन्ने बताए । 
    यस्तै, प्रदेश सांसद् नेपालु चौधरीले थारु समुदायको पहिचानका लागि संस्कार र संस्कृतिलाई जोगाइ राख्न आवश्यक रहेको बताए । उनले संस्कारका कुरा घर परिवारबाटै सिक्न आवश्यक रहेको बताए । 
    कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले होमस्टेले पर्यटन विकासमा ठूलो सहयोग पु¥याउने गरेको बताए । घले गाउँ होमस्टेको उदाहरण दिदैं उनले यहाँ पनि घले गाउँको जस्तै होमस्टेको विकास गर्न सकिने बताए । 
    उक्त महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा थारु खानपानको परिकारको स्वाद लिन पाउनुकासाथै थारु परम्परागत नृत्यको अवलोकन गर्न सकिनेछ । महोत्सव उद्घाटन कार्यक्रम समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको थियो । महोत्सवको पहिलो दिन दर्शको उपस्थिति उत्साहजनक थिएन ।