Close This

भ्याली च्यासलसंग दिल्लीको लज्जास्पद् हार

शुक्रबार पौष २७, २०७५/ Friday 01-11-19
Paschim Today

धनगढी, २७ पुष ।
नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपमा भ्याली च्यासल युथ क्लबसंग दिल्ली युनाइटेड फुटबल क्लबको लज्जास्पद् हार भएको छ । 
    बिहीबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा च्यासलले विदेशी टोली दिल्लीलाई ६–० गोल अन्तरले पराजयको स्वाद चखाएको हो । च्यासलको जितमा अग्रपङ्तीका विदेशी खेलाडी अरमान मोयेनले ह्याट्रिक पूरा गरे । उनी खेलको नायक घोषित भइ नगद १० हजार रुपियाँ पुरस्कार हात पारे । च्यासलले खेलको पूर्वाध र उत्तरार्धमा दिल्लीलाई तीन÷तीन गोलको उपहार दिएर प्रतियोगिताबाट उसलाई बिदाइ ग¥यो । 
    खेलमा कमजोर देखिएको दिल्लीमाथि सुरुबाटै हावी भएको च्यासलले मिडफिल्डर सञ्जोग राईको गोलबाट उग्रता लिएको थियो । पहिलो हाफको १४ मिनेटमा गोल गर्दै उनले आफ्नो टिमलाई अग्रता दिलाए । ३१ औं मिनेटमा मैदानको मध्यभागबाट मिडफिल्डर हेमन्त थापामगरको प्रहारले सिधै दिल्लीको गोलपोष्ट चुम्यो । पहिलो हाफको ३९ औं मिनेटमा विदेशी खेलाडी अरमानले आफ्नो खाता खोल्दै टिमको अग्रता तेब्बर बनाए । 
    च्यासल विरुद्ध निरीह देखिएको दिल्लीलाई पहिलो हाफमा गोल फर्काउने एउटा सुनौलो अवसर मिलेको थियो । तर, उसको विदेशी खेलाडी थोमसले च्यासलका गोलरक्षक दिलीप थापामगरसंग वान भर्सेस वानमा पनि गोल गर्नबाट चुके । 
    दोस्रो हाफको ६१ औं मिनेटमा च्यासलका अरमानले व्यक्तिगत दोस्रो र आफ्नो टिमको लागि चौथो गोल गरे । मिडफिल्डर विश्व अधिकारीको पासमा उनले गोल गरेका हुन । त्यस लगत्तै निशान खड्काको पासमा अरमानलाई ह्याट्रिक पूरा गर्ने अवसर मिले पनि गोलपोष्ट नजिक उनले बल छुन सकेनन् । अरमानले हेडमार्फत गोल गरेर ह्याट्रिक पूरा गर्ने प्रयास असफल रह्यो । तर, खेलको ७३ औं मिनेटमा विश्व अधिकारीकै पासलाई उनले गोलमा परिणत गरी ह्याट्रिक पूरा गरे । त्यस्तै, हेमन्त थापामगरको ठाउँमा दोस्रो हाफमा मैदान प्रवेश गरेका सन्तबहादुर गुरुङले अतिरिक्त समयमा गोल गर्दै आफ्नो टिमको जित ६–० गोल अन्तरले सुनिश्चित गरे । 
खेलमा च्यासलका विश्व अधिकारी र निशान खड्का भने भाग्यशाली बन्न सकेनन् । विश्वको दुई वटा सशक्त प्रहारलाई दिल्लीका गोलरक्षक मन्दिपले विफल पारेका थिए । यस्तै, निशानले गोल गर्ने पाएको दुई मौका खेर फाले । यसअघि, पहिलो हाफमा साजिन थापामगरको प्रहारलाई पनि दिल्लीका गोलरक्षक शर्माले गोल हुनबाट जोगाएका थिए । 
खेलमा दिल्लीले गोल गर्ने केही मौका पाएको थियो । तर, त्यसलाई सदुपयोग गर्न भने सकेन । उसका अग्रपङ्तीका खेलाडी सिभम पचौरीले दोस्रो हाफमा गोल गर्ने प्रयास गरे पनि प्रहार सशक्त हुन सकेन । फलस्वरुप उनले हानेको बललाई च्यासलका गोलरक्षक दिनेशले सहजै समाते । त्यस्तै, दिनेशकै लापरवाहीले गोल फर्काउने मौका पाएको दिल्ली यसपटक पनि चुक्यो । गोलरक्षक दिनेश गोलपोष्ट छोडेर अगाडि बढेको बेला दिल्लीका विकास रावतको प्रहार बारमा ठोक्किएर बाहिरिएको थियो । 
मोफसलको सर्वाधिक पुरस्कारराशीको खप्तड गोल्डकपमा शुक्रबार गोर्खा ब्वाइज रुपन्देहीले ए डिभिजन लिगको उपविजेता सीएएमजी सङ्कटाको सामना गर्नेछ ।