Close This

युवाबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु ३ जना घाइते

आइतबार माघ ६, २०७५/ Sunday 01-20-19
Paschim Today

धनगढी, ६ माघ । 
कैलालीको अत्तरियामा युवाहरुबीच शनिबार बेलुकी ‘ग्याङ फाइट’ हुँदा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

      गोदावरी नगरपालिका–१, का करिब २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ । खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिमिल्सिनाले युवाबीच ‘ग्याङ फाइट’ हुँदा एक जनाको मृत्यु भएको र ३ जना घाइते भएका पुष्टी गरे ।

       स्थानीय सबिन कट्टेल, गणेश राइ र राजेश नेपाल घाइते भएका छन् । राइ र नेपालीको अत्तरियास्थित पद्मा अस्पतालमा र कट्टेलको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको अवस्थामा सामान्य रहेको प्रहरी उपरिक्षक तिमिल्सिनाले बताए ।

      अत्तरियामा जारी अत्तरिया महोत्सव सकिएलगत्तै शनिबार बेलुकी महोत्सव स्थल बाहिर युवाहरुबीच झगडा भएको प्रहरीले जनाएको छ । ‘महोत्सवभित्र विवाद भएर बाहिर झगडा भएको देखिन्छ । तर झगडाको कारण खुल्न सकेको छैन ।’ प्रहरी उपरिक्षक तिमिल्सिनाले भने ।

      ‘ग्याङ फाइट’मा संलग्नहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उनले बताए । संलग्नहरु २०–२२ वर्ष उमेर समूहका रहेका प्रहरीले जनाएको छ ।