संसदको हिउँदे अधिवेशन आजबाट
धनगढी, ४ माघ ।
सुदूरपश्चिम प्रदेश संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । दिउँसो २ बजे अधिवेशन आह्वान गरिएको संसद सचिवालयका निमित्त सचिव सिद्धराज चटौतले जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मोहनराज मल्लले दिउँसो २ बजे अधिवेशन आह्वान गरेका हुन् । अधिवेशनको सबै तयारी पुरा भएको संसद सचिवालयले जानकारी दिएको छ ।
अधिवेशन शुरु हुनु अघिल्लो दिन बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व रहेका तीन वटै दलका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यसुची तयार पारेको बताइएको छ ।
सत्ता पक्ष नेकपाबाट तीन जना सांसद, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट दुई जना र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीबाट एक जना सासंदले सम्बोधन गर्ने बताइएको छ । बैठकमा प्रदेश सभाको कार्य सञ्चालन गर्न बनेको विधेयक पनि पेश गर्ने कार्य सूची छ ।
तपाईको प्रतिक्रिया