Close This

घोडाघोडीको सुन्दरतामा हरिहाँस ‘सुनमा सुगन्ध’

घोडाघोडी ताल क्षेत्रमा मात्रै फुल पार्ने र बच्चा हुर्काउने गरेकाले यो चरालाई सूचक प्रजाति भन्ने गरिएको छ

मंगलबार माघ ८, २०७५/ Tuesday 01-22-19
Paschim Today

अविनाश चौधरी ।

धनगढी, ८ माघ । घोडाघोडी ताल प्राकृतिक दृश्यले यसै पनि मनमोहक । अझै यहाँको सुन्दरतामा सुनमा सुगन्ध थपेका छन्, रैथाने प्रजाति हरिहाँसले । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको प्रसिद्ध घोडाघोडी तालमा पाइने हरिहाँस आकर्षणको केन्द्रबिन्दु बन्न थालेका छन् । 
    सामूहिक रुपमा पानीमा खेल्ने, ताल छेउछाउमा उड्ने हरिहाँसले पर्यटक आकर्षित गर्न थालेका हुन । ताल क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु हरिहाँस देखेर रमाउने गरेका छन् । यि चरा प्रजाति घोडाघोडी तालको गहना जस्तै बनेका छन् । 

 


हरिहाँसलाई घोडाघोडी तालको रैथाने चरा प्रजाति मानिन्छ । हरिहाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै फुल पार्ने र बच्चा हुर्काउने गरेकाले यो चरालाई सूचक प्रजाति भन्ने गरिएको छ । घोडाघोडी ताल क्षेत्रमा चार सयको हाराहारीमा रहेको हरिहाँस घोडाघोडी तालको पहिचान बनेको स्थानीयवासी बताउँछन् । उनीहरुका अनुसार घोडाघोडी ताल क्षेत्रको अवलोकन गर्ने जो कोही पनि रमाइला हरिहाँस देखेर रमाउने गरेका छन् । 
    पानीमा खेलिरहेको देखिने हरिहाँसले घोडाघोडी ताल पुग्ने पर्यटकलाई लोभ्याउने गरेको चरा संरक्षण नेटवर्कका कोषाध्यक्ष समेत रहेकी स्थानीय मनिषा चौधरीले बताइन् । हरिहाँसले घोडाघोडी तालको थप आकर्षण बढाएको उनको बुझाइ छ । 
    ‘घोडाघोडी तालको पानीमा खेल्ने हरिहाँसले जो कोहीको पनि ध्यान तान्ने गर्दछन्’, उनले भनिन् । 

 


    बर्खा सिजनमा यत्रतत्र छरिने हरिहाँस जाडो याममा घोडाघोडीमा सबैभन्दा बढी देखा पर्दछन् । जाडो याममा घोडाघोडीबाहेक अन्यत्र पानी नहुने गरेकाले ति चराहरु घोडाघोडी तालमा केन्द्रित हुने गरेका छन् । यो तालमा रहेका रैथाने हरिहाँसको स्थिति थाहा पाउनका लागि एक वर्षमा जाडो र गर्मी याम गरी वर्षेनी दुई पटक चरा गणना हुने गरेको छ । 
    नेपाल पंक्षी संरक्षण सङ्घ (बीसीएन) ले विगत केही वर्षयता, घोडाघोडी ताल क्षेत्रमा हरिहाँस सहित अन्य प्रजातिका चराको निरन्तर गणना गर्दै आएको छ । २०१९ को गणनामा घोडाघोडी तालमा सबैभन्दा बढी तीन सय ९२ हरिहाँस चरा अभिलेख गरिएको छ । हालसम्म घोडाघोडीमा यो नै हरिहाँसको सबैभन्दा बढी सङ्ख्या हो । 
    सन २००९ मा एक सय ५५, २०१० मा एक सय ८८, २०११ मा दुई सय ४३, २०१२ मा दुई सय ९०, २०१३ मा तीन सय हरिहाँस फेला परेको तथ्याङ्क छ । यसैगरी, २०१४ मा एक सय ८८, २०१५ मा तीन सय ५७, २०१६ मा तीन सय ४७, २०१७ मा तीन सय ६० र २०१८ मा तीन सय ७४ हरिहाँस फेला परेको बीसीएनले अभिलेख राखेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष हरिहाँसको सङ्ख्यामा बढोत्तरी भएको छ । 
    यो वर्षको जाडो याममा गतवर्षभन्दा १८ वटा बढी हरिहाँस भेटिएको बीसीएनका प्रदेश फिल्ड संयोजकसमेत रहनु भएका संरक्षणकर्मी हिरुलाल डङ्गौराले जानकारी दिए । ‘गतविगतको तुलनामा यो वर्ष हरिहाँसको सङ्ख्यामा केहि बृद्धि भएको छ’, उनले भने । 
    जलबिहार गर्दै पानीमा रहेका किरा खाएर बाँच्ने यो चरा प्रजातिले नेपालमा घोडाघोडी ताल क्षेत्रमा मात्रै ‘ब्रिडीङ’ गर्ने गरेको जनाइएको छ । पानीमा बस्ने चरा प्रजाति रहे पनि हरिहाँसले घोडाघोडी ताल क्षेत्रमा रहेको सुकेका रुखको प्वालमा अण्डा पार्ने र बच्चा कोरल्ने पनि गरेको बताइएको छ । 

