Close This

हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस

शुक्रबार पौष २७, २०७५/ Friday 01-11-19
Paschim Today

धनगढी, २७ पुस ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश संसदको हिउँदे अधिवेशन माघ ४ गतेदेखि शुरु गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । 
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले माघ ४ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । 
लामो समयसम्म संसद अधिवेशन शुुरु नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको आलोचना गर्दै आएको थियो । गत असोजमा वर्षे अधिवेशन अन्त्य भएको थियो । हिउँदे अधिवेशनका लागि संसदमा विजनेश भने छैन । प्रदेश सभामा हाल दुई वटामात्र विधयेक छन् ।
यस्तै सुदूरपश्चिममा मनाइने माघे संक्रान्ति पर्वका अवसरमा माघ १ गते प्रदेशभरि सार्वजनिक विदा दिने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री शाहले जानकारी दिए । मन्त्रीपरिषद्ले केही कार्यविधिहरु स्वीकृत गर्नुका साथै केही विधयेकको मस्यौदा निर्माणका लागि सैद्धान्तिक स्वीकृति पनि दिएको उनले बताए ।
     मन्त्रीपरिषद्ले    व्यवसायीक, सीपमुलक तालिम संचालन कार्यविधि, वन तथा जलाधार व्यवस्थापन तर्फको कार्यक्रम संचालन मार्गदर्शन र अनुदान तथा सहायता रकम निकाशा एवं कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ ।
    प्रदेश अस्पताल व्यवस्थापन समिति गठन आदेश, पशुपन्छी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, प्रदेश पर्यटन विकास आयोजना कार्यान्वयन इकाइ संचालन कार्यविधि पनि पारित भएको मन्त्री शाहले जानकारी दिए ।
    यस्तै प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापन सम्बन्धी विधयेक र प्रादेशिक वातावरण संरक्षण सम्बन्धी विधयेकको मस्यौदा निर्माण गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति मन्त्रीपरिषद्ले दिएको छ ।