Close This

हेलिकप्टरबाट धनगढी अवलोकनको व्यवस्था

बुधबार माघ २३, २०७५/ Wednesday 02-06-19
Paschim Today

धनगढी, २३ माघ ।
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवलाई मध्यनजर गर्दै कैलाली उद्योग वाणिज्य संघले हेलिकप्टरबाट धनगढी नगर क्षेत्रको अवलोकन गर्न पाउने व्यवस्था गरेको छ । 
 सुदूरपश्चिम महोत्सवलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको महोत्सव आयोजक उद्योग वाणिज्य संघले जनाएको छ । हेलिकप्टरबाट धनगढी अवलोकन गर्नका लागि ४ हजार रुपैया टीकटको व्यवस्था गरिएको संघका बरिष्ट उपाध्यक्ष पुष्करराज ओझाले जानकारी दिए । 
 एक पटकमा आकाशमा १० मिनेटसम्म रहेर धनगढी नगर क्षेत्रको अवलोकन गर्न पाउने व्यवस्था गरिएको संघले जनाएको छ । हेलिकप्टरबाट महोत्सव स्थललगायत उपमहानगरभित्र रहेका पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था गरिएको बरिष्ट उपाध्यक्ष ओझाले बताए ।
 यसबाट यहाँको आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए । माउण्टेन यअरको हेलिकप्टरले बुधबारबाट अवलोकन उडान थालेको हो । हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने व्यवस्था ५ दिनसम्म जारी रहने बरिष्ट उपाध्यक्ष ओझाले जानकारी दिए । 
    महोत्सवलाई लक्षित गरेर गरिएको यो व्यवस्थाकै बीचमा कम्तीमा २ पटक हेलिकप्टरबाट खप्तड अवलोकनको प्याकेज पनि ल्याउन लागेको संघले जनाएको छ । हेलिकप्टरबाट खप्तड अवलोकन गर्न संघले ३० हजार रुपैया टीकट तोकेको छ । 
महोत्सव सकिएपछि पनि हेलिकप्टरबाट खप्तड अवलोकनको प्याकेज ल्याउने तयारी रहेको संघका बरिष्ट उपाध्यक्ष ओझाले बताए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हेलिकप्टरबाट अवलोकनको व्यवस्था गरिएको बताए ।  
संघको आयोजनामा मंगलबारदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव भइरहेको छ । महोत्सव १० दिनसम्म संचालन हुने छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैया बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । 
महोत्सव स्थलमा २ सय २५ वटा स्टल राखिएका छन् । १५ वटा कृषि प्रदर्शनीका स्टल, २६ वटा खानपानका र अन्य होटेल, रेस्टुरेन्टलगायत व्यापारिक स्टलहरु छन् ।