Close This

मेरो गाउँ, मेरो ठाउँ भिडियो प्रतियोगिता हुने

शुक्रबार माघ २५, २०७५/ Friday 02-08-19
Paschim Today

धनगढी, २५ माघ ।

भिडियोग्राफीमा रुचि राख्नेलाई आफ्नो गाउँ, ठाउँ चिनाउने अवसर आएको छ । ‘हामी उठ्नेछौं फाउण्डेशन’ ले गाउँका सेरोफेरोलाई पर्यटकीय ठाउँको रुपमा चिनाउने मौका प्रदान गरेको हो । 
    फाउण्डेशनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिताका लागि देशभरीबाटै भिडियो माग गरेको छ । पर्यटकीय सम्भावना उजागर गर्ने कुनै पनि एक विषयवस्तुमा डकुमेन्ट्री बनाएर जो सुकैले पनि सहभागिता जनाउन सक्ने फाउण्डेशनका निर्देशक निर्मल श्रेष्ठले बताए । 
    ‘भिडियो स्मार्टफोन वा क्यामराले खिचेको पाँच मिनेटको हुनुपर्दछ’, धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘त्यसलाई हामी प्रतियोगितामा समावेश गर्नेछौं ।’ ग्रामीण क्षेत्रमा रहेको स–साना चिजको बारेमा जानकारी दिने र पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसंग सहकार्य गरेर प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । 
    उत्कृष्ट १० भिडियोमध्येबाट प्रथम हुने भिडियोलाई नगद एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइएको छ । फस्ट रनरअप र सेकेण्ड रनरअपलाई क्रमशः ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्रदान गर्ने फाउण्डेशनले जानकारी दिएको छ । यसैगरी, १० भिडियोमध्येबाट सर्वाधिक मन पराइएको एउटा भिडियोलाई ‘पिपुल च्वाइस अवार्ड’ प्रदान गर्ने जनाइएको छ । यसको पुरस्कारराशी पनि एक लाख रुपियाँ रहेको छ । 
    प्रतियोगिताका लागि बनाइएको डकुन्मेन्ट्री एचडी क्वालिटीमा हुनु पर्ने श्रेष्ठले बताए । ‘भिडियो आगामी जुलाईसम्म पठाउन सकिने छ’, उनले भने । 
    मुलुकलाई हामी आफैले चिनाउन आवश्यक रहेको उल्लेख गर्दै १३ पटक सगरमाथा आरोहण गरेर ‘वल्र्ड गिनिज बुक’ मा नाम लेखाउन सफल पर्वतारोही फुर्वा तेञ्जिङ शेर्पाले भने–‘यो हामी सबैलाई आफ्नो गाउँ, ठाउँ चिनाउने अवसर हो ।’