Close This

संचार माध्यममा सकारात्मक कुरा उठाउन मुख्यमन्त्रीको आग्रह

मंगलबार माघ ८, २०७५/ Tuesday 01-22-19
Paschim Today

धनगढी, ८ पुष । 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संचार माध्यममा सकारात्मक विषयवस्तुलाई पनि प्राथमिकता दिन आग्रह गरेका छन् ।
    अन्नपूर्ण मिडिया नेटवर्कको सुदुरपश्चिम प्रदेश ब्यूरो कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सकारात्मक कुराहरु बाहिर ल्याउँदा समाजमा सकारात्मक प्रभाव पर्ने बताए । ‘संचार माध्यम हेर्ने आँखा हो, देखेको कुरो विश्लेषण गरेर कसरी दिने भन्ने कुरो महत्वपूर्ण हुन्छ’ उनले भने, ‘सकारात्मक विषयलाई समेत सबै जनतासम्म पुग्ने हिसाबले बाहिर ल्याउनुपर्छ ।’
    उनले नकारात्मक विषय पनि सञ्चार माध्यममा आउनुपर्ने भन्दै त्यसलाई तोडमोड गरी ल्याउँदा त्यसबाट समाजलाई नै हानी हुने बताए । ‘यो प्रदेशमा समस्या छन्, यी समाधान गरेर नै अघि जानुपर्ने अवस्था छ । केही चुनौतिपूर्ण पनि छन्’ उनले भने, ‘यो समाज रुपान्तरण गर्ने जिम्मेवारी सबैको हो, त्यसतर्फ सबै लाग्नुपर्छ ।’ 
नयाँ व्यवस्था भएकाले यसलाई स्थापित गरेर समृद्धि नेपाल बनाएर लैजानुपर्ने उनले बताए । ‘यो नयाँ व्यवस्था हामीले अङगालेर हिँडेका छौं, यसलाई सफल बनाउन सबैको भुमिका आवश्यक छ’ उनले भने,‘ अहिले नै मुल्यांकन हुन लागेको छ, यो अलि हतार भए जस्तो लाग्यो ।’ 
उनले सञ्चार माध्यममा यस प्रदेशका विषयले कमै प्राथमिकता पाउने गरेको भन्दै त्यसतर्फ सञ्चार माध्यमको ध्यान जानुपर्ने धारणा राखे । सञ्चार माध्यमले निगरानी गर्नु आवश्यक रहेको भन्दै रचानात्मक आलोचना हुनुपर्ने बताए । 
अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले संघीय व्यवस्था केही जटिल रहेको तर त्यसलाई व्यवस्थित रुपमा अघि लैजान मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । ‘राम्रो काम राम्रो हिसाबले र नराम्रो विषय पनि त्यसैगरी बाहिर ल्याउनु मिडियाको भूमिका हो’ उनले भने, ‘अन्नपूर्ण मिडिया नेटवर्कले आगामी दिनमा अझै सशक्त भएर प्रकाशन र प्रशारणका सामाग्री बाहिर ल्याउने छ ।’
 एपिवान टेलिभिजनका सम्पादक टिकाराम यात्रीले अन्नपूर्ण मिडियाले सबैलाई जोड्ने प्रयास गरेको भन्दै हरेक प्रदेशमा आगामी महिनादेखि ३० मिनेटको समाचार प्याकेज पनि ल्याउने तयारीमा रहेको बताए । कार्यक्रमका सहभागीहरुले अन्नपूर्ण मिडिया नेटवर्कले समाज रुपान्तरणका विभिन्न मुद्दा उठान गर्नुपर्ने धारणा राखेका थिए । 
उनीहरुले पश्चिम नाका भएकाले यसका विषयमा समेत मुद्दा उठान गर्नुपर्ने बताए । कार्यालय उद्घाटन समारोहमा सहभागीहरुले अहिले सामाजिक सञ्जाल चुनौतिपूर्ण बन्दै गएको बताए । 
देश संघीयतामा गईसकेपछि अन्नपूर्ण मिडिया नेटवर्कले सातै वटा प्रदेशमा ब्यूरो कार्यालय स्थापना गरेको थियो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा केही महिनाअघि कार्यालय स्थापना गरिएको थियो ।
यस्तै मासिक लक्की ड्र मोटरसाईकल अन्नपूर्ण मिडिया नेटवर्कले वार्षिक ग्राहक योजनाअन्र्तगत हरेक महिना प्रदान गर्ने मोटरसाईकल पुष महिनाको लक्की ड्रमा बैतडीका हरिशंकर जोशीले हात पारेका छन् । सोमबार प्रदेश ब्यूरो कार्यालयको उद्घाटनको क्रममा गरिएको लक्की ड्रमा रसिद नम्बर १६७८२ का बैतडीको दोगडाकेदार गाउँपालिका–३, का हरिशंकर जोशीले हात पारेका हुन् । 
सुदूरपश्चिमका ग्राहकहरु बीच भएको लक्की ड्रमा उनले टीभीएसको स्ट्राइकर मोटरसाईकल जितेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रिय सदस्य एवं कैलालीका बरिष्ठ व्यवसायी गोपाल हमालले लक्की ड्र गरेका थिए । उनले नै विजेताको नाम घोषणा गरे ।