Close This

हत्यामा संलग्न मुख्य अभियुक्तसहित चार पक्राउ

सोमबार माघ ७, २०७५/ Monday 01-21-19
Paschim Today

धनगढी, ७ माघ । जिल्ला प्रहरी कार्यालय कैलालीले गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको हत्यामा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरेको छ । 
    प्रहरीले धारिलो हतियार प्रहार गरी युवाको हत्या गर्ने गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐरलाई पक्राउ गरेको हो । पक्राउ परेका ऐर विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न र लागू औषध दुव्र्यशनी रहेको प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले बताए । 
    प्रहरीले अपराधिलाई सहयोग गरेको भन्दै तीन जना मतियारहरुलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य अभियुक्तलाई मोटरसाइकल राखेर भगाउने धनगढी उमहानगरपालिका–३ का २२ वर्षीय डेविटसिंह ऐर, भजनी २ घर भइ हाल धनगढी–२ मा बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोलका २१ वर्षीय लोकेश खत्री रहेका छन् । मञ्जु र लोकेशले आफ्नो डेरा कोठामा अभियुक्त लुकाउने कार्य गरेको एसपी तिमिल्सिनाले जनाए । चारै जनालाई प्रहरीले आइतबारराति १ बजे धनगढीबाटै पक्राउ गरेको थियो । 
    अत्तरियामा सुदूरपश्चिम प्रादेशीक महोत्सव हेरेर फर्कने क्रममा शनिबार अरुण भट्टको हत्या गरिएको थियो । अन्य तीन घाइते भएका छन् । पुरानो रिसिइबीको कारण अरुणको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।