Close This

मझरामा निशुल्क स्वास्थ्य शिविर

आइतबार माघ ६, २०७५/ Sunday 01-20-19
Paschim Today

धनगढी, ६ माघ ।
रोटरी क्लब अफ धनगढीले कैलालीको कैलारी गाउँपालिकाको मझरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य परीक्षण र उपचारका लागि शिविर गरिएको रोटरी क्लबले जनाएको छ ।
    अज्ञानता, गरीबी र स्वास्थ्य संस्थासम्मको पहुँच अभावमा रोग पालेर बसेका बासिन्दा गाउँमै उपचार पाएपछि खुशी भएका छन् । धेरै नागरिकले कामको व्यस्तता, आर्थिक अभावका कारण स्वास्थ्यको ख्याल गर्नै छोडेका हुन्छन् । ठुलै बिरामी नहुँदासम्म अस्पताल नधाउने नागरिकले गाउँमै स्वास्थ्य उपचार पाएपछि खुशी व्यक्त गरेका छन् । 
शहरभन्दा टाढा र आर्थिक संकटले स्वास्थ्य सेवाबाट समेत बञ्चित भएको नागरिकहरुका लागि रोटरी क्लब अफ धनगढीले यस वर्ष तीन वटा स्वास्थ्य शिविर गर्ने जनाएको छ । सोही अन्तर्गतको दोश्रो स्वास्थ्य शिविर कैलारी गाउँपालिका वडा नम्बर १ मझरामा शनिबार सम्पन्न भएको हो । 
एक दिने बृहत स्वास्थ्य शिविरमा स्थानीय नागरिकले स्वास्थ्य जाँच गराए । गाउँमै स्वास्थ्य परिक्षण गर्न पाउँदा सहज भएको स्थानीयले बताए । शिविरले आफुहरुले स्वास्थ्य जाँच गर्न पाउनुका साथै निशुल्क औषधी समेत पाउँदा खुशी लागेको उनिहरुले बताए ।
शिविर सञ्चालन भएको क्षेत्र कैलारी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बालकृष्ण डगौरा थारुले कैलालीको विकट गाउँपालिका रहेको कैलारी गाउँपालिकाका नागरिकहरु सामान्य स्वास्थ्य सेवाबाट समेत बञ्चित रहेको बताए । 
स्वास्थ्य जाँच सम्बन्धी जनचेतना अभावसँगै नजिक अस्पताल समेत नहुँदा विभिन्न रोग पालेर राख्नु परेको उनले बताए । केही संस्थाले गर्ने यस्ता शिविरले नागरिकहरुलाई ठुलो राहत हुने गरेको अध्यक्ष थारुले बताए । 
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर हेमराज पाण्डेयसहित अन्य डक्टरहरुको टोलीले शिविरमा आएका स्थानीयको स्वास्थ्य जाँच गरेका थिए । बालरोग, छाला, नाक कान, गाइनो विषेशज्ञसहित मेडिकल अफिसरहरुले सेवा दिएका थिए ।
 शिविरमा सहभागी नागरिकहरुमा छाला रोग, रिगंटा आउनेलगायतका समस्या देखिएको बताइएको छ । ग्रामीण भेगका नागरिकलाई पनि सेवा दिन यस्ता शिविर अनिवार्य रहेको स्वास्थ्य जाँचमा संलग्न डाक्टर गणेशबहादुर सिंहंले बताए । 
 शिविरमा ३ सय ३६ पुरुष, २ सय ८१ महिला, ८३ बालबालिका गरी ७ सय जनाले स्वास्थ्य जाँच गराएको रोटरी क्लब अफ धनगढीका संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्टले जानकारी दिए । सामाजिक कामकै लागि गठन भएको क्लबले विगतदेखिनै सामाजिक काम गरिरहेको उनले बताए । 
यस वर्षको तेश्रो स्वास्थ्य शिविर पनि स्वास्थ्यको पहुँच नपुगेका नागरिकको ठाउँमा गरिने बताउँदै उनले नागरिकलाई सेवा गर्न पाउँदा थप उर्जा आउने गरेको बताए ।