Close This

पुलिसले उचाल्यो खप्तड गोल्डकप उपाधि

प्याराफिटमा अटेनन् दर्शक

आइतबार माघ ६, २०७५/ Sunday 01-20-19
Paschim Today

धनगढी, ६ माघ । 
नेपाल पुलिस क्लबले स्टार खेलाडीले भरिएको रुस्लान थ्रीस्टारलाई पराजित गरी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको छ । 
    फाइनल खेलमा १–० गोल अन्तरले थ्रीस्टारमाथि जित निकालेर पुलिस पहिलो पटक तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको हो । पुलिसलाई उपाधि दिलाउनका लागि अभिषेक रिजालले निर्णायक गोल गरे । उनी प्रतियोगितामा म्यान अफ द म्याच घोषित भइ नगद १० हजार रुपैयाँ पुरस्कारको हकदार समेत बने । 
    च्याम्पियन टिम पुलिसले मोफसलको प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक २१ लाख एक रुपियाँ नगद पुरस्कारसहित ट्रफी उचालेको छ । उपविजेता थ्रीस्टारले १० लाख एक रुपियाँ नगद पुरस्कार र ट्रफीमा चित्त बुझाएको छ । थ्रीस्टारले ए डिभिजन लिग प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको थियो । 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसकै रवि पासवान घोषित भए । उनले यामाहा मोटरसाइकल प्राप्त गर्नुभएको छ । यसैगरी, प्रतियोगितामा उदीयमान खेलाडी घरेलु टोली सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका भरत टमटा बने । 
यस्तै, उत्कृष्ट गोल रक्षक पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट डिफेन्डर पुलिसकै अजित भण्डारी, सर्वाधिक गोलकर्ता पुलिसका तीर्थ राना, उत्कृष्ट प्रशिक्षक पुलिसकै अनन्तराज थापा घोषित भए । उत्कृष्ट मिड फिल्डरको उपाधि भने थ्रीस्टारका कप्तान विक्रम लामाको पोल्टामा गयो । विधागत रुपमा उत्कृष्ट भएका सबैले जनही १५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । 
    शनिबार खचाखच दर्शकले भरिएको धनगढी क्षेत्रीय रङ्गशालामा फाइनल खेल अत्यन्त रोमाञ्चक रह्यो । खेलको पहिलो हाफको सुरुवातमा पुलिसमाथि थ्रीस्टार हावी देखिएको थियो । तर, पुलिसको गोलपोष्टमा आक्रमण गर्न भने सकेन । पहिलो हाफमा थ्री स्टारका रावण बिष्ट र कप्तान विक्रम लामाले गोल गर्ने अवसरलाई खेर फाले । भने, डिफेन्डर अनन्त तामाङ्गको शसक्त हेड प्रहार गोलपोष्टभन्दा बाहिर गएको थियो । पहिलो हाफकै अन्तिमतिर पुलिस लयमा फर्किएको थियो । यद्यपि, गोल गर्न भने सकेन । पुलिसका रवि पासवानको दुई वटा प्रहार गोलपोष्टभन्दा बाहिर गएको थियो । 
    मध्यान्तरपछि खेलमा भने थ्रीस्टारमाथि पुलिस हावी देखिएको थियो । दोस्रो हाफको १९ औं मिनेटमा पुलिसका अभिषेक रिजालले उत्कृष्ट गोल गरी आफ्नो टिमलाई उपाधिको हकदार बनाए । उनले नीरकुमार राईको कर्नर प्रहारमा गोल गरे । 
एक गोलको अग्रता लिएपछि पुलिसले उच्च मनोबलका साथ रक्षात्मक खेल खेल्यो भने गोल फर्काउने दबावमा परेको थ्रीस्टारले लय समात्न सकेन । यद्यपि, मिक्छेन तामाङ्गको ठाउँमा मैदान प्रवेश गरेका स्टार खेलाडी अनिल गुरुङ्गले गोल गर्ने दुई मौकालाई खेर पाले । मैदान प्रवेश लगत्तै पाएको मौकामा उनको प्रहार गोलपोष्टभन्दा बाहिर गयो । भने अर्को मौकामा उनले बल हान्नुको सट्टा पुलिसको गोलरक्षक शत्रुघन चौधरीलाई प्रहार गर्दा पहेलो कार्ड पाए । 
यस्तै, दोस्रो हाफमा पुलिसका नीरकुमार राईले गोल अग्रता दोब्बर पार्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । खेलमा पाँच मिनेट अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा थ्रीस्टारका खेलाडीहरु पुरै अगाडि बढेर गोल फर्काउने भरमग्दुर प्रयास गरे पनि सफल हुन सकेनन् । 
सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले विगत तीन वर्षदेखि यहाँ सुदूरपश्चिम खप्तड गोल्डकप आयोजना गर्दै आएको छ । 

 

प्याराफिटमा अटेनन् दर्शक
सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेल अत्यधिक दर्शकले हेरेका छन् । फाइनल खेल हेर्नका लागि करिब १५ हजार दर्शकको उपस्थिति भएको आयोजका ओम चन्दले दावी गरे । दुवै प्याराफिटसहित अस्थायी प्याराफिटमा पनि दर्शक नअटेपछि अत्यधिकले भुईमा बसेर खेल हेरेका थिए ।
    प्याराफिटमा दर्शक नअँटेपछि आयोजकलाई गेटमा ताला लगाउनु परेको थियो । क्रिकेटको शहर धनगढीमा फुटबल क्रेज पनि बढ्दो छ । पैसा तिरेर पनि अत्यधिक दर्शकले खेल हेर्न थालेका छन् । दर्शकको बढी उपस्थितिले धनगढी रङ्गशालामा अरु प्याराफिट निर्माणको कार्य अगाडि बढाउन आवश्यक देखिएको हसनपुरका दर्शक रोशन चौधरीले बताए । उनले थप प्याराफिट निर्माणतर्फ सरोकारवालाको ध्यान जान आवश्यक रहेको उल्लेख गरे । 
    प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथि रहेकी नेपाली काँग्रेस नेतृ डा. आरजू राणा देउवाले धनगढीमा खेल र खेल पूर्वाधार विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाइन । उनले पनि धनगढी क्षेत्रीय रङ्गशालामा प्याराफिट थप गर्न आवश्यक रहेको उल्लेख गरिन । 
    त्यसैगरी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीलाई खेलकुदको ‘हव’को रुपमा विकास गर्ने बताए ।