Close This

बिचौलियाले गर्दा सुन्तला उपभोक्ता मर्कामा

आइतबार पौष २२, २०७५/ Sunday 01-06-19
Paschim Today

धनगढी, २२ पुष ।
बिचौलियाका कारण यहाँका सुन्तला पारखी उपभोक्ता मारमा परेका छन् । किसानबाट सस्तोमा सुन्तला खरिद गरेका बिचौलिया व्यापारीले महँगोमा बिक्री गर्दै आएपछि उपभोक्तालाई मर्का भएको हो । 
कैलालीको निगालीबाट सुन्तला ल्याएर बिक्री गर्ने बिचौलियाले अत्यधिक फाइदा लिइरहेका छन् । किसानको बारीबाट सस्तोमा सुन्तला खरिद गरेर ल्याएका उनीहरुले प्रति किलोबाट ४० देखि ५५ रुपियाँसम्म फाइदा लिने गरेका छन् । 
किसानसंग ‘बार्गेनिङ्ग’ गरी सस्तोमा सुन्तला खरिद गरेका बिचौलियाले तराईमा ल्याएर त्यहि सुन्तला महँगोमा बिक्री गर्दै आएका छन् । जसको असर सुन्तला पारखी उपभोक्ताहरुमा परेको छ । महँगोमा सुन्तला खान बाध्य छन्, उपभोक्ताहरु । 
    चुरे गाउँपालिकास्थित निगालीमा ‘ग्रेडिङ्ग’ गरिएको ठूलो सुन्तला प्रति किलो ६० रुपियाँमा बिचौलियाले खरिद गर्दै आएका छन् । मिश्रित साना सुन्तला भने उनीहरुको लागि प्रति किलो २५ रुपियाँ छ । तर, अत्तरिया, धनगढी लगायतको बजारमा पु¥याएपछि ठूलो सुन्तला प्रति किलो एक सय रुपियाँ र सानो ७०÷८० रुपियाँमा बिक्री गरिरहेका छन् । ठूलो सुन्तलामा उनीहरुको फाइदा प्रति किलोबाट ४० रुपियाँ छ । मिश्रित र सानो सुन्तलाबाट ४५ देखि ५५ रुपियाँसम्म फाइदा भइरहेको छ । 
    सानो सुन्तलामा बिचौलियाको फाइदा लिने तौरतरिका अझ घुमाउरो छ । एक सय रुपियाँमा चार किलो सुन्तला खरिद गरेर ल्याएका उनीहरुले यहाँ त्यति नै रुपियाँमा डेढ किलो सुन्तला बिक्री गर्छन् । अर्थात सय रुपियाँमा खरिद गरेर ल्याएको सुन्तला बिक्री गरेर एक सय ४५ रुपियाँसम्म फाइदा भइरहेको छ । 
    सुन्तला खरिदका लागि किसानको बगैचामै पुग्ने बिचौलिया व्यापारीहरुले ‘बार्गेनिङ्ग’ गरेर धेरै नै दुःख दिने गरेको लक्ष्मी सुन्तला उत्पादक कृषक समूह निगालीका अध्यक्ष समेत रहनु भएका सुन्तला कृषक टेकबहादुर बम बताउँछन् । ‘सस्तोमा नदिए सुन्तला नउठाउने धम्की दिन्छन्’, उनले भने–‘हामी कृषक बाध्य भएर ६०÷२५ को रेटमा उनीहरुलाई सुन्तला बिक्री गर्दै आएका छौं ।’ उनले किसानकोभन्दा बिचौलिया व्यापारीले सुन्तलामा बढी फाइदा लिने गरेको उल्लेख गरे । 
    कैलालीको सदरमुकाम धनगढीबाट निगाली करिब ७६ किलोमिटरको दूरीमा छ । उताबाट सुन्तला ल्याउँदा ढुवानी खर्च बढी लाग्ने गरेकाले निगालीमा ६० मा किनेको सुन्तला यता ल्याएर प्रति किलो एक सय रुपियाँमा बिक्री गर्ने गरेको व्यापारीहरुको भनाइ छ । किसानबाट सुन्तला खरिद गरेर धनगढीमा बिक्री गर्दै आएका डोटी बुडरका व्यापारी करनसिंह धामीले ढुवानी खर्च जोडेर सुन्तला बिक्री गर्ने गरेको दावी गरे । 
    उनले यो सिजनमा हालसम्म ४० क्वीन्टलसम्म सुन्तला ल्याएर बिक्री गरेको जनाउँदै भने–‘बारीमा ठेक्का बोल्न नपाएकाले किसानबाट सुन्तला खरिद गर्दा मलाई महँगो नै परेको छ ।’ ठेक्का बोलेका व्यापारीहरुलाई अझ फाइदा रहेको धामीले दावी गरे । 
    करनसिंह र नरेन्द्र धामीले शुक्रबारमात्रै साढे १२ क्वीन्टल सुन्तला ल्याएका थिए । ल्याएको सुन्तला अत्तरिया र धनगढीमा खपत गर्ने उनीहरुले जनाए । 
    अन्य ठाउँको सुन्तलाभन्दा निगालीको सुन्तला मिठो हुने गरेको धनगढीका उपभोक्ता जनकराज अवस्थीले बताए । 
    व्यापारीले ल्याएको सुन्तला खरिद गरिरहेको अवस्थामा भेटिएका उनले भने–‘यो सुन्तला गुलियो र रसिलो हुन्छ ।’ कैलालीको पहाडी क्षेत्र निगालीमा उत्पादन भएको सुन्तला पूर्ण रुपमा अग्र्यानिक रहेकाले सुन्तला पारखीहरुले औधी रुचाउने गरेका छन् । पहाडी क्षेत्रबाट धनगढीसम्म ल्याइएको सुन्तला खरिद गर्नेको भीडभाड नै लाग्ने गर्दछ । 
    निगालीमा विगत ७० वर्ष अगाडिबाट सुन्तलाको खेती भइरहेको बताइएको छ । तीन सयको हाराहारीमा कृषकले करिब छ सय रोपनी जमिनमा सुन्तला खेती गर्दै आएका छन् ।  उत्पादित सुन्तला बिक्री गर्नमा समस्या नरहे पनि चाहे अनुसार मूल्य भने पाउन नसकेको सुन्तला उत्पादक किसानको भनाइ छ । ‘हामीले नगदे बालीको रुपमा लिएको सुन्तला खेतीमा व्यापारीकै बढी बोलबाला छ’, कृषक बमले भने–‘खरिद गर्ने सवालमा उनीहरुले धेरै दुःख दिने गर्दछन् ।’
    निगालीको सुन्तलाको छुट्टै पहिचान छ । मिठो र रसिलो मानिने निगालीको सुन्तला भन्ने बित्तिक्कै उपभोक्ताहरु हुरुक्कै हुने गर्दछन् । निगालीमा उत्पादित सुन्तला कैलाली, कञ्चनपुरको विभिन्न बजारमा खपत हुँदै आएको छ ।