Close This

सुदूरपश्चिम महोत्सव माघ २१ बाट

आइतबार माघ ६, २०७५/ Sunday 01-20-19
Paschim Today

धनगढी, ६ माघ । कैलाली उद्योग वाणिज्य संघले विगत १२ वर्षदेखि आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव यसवर्ष माघ २१ गतेबाट धनगढीमा सञ्चालन हुने भएको छ । 
    संघले आइतबार पत्रकार सम्मेलन गरी माघ २१ देखि फागुन २ गतेसम्म धनगढीको सङ्घीय प्रहरी इकाईको मैदानमा महोत्सव आयोजना गर्ने जनाएको हो । कैलाली उद्योग वाणिज्य संघले विगतमा मंसिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव सञ्चालन गर्दै आएको थियो । तर, संघको चुनावको कारणले यसवर्ष महोत्सव दुई महिना पछाडि धकेलिएको जनाइएको छ । 

 


    सुदूरपश्चिम प्रदेशको आर्थिक, पर्यटन, सांस्कृतिक लगायतको विकासमा टेवा पु¥याउने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले विक्रम सम्वत २०६३ सालबाट सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । यो महोत्सव प्रदेशको लागि एउटा चाडपर्व जस्तै भइसकेको संघका अध्यक्ष पुष्प कुँवरले जानकारी दिए । 
    ८० लाख लगानी गरेर सञ्चालन हुने महोत्सवमा करिब १५ करोड रुपैया बराबरको आर्थिक कारोबार हुने उनले जनाए । महोत्सवको अवलोकन करिब पाँच लाख दर्शकले गर्ने आयोजकले दावी गरेको छ । एक सय ५० वटा व्यावसायिक र ५० वटा कृषि प्रदर्शनी लगायतको गरी दुई सय वटा स्टल रहने जनाइएको छ । महोत्सवको तयारी शुरु भइसकेको जनाइएको छ । 

 


    यस वर्षको महोत्सवमा पानीपुरी, बदाम जस्ता व्यापारको ठेला नरहने आयोजकले जानकारी दिएको छ । यसैगरी, महोत्सवमा सुरक्षा व्यवस्थालाई कडा पारिने संघका वरिष्ठ उपाध्यक्ष एवम् सुरक्षा व्यवस्थापन समितिका संयोजक पुष्करराज ओझाले जानकारी दिए । 
    महोत्सव सफल पार्नका लागि विभिन्न २५ वटा समितिहरु गठन गरिएको छ । सुदूरपश्चिम महोत्सवकै बेला धनगढीमा धनगढी प्रिमियर लिग पनि आयोजना हुँदैछ । तरपनि, दुवै इभेन्टलाई असर नपर्ने आयोजकले दावी गरेको छ । फागुनमा महोत्सव गर्दा हुरीबतास पनि चल्ने र गर्मी पनि हुने गरेकाले माघमै आयोजना गर्न लागेको अध्यक्ष कुँवरले बताए ।