Close This

सडकले निम्त्याएको विनास

आइतबार माघ ६, २०७५/ Sunday 01-20-19
Paschim Today

यस प्रदेशका स्थानीय तहबीच गाउँमा सडक पु¥याउनका लागि प्रतिस्पर्धा नै चलेको देखिन्छ । स्थानीय तह बजेटको ठूलो हिस्सा ग्रामीण सडक निर्माणमै खर्च भैरहेको छ । स्थानीय तहले अहिले सडक खन्नकै लागि डोजर खरिद गरेका छन् । समुदायिक वनबाट हुने आम्दानीसमेत सडक निर्माणमै खर्च भैरहेको छ । राज्यले नै ग्रामीण सडक निर्माणलाई प्राथमिकतामा राखेका कारण पनि सडक निर्माणले अभियानको रुप लिएको हुन सक्छ । ग्रामीण बासिन्दाहरु गाउँमा मोटर पु¥याउन लागिपरेका छन् । आफ्ना गाउँलाई सदरमुकामसँग जोड्न उनीहरु आँतुर देखिन्छन् । कुनै गाउँपालिकाले त विकास निर्माणको पुरा बजेट ग्रामीण सडकमा खन्याइएको छ । गाउँपालिकाहरुले सबै बस्तीमा सडक बाटो पु¥याउनका लागि अर्को आर्थिक वर्षमा रकम भुक्तानी गर्ने गरेर समेत कामलाई निरन्तरता दिएका उदारण छन् । 
यसरी सडक निर्माणलाई सकारात्मक रुपमा लिन सकिन्छ । सडक निर्माण होडबाजीको शैलीमा भए पनि तिनमा कुनै वैज्ञानिकता भने छैन । विना सर्भेक्षणमा सडक निर्माण भैरहेका छन् । पहाडहरु चिराचिरा पारिएका छन् । जताततै पहिरो छ । पहिरोका कारण बस्तीहरु जोखिममा छन् । वर्षेनी पहिरोका कारण धेरैको ज्यान गैरहेको छ । चुरे क्षेत्र पहिरोको मारमा परेको छ । यसको प्रमुख कारण अवैज्ञानिक सडक निर्माण नै हो । हिउँदमा निर्माण गरेका सडक वर्षातमा निसाना समेत नभेटाउने गरी पहिरोले बगाउँदै लगेको छ । सडक निर्माण गरिएका भए पनि कतिपय सडकमा सवारी चल्न सक्ने अवस्था छैन । ठूलो रकम पहिरो पन्छाउनमै सकिने गरेको छ । गाउँमा बाटो पु¥याउनका लागि चन्दा संकलन गर्ने काम समेत भएका देखिन्छ । 
डोटी जिल्लाको कुरो गर्ने हो भने साविका ५० वटै गाविसमा सडक पुगेको छ । अछाम जिल्लामा ६५ वटा साविकका गाविसमध्ये ५ वटामा मात्रै सडक बाटो पुगेको छैन । त्यसै डडेल्धुरा जिल्लामा साविकका सबै गाविसमा गाडी पुगेको छ । बाजुरा जिल्लामा पनि सडक संजाल जोडिएको छ । त्यसैगरी अन्य जिल्लाका ग्रामीण बस्तीहरु पनि सडक संजालले जोडिएका छन् । यसरी सडक संजालले गाउँलाई जोड्दै जाँदा गाउँमै नयाँ बजार तथा व्यापारीक केन्द्रहरु स्थापना हुन थालेका छन् । मानव आवागमनमा सजिलो भएको छ । गाउँका उत्पादनहरुले मुल्य पाउन थालेको छ । सर्वसाधारणहरुको पिठ्यूँको भारी छुटेको छ । गाउँकै कतिपय रोजगारीका अवस्था सिर्जना भएका छन् । गाउँमा दैनिक उपभोग्य समाग्रीको आपूर्ति गर्न सजिलो भएको छ । एक गाउँ र अर्को गाउँबीचको दुरी घटेको छ । सडकहरु निर्माण भैरहेका छन् । यो सकारात्मक कुरो हो । ती सडकहरुलाई निर्माण गर्दा त्यसले पार्ने सकारात्मक र नकारात्मक प्रभावकाबारेमा अध्ययन गरिनु पर्छ । सडक निर्माण सर्भेक्षण गरेर नै हुनुपर्छ । त्यसले विकास भन्दा विनास निम्त्याउने छ ।