Close This

रामदासीलाई प्याजको बेर्ना बिक्री गर्न भ्याई नभ्याई

 तरकारीको बेर्ना बिक्री गरेर एक सिजनमा ५०÷६० हजार रुपियाँ आम्दानी

आइतबार माघ ६, २०७५/ Sunday 01-20-19
Paschim Today

धनगढी, ६ माघ । कृषक रामदासी चौधरीलाई अहिले प्याजको बेर्ना बिक्री गर्न भ्याई नभ्याई भएको छ । डेढ दशकबाट धनगढी उपमहानगरपालिका–८ धनगढीमा गाउँमा तरकारीको बेर्ना उत्पादन तथा तरकारी खेती गर्दै आएकी उनलाई प्याज खेतीको सिजनले व्यस्त बनाएको हो । 
    कृषकहरु बेर्ना लिनका लागि बिहानैबाट उनको बारीमा पुग्ने गरेका छन् । ‘प्याज बेर्ना तयार भएपछि मैले घरको काम गर्न पनि फुर्सद पाएकी छैन’, रामदासीले भनिन्–‘ग्राहकहरुलाई बेर्ना बिक्री गर्दै ठिक्क भएको छ ।’ 

 


    उनले २०६० सालबाट बेर्ना उत्पादन र बिक्रीको काम गर्दै आएकी छिन । त्यसैले ग्राहक खोज्नु पर्ने बाध्यता छैन । किसानहरु बारी खोज्दै उनको घरसम्म पुग्ने गरेका छन् । करिब अढाई कट्ठामा उत्पादन भएको प्याजको बेर्ना आधाजति बिक्री गरिसकेको रामदासीले जनाइन् ।  
    ‘आधा जति बेर्ना बिक्री भइसक्यो’, उनले अगाडि थपिन्–‘सबै बिक्री भएपछि यहि जमिनमा गर्मी सिजनको तरकारी खेती गर्नेछु ।’ 
    कैलालीको कैलारी गाउँपालिका–३ लालपुर भडरी गाउँकी रामदासी धनगढीमा बस्न थालेपछि तरकारीको बेर्ना उत्पादनको कार्य थालेकी हुन । उनले प्याजमात्रै हैन, काउली, टमाटर, रायो जस्ता हिउँदे तरकारीको बेर्ना पनि उत्पादन र बिक्री गर्दै आएकी छिन् । यसका अतिरिक्त यिनै तरकारीको खेती पनि गर्दै आएकी छिन् । 
    तरकारीको बेर्ना बिक्री गरेर एक सिजनमा ५०÷६० हजार रुपियाँ आम्दानी गर्ने गरेको रामदासीले सुनाइन् । ‘त्यति नै रकम तरकारी खेतीबाट पनि आम्दानी भइहाल्छ’, उनले भनिन् । 

 


रामदासीको जिम्मा घरको चुल्हो चौका पनि हो । तर, गृहिणी भनेको चुल्हो चौका र घरधन्दामा प्रायः सीमित महिला भन्ने नेपाली समाजको बुझाइलाई चिर्दै उनले आफ्नो घरमा आम्दानी भित्र्याउने काम पनि गरिरहेकी छिन् । यसकासाथै, अरु गृहिणीका लागि प्रेरणाको स्रोत समेत बनेकी छिन् । रामदासीले घरधन्दासंगै तरकारी बेर्ना उत्पादन र तरकारी खेतीको काम गर्दै आएकी हुन । 
    विभिन्न तरकारी र तरकारीको बेर्ना बिक्री गरेर एक सिजनमा एक लाख भन्दा बढी कमाउने गरेको उनले सुनाइन् । ‘मैले तरकारी खेतीमा खासै धेरै लगानी गर्ने गरेको छैन’, रादासीले भनिन्–‘मेरो लगानी भनेको बीउ, मल र मिहिनेत मात्रै हो । जेहोस मिहिनेत गरे अनुसार आम्दानी गरेर सन्तुष्ट छु ।’
    कमाउनका लागि धेरै जग्गा जमिन चाहिन्छ, भन्ने सोचाई छैन, उनको । र, एक उत्पादन लिएर जग्गा खाली राख्नुपर्छ भन्ने मानसिकता पनि छैन । उनले पसिना बगाउँदै आएको साढे दुई कट्ठा जमिन जहिल्यै हरियो रहने गर्दछ । 
    उत्पादित बेर्ना र तरकारी बिक्री भएर सकिने बित्तिकै त्यहि जमिनमा फेरी पहिलेकै तरकारी दोहो¥याउने वा सिजन अनुसार अर्को तरकारी लगाउने गरेकी छिन् । यसका साथै, एउटै जग्गामा दुई वा दुईभन्दा बढी प्रजातिका तरकारी खेतीको अभ्यास समेत गरिरहेकी छिन् । 
    चार जना सदस्य रहेको रामदासीका परिवारमा कोही पनि बेरोजगार छैनन् । श्रीमान र छोरा र छोरी बाहिर जागिरे छन् । घर गृहस्थी सम्हाल्ने जिम्मेवारी पाएकी रामदासी भने आफ्नै घर वरिपरिको बारीमा मिहिनेत गर्दै आएकी छिन् । 

 


    उनले तरकारी खेती गर्नका लागि कुनै किसिमको तालिम पनि लिएकी छैनन् । तर, उनले तरकारी खेती गर्ने तरिका तालिम प्राप्त कृषकले गर्नेभन्दा कम छैन । ‘अब त काम गर्दागर्दै अनुभवी भएँ’, उनले भनिन् । 
    घरको कामपछि अधिकतम् समय तरकारी खेतीमै बितिरहेको छ, उनको । रामदासी पहिलेदेखि नै कृषि कार्यमा लगनशील रहेको उनका श्रीमान रतिराम चौधरी बताउँछन् । 
    ‘उनी निकै मिहिनेती छिन’, उनले भने–‘उनको मिहिनेतले हामी पनि खुशी छौं ।
    तरकारी खेती गर्नका लागि रामदासीले सिचाइँको समस्या खेप्नु परेको छैन । बारीमै भूमिगत बोरिङ्को व्यवस्था छ । साँझ, बिहान बारीको काममा उनलाई श्रीमान र छोराले पनि सघाउने गरेका छन् ।