Close This

शुक्लाफाँटामा विदेशी पर्यटक बढे

आइतबार पौष २२, २०७५/ Sunday 01-06-19
Paschim Today

कन्चनपुर, २२ पुष । 
पश्चिमी सीमानाका गड्डाचौकी हँुदै भित्रिने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । 
वनवसा पुल खुल्ने समयावधी बढेपछि तेस्रो मुलुकका पर्यटकको आगमनमा वृद्धि भएको हो । अध्यागमन कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार सन् २०१८ को डिसेम्बर महीनासम्म सीमा नाका भएर दुई हजार ९३० विदेशी पर्यटक भित्रिएका छन् । 
सोही नाका भएर सोही अवधिमा दुई हजार ७२४ पर्यटक बाहिरिएका छन् । जुन गत वर्षको तुलनामा बढी हो । गत वर्ष सन् २०१७ को यसै अवधिमा दुई हजार ७४५ पर्यटक भित्रिएका थिए भने एक हजार ७८९ पर्यटक बाहिरिएका थिए । 
सन् २०१६ को डिसेम्बरसम्म दुई हजार ५८२ पर्यटक भित्रिएका थिए भने एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । अमेरिका, अष्ट्रेलिया, जापान, स्पेन, इजरायल, चीनलगायत क्षेत्रका पर्यटक भारतका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनपछि यहाँ आइपुग्ने गरेको अध्यागमन कार्यालयका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले बताए । 
‘देशमा शान्ति बहालीपछि बाहिरिने पर्यटकभन्दा भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ’ उनले भने । सन् २०२० लाई पर्यटक वर्ष घोषणा गरिएपछि प्रचारप्रसारमा जोड दिइएका कारण पर्यटक बढेका हुन् उनले भने–‘सीमा क्षेत्रमा पर्यटक आवागमनमा सहजता भएपछि स्थलमार्ग भएर आउने पर्यटक बढेका हुन् ।’
इजरायली राजदूतावासका उपप्रमुखले आफ्ना देशका नागरिकलाई यहाँ ल्याउनका लागि कार्यालयमै पुगेर इच्छा जाहेर गरेकाले सन् २०१९ मा अझै पर्यटक बढ्ने अपेक्षा गरिएको उनले बताए । 
नेपालका हिमालयको सौन्दर्यता नियाल्न, पदयात्रामा निष्कन, परम्परागत कला र संस्कृतिको अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ । पर्यटक प्रवेश आज्ञा वाफत अध्यागमन कार्यालयले पर्यटकबाट १५ दिनका लागि २५ अमेरिकी डलर, ३० दिनका लागि ४० अमेरिकी डलर र ९० दिनका लागि नेपाल घुम्ने पर्यटकका लागि १०० अमेरिकी डलर लिने गरेको छ । 
सुदूरपश्चिम क्षेत्रमा पर्यटकीय संभावना भएका धेरै पर्यटकीयस्थल भएपछि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा थोरै पर्यटकले यहाँ घुम्ने गरेका छन् । यसैगरी, अध्यागमन कार्यालयले चालू आर्थिक वर्षको कात्तिकसम्म रु ३१ लाख ३४ हजार २९ राजस्व सङ्कलन गरेको छ । 
आर्थिक वर्ष २०७४÷७५ को असार मसान्तसम्म रु ९० लाख ८३ हजार २७२ राजस्व सङ्कलन गरेको थियो । आव २०७३÷७४ मा कार्यालयले रु ७५ लाख २२ हजार ५० राजस्व सङ्कलन गरेको थियो ।