Close This

डिएनए परीक्षणका लागि निर्मलाका बुवाले रगत दिन मानेनन्

बिहीबार पौष २६, २०७५/ Thursday 01-10-19
Paschim Today

महेन्द्रनगर , २६ पुष । 
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको ‘भेनाइजल स्वाब’प्रति परिवारलगायतले शंका गरेपछि हो, होइन भनि किटान गर्न पटकपटक माग भयो । गत १५ पुसमा दोस्रो पटक महेन्द्रनगर पुगेका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसँग पनि स्वाब पुष्टि गर्न माग भयो ।
उनीहरुकै माग अनुसार प्रहरीले गत सातादेखि निर्मलाका आमा–बुवा दुबैको रगतको नमुना संकलन गर्न प्रयास गरेको थियो तर, सफल भइरहेको थिएन । निर्मलाका बुवा यज्ञराज पन्तले रगत दिन नमानेपछि प्रहरीले बुधबार निर्मलाकी आमा दुर्गादेवी पन्तको मात्रै रगतको नमुना लिएको छ । 
दुर्गाले छोरी निर्मलाकै डिएनए हो वा होइन एकिन गर्न रगत दिएकी हुन् । प्रहरीले निर्मलाकै स्वाब परीक्षणका लागि पठाएको दावी गरेपछि एकिन गर्न दुर्गाले रगत दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्गाले लिखित निवेदन दिएपछि प्रहरीले उनको रगतको नमुना लिएको हो । 
महाकाली अञ्चल अस्पतालको प्रयोगशालाबाट प्रहरीले दुर्गाको रगत नमुना संकलन गरेको हो । ‘मैले श्रीमान यज्ञराजसँग रगत दिउँ भन्दा उहाँले दिन मान्नु भएन,’ दुर्गाले भनिन्, ‘खै किन नमानेका हुन्, डरले पो हो कि कसैले उस्काएको हो, मलाई थाहा भएन ।’ 
शंका हटाउन छोरीसँगको डिएनए म्याच गराउन रगतको नमुना दिएको दुर्गाले बताइन् । आफूले जन्म दिएको छोरीका लागि स्वेच्छाले रगतको नमुना दिएको बताइन् । दुर्गाले फेरी पनि निर्दोषलाई फसाउन सक्छ की भन्ने भ्रमले श्रीमानले रगतको नमुना दिन हालटाल गरेको हुनसक्ने बताइन् । 
तर, निर्मलाका बाबु यज्ञराज पन्तले आफ्नो मान्छेसँग सल्लाह गरेर रगतको नमुना दिने बताए । ‘मैले डिएनएमा शंका गरेको पनि होइन, माग पनि गरेको थिएन, उनले भने, ‘मैले माग गरेको होइन् मीना भण्डारी (अधिकारकर्मी) ले गरेको हो ।’ 
आफ्ना मान्छेसँग सल्लाह गरेर रगतको नमुना दिने यज्ञराजले बताए । रगतको नमुनाको विषयमा निर्मलाका आमा–बाबुबीच विवाद देखिए छ । आमाले दिने, बाबुले नदिने भएपछि विवाद सतहमै देखिएको हो । दुर्गाले हिजोमात्रै श्रीमानसँग रगत दिने विषयमा सल्लाह गरे पनि श्रीमानले रगत दिन नमानेको बताइन् ।
निर्मलाका आमा दुर्गाले सरकारले घोषणा गरेको राहत लिने बताएकी छन् । उनले राहत लिएपछि न्याय नपाइने पो हो कि भन्ने शंका पनि गरेकी छन् । ‘हामीले कतिन्जेलसम्म आन्दोलन गर्ने, ‘उनले भनिन्, ‘दुई छोरीको भविष्यका लागि पनि राहत बुझ्छु ।’ 
छोरीको अपराधि पत्ता लगाउनुपने माग निरन्तर अघि सार्ने उनले बताइन् । स्थानीय, प्रदेश र संघीय सरकारले निर्मलाको परिवारलाई १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । तर, उनीहरुले अहिलेसम्म राहत बुझेका छैनन् ।
स्थानीय तहले ३ लाख, प्रदेश सरकारले ५ र संघले १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । निर्मलाकी आमाले तीनै सरकारले राहत घोषणा गरेको बताउँदै राहत बुझेर दुवै छोरीको भविष्यका लागि खर्च गर्ने बताइन् । 
कञ्चनपुर प्रहरीले संकलन गरिएको रगतको नमुना बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाउने जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुवेरसिंह कडायतले निर्मलाकी आमाबाट संकलन गरिएको नमुना म्याचका लागि पठाइने बताए । 
प्रहरीले आफै स्वाबको विषयमा शंका गर्ने अनि आफै नदिने भन्दै अनुसन्धानमा समस्या भएको जनाएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको ५ महिना बितिसक्दा पनि अपराधि पत्ता लाग्न सकेका छैनन् ।