Close This

अमेरिका बस्ने जोशीले राष्ट्रिय माविलाई दिए ७० लाख रुपैयाँ

बिहीबार पौष १९, २०७५/ Thursday 01-03-19
Paschim Today

धनगढी, १९ पुस । अमेरिकाको पश्चिम भर्जिनियाको फायरमाउण्ट निवासी प्रा.डा. तुलसीराम जोशीले धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित श्री राष्ट्रिय माध्यामिक विद्यालयलाई ७० लाख रुपैया प्रदान गरेका छन् ।
यो सहयोगसंगै श्री राष्ट्रिय माध्यामिक विद्यालयको नाम श्री राष्ट्रिय तुलसीराम माध्यामिक विद्यालय हुने भएको छ । 
विद्यालयको नाम परिवर्तनका लागि सम्पूर्ण प्रकृया पुरा भईसकेको प्रधानअध्यापक गणेशराज भट्टले बताए ।
प्रअ भट्टले विद्यालयको वार्षिकोत्सवको अवसरमा फागुन ९ गते जोशीको नाम थपेर औपचारिकता प्रदान गरिनेछ । 
विद्यालय व्यवस्थापन समितिले वार्षिकोत्सवको अवसरमा दाता जोशीको नागरिक अभिनन्दन गर्ने जनाएको छ । नागरिक अभिनन्दनका क्रममा जोशीलाई धनगढी ट्राफिक चौराहादेखि विद्यालयसम्म रथयात्रा गराउने कार्यक्रम तय भएको प्रअ भट्टले जानकारी दिए ।
प्रा.डा जोशीले आफू जन्मेको क्षेत्रको शैक्षिक विकासका लागि ७० हजार डलर सहयोग गरेको बताए । उनले क्षमता र आवश्यकताका आधारमा थप सहयोग गर्ने जानकारी दिए ।
नेपालको संबिधान २०७२ को अनुसुची ८ को क्रमसंख्या ८ शिक्षा नियमावली २०५९ (संशोधन सहित) परिच्छेद २७ को नियम १५४ को २१८ (३) एवम स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद ३ दफा ११ ज को ८ मा उपमहानगरपालिकामा विद्यालयको नाम परिवर्तनका लागि दाताले ७० लाख दिनुपर्ने प्राबधान छ । सोही प्राबधान अनुसार जोशीले ७० हजार डलर प्रदान गरेका छन् । गाँउपालिका र नगरपालिकाको हकमा भने ३५ लाख रुपैया दिएमा दाताको नामबाट विद्यालयको नाम राख्न सकिने व्यवस्था छ ।
विद्यालयको नाम परिवर्तनका लागि व्यवस्थापन समितिले नगर शिक्षा समिति र स्थानीय कार्य पालिकालाई पत्राचार गरेको थियो । विद्यालयको आग्रहमा नगरशिक्षा समितिको सिफारिसमा धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले विद्यालयको नाम परिवर्तनका लागि निर्णय गरेपछि यो प्रकृयाले अन्तिम रुप लिएको हो ।
कार्यपालिका र नगर शिक्षा समितिको निर्णय र सिफारिस सहितको विद्यालयको पत्र परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन जाने तयारीमा रहेको प्रअ भट्टले बताए । उनले भने,आगामि वर्षदेखि विद्यार्थीको एसईईको नतिजाको मार्कसिटमा विद्यालयको नाम परिवर्तन गर्नका लागि परीक्षा नियन्त्रण कार्यालयमा विद्यालयको नाम परिवर्तन गरिएको जानकारी दिईनेछ ।
को हुन् प्रा.डा.तुलसी राम जोशी ?
८१ वर्षअघि बझाङको व्यासी गाँउ पञ्चायत(हाल छविस पाथिभेरा गाँउपालिका)को तामाखानीमा जन्मिएका तुलसीराम जोशी भानुभक्त जोशी र महालक्ष्मी जोशीका जेठा छोरा हुन् । 
प्राथमिक विद्यालयको तह गाँउमै पुरा गरेका उनले मावि तहको पढाई चैनपुरको सत्यवादी पाठशालामा पुरा गरे । थप पढ्न काठमाण्डौं गए । काठमाण्डौ पढ्दा पढ्दै छात्रबृति पाएर  ५४ वर्षअघि अमेरिका पुगेका उनले त्यहीबाट विद्यावारिधी गरे । भूगोलमा त्रिचन्द्र कलेजबाट स्नातक र  त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका जोशीले हवाई युनिभर्सिटीबाट कृषि र भूगोलमा एमए गरे । त्यसपछि उनले पिट्सबर्ग युनिभर्सिटीबाट अर्वान एण्ड ईकोनोमिक्स स्टडिजमा पिएचडी गरे । पढाईसंगै उनले फेयरमाउण्ट स्टेट युनिभर्सिटीमा भूगोल बिभागमा सन १९७२ देखि प्राध्यापक रुपमा काम गरे । जहाँबाट उनले २०१५ मा अवकाश लिए । 
उनी अमेरिकामा रहेर पनि सुदूरपश्चिमको शिक्षा क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएका छन् ।
३० वर्षदेखि देखि बझाङका विद्यार्थीहरुलाई छात्रबृति दिदै आएका जोशीले यो अबधिमा १५ जनाभन्दा बढिलाई उच्च शिक्षामा सहयोग गरेका छन् । उनको सहयोगबाट कोही डाक्टर भएका छन् । कोही ईञ्जिनियर भएका छन् । कोही नर्स छन् । 
त्यस्तै उनले नेपालका ४० जनाभन्दा बढि विद्यार्थीलाई छात्रबृति दिलाएर अमेरिकामा पढने व्यवस्था मिलाए । 
उनले बझाङका विद्यालयहरुमा समेत अक्षयकोष स्थापना गरेका छन् । शान्तिमावि चौघान पाटालाई बुवा भानुभक्त जोशीका नाममा र बान्नीचौर उच्चमाविमा आमा महालक्ष्मी जोशीका नाममा अक्षयकोष स्थापनाका लागि १२÷१२ लाख रुपैया दिएका छन् । त्यस्तै सत्यवादी उच्च माविमा ठूलो बुवा देवीभक्त जोशीका नाममा  अक्षयकोष स्थापना गर्ने योजनामा छन् ।
२००८ पछि नेपाल नआएका जोशी यस पटक फागुन ७ गते नेपाल आउने छन् । उनी विद्यालयको औपचारिक रुपमा नामाकरण गर्ने कार्यक्रममा सपरिवार सहभागी हुने छन् । उनकी पत्नी र दुई छोरी छन् ।