Close This

शिक्षाको ज्योति छर्न नमूना अध्ययन गृह

बुधबार माघ १६, २०७५/ Wednesday 01-30-19
Paschim Today

धनगढी, १६ माघ । कैलालीको लम्कीचुहा नगरपालिका–१ एकतानगर मुक्त कमैया बस्तीका बालबालिकाको सहज शिक्षाका लागि नमूना अध्ययन गृह निर्माण गरिएको छ । 
    लम्कीका १३ जना युवाले थालेको अभियानमार्फत देशविदेशबाट प्राप्त सहयोग रकमले नमूना अध्ययन गृह निर्माण गरिएको हो । छ लाख रुपियाँ लगानी गरेर तीन कोठे भवन निर्माण गरिएको अभियन्ता समेत रहेका सृजनशील नेपालका अध्यक्ष जनक सुनारले जानकारी दिए । उनले एकतानगरका ६२ जना बालबालिकालाई उक्त गृहमा राखेर पठनपाठन गराइने उल्लेख गरे । 
    नेपालसहित विश्वका विभिन्न मुलुकबाट नमूना अध्ययन गृह निर्माणका लागि हालसम्म नौ लाख रुपियाँ सहयोग प्राप्त भएको छ । बगैचासहित रहने गृहको अब रङ्गरोगन, पर्खाल र बगैचा निर्माणको काम बाँकी रहेको छ । सबै काम सम्पन्न गर्न करिब १० लाख रुपियाँसम्म लाग्ने अनुमान गरिएको सुनारले जानकारी दिए । 
    यसअघि, बस्तीका बालबालिका जीर्ण झुपडीमा बसेर पढ्दै आएका थिए । उनीहरुलाई बस्नसमेत समस्या रहेको अवस्थालाई मध्यनजर गरेर सामाजिक सञ्जाल फेसबुकमार्फत नमूना अध्ययन गृह निर्माणका लागि सहयोग अभियान चलाइएको थियो । 
एक महिनाभित्रै बालबालिकाले नमूना अध्ययन गृहमा बसेर पढ्न पाउने सुनारले बताए । ‘यति छिट्टै निर्माण गर्न सकिएला भनेर मैले त सोंचेको पनि थिएन’, उनले भने–‘सबैतिरबाट उल्लेख्य सहयोग मिलेपछि हामी सफल भएका छौं ।’ 
नमूना अध्ययन गृहमा बालबालिकालाई राखेर बस्तीकै सुदामा चौधरीले पठनपाठन गराउने जनाइएको छ । यसअघि, पनि उनैले बालबालिका पढाउँदै आएकी थिइन् । बस्तीका बालबालिकाको शिक्षाका लागि नमूना अध्ययन गृह निर्माण भएकोमा अत्यन्त खुशी लागेको शिक्षिका चौधरीले बताइन् । 
‘यस्तो बन्ला भनेर मैले त सोचेकी पनि थिइन्’, उनले भनिन्–‘तर, चाँडै बन्यो खुशी लागिरहेको छ ।’ सुदामाले बालबालिकालाई झुपडीमा राखेर पढाउँदा जाडो याम र बर्खामा समस्या हुने गरेको थियो । बर्खामा पानी चुहिँदा विद्यार्थीलाई नानीबाबुहरुलाई यत्रतत्र सारेर पढाएको अनुभव उनले सुनाइन् ।