Close This

छाडा चौपायाको चुनौति

मंगलबार माघ ८, २०७५/ Tuesday 01-22-19
Paschim Today

कैलालीमा पछिल्लो समय छाडा चौपायाको समस्या बढ्दो छ । सामुदायिक पशुचौपया नै यहाँका स्थानीय तहका लागि व्यवस्थापन गर्न चुनौति भएको छ । छाडा चौपायाले किसानलाई समस्या भएको छ । सडक, बजार क्षेत्रमा बथानमा हुने छाडा चौपायाले ट्राफिक व्यवस्थापनमा समेत समस्या निम्त्याएको छ । सडकमा हुने छाडा चौपायाले दुर्घटनाहरु समेत हुने गरेका छन् । छाडा चौपाया व्यवस्गापनमा स्थानीय तहहरुले खासै ध्यान दिएको पाइदैन । छाडा चौपाया स्थानीय तहका लागि टाउको दुखाइको विषय बनेको छ । कतिपय स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका छाडा चौपाया नजिकका स्थानीय तहमा लगेर छाड्ने गरेको पनि पाइन्छ । जसका कारण पनि छाडा पशुचौपयाको व्यवस्थापनमा समस्या भइरहेको छ । एक स्थानीय तहबाट अर्काे स्थानीय तहको क्षेत्रमा रातारात चौपया स्थान्तरण हुने गरेको पनि बताइन्छ । यस्ता कार्यले स्थानीय तहमा चौपाया व्यवस्थापनको चुनौति त थपिन्छ नै स्थानीय तहबीच नै द्धन्द्ध बढ्ने संभावनासमेत रहन्छ ।
उपयोगविहिन भएपछि चौपाया जथाभावी छाड्ने प्रवृति बढेको छ । जोत्न नसक्ने गोरु र दुध दिन छाडेपछि गाइलाई कसैले थाहा नपाउने गरी बाटोमा ल्याएर छोडिदिने प्रवृति बढ्दै जाँदा छाडा चौपायाको समस्या पनि बढ्दो छ । गाइगोरु सडकमा छोडिदिने चलनले सडकमा चौपाया बढेकाबढ्यै छन् । छाडा चौपायाकै धनगढी, अत्तरियालगायतका बजारहरू अहिले कुरुप बन्दै गइरहेका छन् । बजारमा यत्रतत्र हिंड्डुल गर्ने छाडा चौपाया र तिनले गर्ने फोहोरका कारण शहरी सौन्दर्य बिग्रीएको छ । स्थानीय बासिन्दालाई हिँड्डुल गर्न र खेतीपाती जोगाउन हैरान हुन थालेको छ । कैलाली र कञ्चनपुरमा अहिले कति छाडा चौपाया छन् भन्ने तथ्याङ्क कुनै निकायसँग छैन । तर छाडा छोड्ने क्रम नरोकिएकोले संख्या दिनहुँ बढिरहेको छ । सामुदायिक र संरक्षित वनको अवधारणा आएसँगै बस्तुभाउको चरन क्षेत्र खुम्चिएको छ । घाँसपात काट्ने पर्याप्त ठाउँ छैन । सामुदायिक वन संरक्षण ऐन र सामुदायिक वन संरक्षण नियमावली कार्यान्वयनमा आएपछि स्थानीयलाई वनजंगलमा पशु चराउन अनुमति छैन । 
 अर्कोतिर कृषि प्रयोजनमा विभिन्न उपकरणहरूको प्रयोग बढेपछि किसानले पालेका गोरु बेकामेजस्तै भएका छन् । खेत जोत्न गोरु, राँगाको सट्टा ट्रयाक्टर, पावर ट्रिलर, हाते ट्रयाक्टरजस्ता आधुनिक उपकरणतर्फ किसानको ध्यान तानिएको छ । हिजोआज धान, गहुँ, काट्न रिपर र कम्पेन र दाइँका लागि थ्रेसर प्रयोग गर्छन् । चाहिएको बेलामा उपकरण उपलब्ध हुने हुँदा गोरु पाल्ने, किन्ने ग्राहक पनि पाइदैन । केही वर्ष पहिलेसम्म छाडा चौपाया भारतमा निकासी हुन्थे । अहिले भारत निकासी पनि रोकिएको छ । छाडा चौपाया सडक दुर्घटनाको कारक पनि बन्न थालेका छन् । स्थानीय तहरुले छाडा चौपाया बाँध्ने गौशाला र गोठ बनाउन, पराललगायतका सामग्री किन्न, चौपायाको रेखदेख गर्ने हेरालोलाई तलबभत्ता दिन आफ्नो स्रोत खर्च गर्नु परिरहेको छ । यसरी दुध खाएर छोडिएका सामुदायिक पशु चौपया स्थानीय तहका लागि टाउको दुःखाई भएका छन् । आफुले दुध खाएर स्थानीय तहका लागि समस्या सिर्जना गर्नेहरुको पहिचान गर्न सक्नुपर्छ । यसलाई नियन्त्रण गर्नका लागि स्थानीय तहहरुले कडा कानुन निर्माण गर्नुपर्छ । छाडा चौपायाको समस्या कम गर्न जथाभावी छाडा चौपाया छाड्न नदिने र छाड्नेलाई दण्ड जरिवाना गर्ने व्यवस्था स्थानीय तहहरुले गर्नुपर्छ ।