 


    घोडाघोडी तालको स्थानीय प्रजातिको पहिचान बनाएको हरिहाँस संरक्षणका लागि स्थानीय स्तरबाट पहल हुँदै आएको छ । सो क्षेत्रमा चराको चोरी शिकार गर्न निषेध गरिएको छ । ताल क्षेत्रमा देखिने चराहरुको चोरी शिकार नियन्त्रणका लागि स्थानीय क्लबका पदाधिकारी सहित चोरी शिकारी नियन्त्रण कार्य दल सक्रिय रहँदै आएका छन् ।  
    घोडाघोडी ताल क्षेत्रमा घोडाघोडी सहित २० वटा ताल रहेको छ । एक सय ७९ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल क्षेत्रमा दुई सय ९९ प्रजातिका चरा पाइन्छन् । जसमध्ये २८ प्रजाति जलपङ्क्षी र १४ प्रजाति विश्वमै दुर्लभ रहेको जनाइएको छ । विश्वमै दुर्लभ लोभीपापी गरुड, कैलेटाउके हाँस, राज लहाँचे, राज धनेश, घेघरी घाँसे फिस्ते, डङ्गर र सानो खैरो गिद्ध लगायत घोडाघोडीमा अस्तित्वमा रहेको अभिलेख छ । 
    दुर्लभ भुँडीफोर गरुड भने विगत सात वर्ष अगाडिबाट नै घोडाघोडी ताल क्षेत्रमा देखिन छाडेको छ । यद्यपि, घोडाघोडी ताल क्षेत्रमा देखिन छाडेको यो चरा गतवर्ष कैलालीको बसन्ता कोरीडोरस्थित रखौना सिमसारमा फेला परेको थियो । घोडाघोडी ताल क्षेत्रमा यो वर्षको गणनामा विभिन्न प्रजातिका एक हजार तीन सय पाँच वटा चरा फेला परेका छन् । गतवर्ष एक हजार दुई सयको हाराहारीमा यो ठाउँमा चरा अभिलेख भएका थिए । 

 


    यो वर्ष घोडाघोडी ताल क्षेत्रमा चरा सङ्ख्या केहि बढेको देखिए पनि विगतको तुलनामा चरा सङ्ख्या धेरै घटेको संरक्षणकर्मी डङ्गौराले बताए । चोरी शिकार नियन्त्रणमा आउन नसक्नु, जलपङ्क्षीलाई तालबाट धपाउनु, पानी सुक्दै जाने र वनभन्दा तेब्बर बढी गुणाले सिमसार मासिदैं गएकाले चरा सङ्ख्या घट्नेक्रम बढ्दो रहेको उहाँको बुझाइ छ । 
    ‘चराको मुख्य बसोबास क्षेत्र मानिने सिमसार तीव्र रुपमा मासिदैं गएको छ’, डङ्गौराले भने–‘पुस, माघ महिनामै अधिकाङ्श सिमसार क्षेत्रको पानी सुक्न थालेको छ ।’
कैलालीमा चरा अवलोकनका लागि घोडाघोडी ताल क्षेत्रलाई महत्वपूर्ण गन्तव्य मान्ने गरिन्छ । घोडाघोडी ताल क्षेत्रमा जाडो याममा जाडो छल्नका लागि साइवेरियन र मङ्गोलियन पाहुना चरा पनि आउने गर्दछन् ।