Close This

तीर्थको ह्याट्रिकमा पुलिसको सहज जित

आज भ्याली च्यासल र दिल्ली युनाइटेड भिड्ने 

बिहीबार पौष २६, २०७५/ Thursday 01-10-19
Paschim Today

धनगढी , २६ पुष । 
नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लबले मोरङ फुटबल क्लब विरुद्ध सहज जित दर्ता गरेको छ । 
    बुधबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा पुलिससंग मोरङ ३–० गोल अन्तरले स्तब्ध भएको हो । पुलिसको जितमा तीर्थ रानाले ह्याट्रिक पूरा गरे । हारसंगै मोफसलको क्लब मोरङ प्रतियोगिताबाट बाहिरिएको छ । 
    खेलका नायक तीर्थले पहिलो हाफको सात मिनेटमै व्यक्तिगत एक गोलको आफ्नो टिमलाई अग्रता दिलाएका थिए । उनले अभिषेक रिजालको पासमा ३७ औं मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमै डी एरिया नजिकबाट पुलिसका अभिषेक रिजालको प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योङजनले गोल हुनबाट जोगाएका थिए । 
    खेल अवधिभरी बल पुलिसको खुट्टामा देखिएको थियो । भने, मोरङको तालमेल मिल्न सकेको थिएन । यसका बावजुद दोस्रो हाफमा गोल फर्काउने केहि मौका पाए पनि मोरङले त्यसलाई सदुपयोग गर्न सकेन । मोरङका खेलाडीको तालमेल नमिलेको मौकालाई छोप्दै इञ्जुरी समयमा तीर्थले ह्याट्रिक पूरा गर्दै आफ्नो टिमको जित फराकिलो गोल अन्तरले सुनिश्चित गरे । उनले ९२ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गरी खेलको नायकमात्रै बनेन् १० हजार रुपियाँ पुरस्कारको हकदार समेत घोषित भए । खेलमा अतिरिक्त तीन मिनेट थपिएको थियो । 
    बिहीबार भ्याली च्यासल युथ क्लब काठमाण्डौंले विदेशी टोली दिल्ली युनाइटेड फुटबल क्लबको सामना गर्ने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जानकारी दिएको छ ।