Close This

प्रयोगशालामा खेलाँचीको पराकाष्ठा

आइतबार माघ २७, २०७५/ Sunday 02-10-19
Paschim Today

सेती अञ्चल अस्पतालको प्रयोगशालामा चरम लापरबाही हुने गरेको पाईएको छ । कुन हदसम्म लापरबाही हुने गरेको छ, बुधवार साँझको एक घट्नाले पुष्टी गरेको छ । 
धनगढी उपमहानगरपालिका–१ शान्तिनगरका शिवराज सेठी दुई वर्षिय छोरालाई रुघाखोकीले च्यापेपछि उपचारका लागि बुधवार साँझ ५ ः३० बजे अस्पताल पुगे । ईमर्जेन्सी कक्षमा छोरालाई देखाए । डाक्टरले उनलाई छोराको सीवीसी र सीआरसी जाँच गर्न प्रयोगशालामा पठाए । उनी रिपोर्ट नआउञ्जेल अस्पतालकै प्रयोगशाला बाहिर कुरिरहे । ६ः३० बजे उनलाई भित्र बोलाईयो । रुघा ज्वरोले च्यापेपछि दुई वर्षिय छोरा संस्कार सेठीलाई उपचारका लागि सेती अञ्चल अस्पताल लिएर गएका शिवराज सेठी त्यतिबेला छांगाबाट खसे झै भए, जतिबेला सेती अञ्चल अस्पतालको प्रयोगशालाका कर्मचारीले उनको दुई वर्षिय छोराको रगतमा एचआईभी पोजिटिभ भएको रिपोर्ट दिए ।
तपाई कहाँ काम गर्नुहुन्छ ? भारतमा काम गर्नुहुन्छ कि ? के तपाईले कसैसंग असुरक्षित यौन सम्पर्क गर्नु भाछ ? भित्र बोलाएर उनको हातमा रिपोर्ट नदिदै एक जना ल्याव टेक्निसियनले यसरी प्रश्नमाथि प्रश्न गरिरहदा उनी अवाक भए । छोरामा एचआईभी पोजिटिभ पाइएको रिपोर्टले उनी जति प्रताडित भए त्यो भन्दा बढि प्रताडित ल्याव टेक्निसियनले प्रयोग गरेको भाषा र व्यबहारले भए । 
त्यो रिपोर्ट र ल्याव टेक्निसियनको प्रस्तुतीका कारण उनले झण्डै डेढ दिन अत्यन्त तनावमा बिताए । त्यतिबेलासम्म उनी तनावबाट मुक्त हुन सकेनन, जवसम्म धनगढीकै एक निजी प्रयोगशालाले उनको छोरामा एचआईभी पोजिटिभ नरहेको पुष्टी गरेको रिपोर्ट उनको हातमा दियो ।
प्रयोगशालामा दरबन्दी भएका पुराना अनि अनुभवी ल्याव टेक्निसियनहरुले सिकारुका भरमा प्रयोगशाला छोड्नुको परिणाम हो ।पहिलो कुरा त, प्रयोगशालामा रहेका कर्मचारी गम्भीर हुनु प¥यो । जिम्मेवार बन्नु प¥यो । प्रयोगशालामा खेलाँची गर्न भएन । 
उनीहरुको काम रिपोर्ट तयार गर्ने हो । कसैलाई हतोत्साही गर्ने होईन । अझ गम्भीर प्रकृतिको रोग पत्ता लागेको अवस्थामा त्यस्तो व्यक्तिलाई परामर्श दिने, सुझाव दिने काम उनीहरुको होईन । त्यो काम बिशेषज्ञ चिकित्सकहरुको हो । आफै जान्ने भएर सल्लाह दिने नाममा बिरामी र उसका आफन्तलाई सार्वजनिक रुपमा हतोत्साही गर्नु सरासर गलत हो । 
यो घट्नामा संलग्न प्राबिधिकहरुलाई अस्पतालले तत्काल कारबाही गर्नुपर्छ । आगामि दिनमा यस्ता घट्ना हुन नदिन अन्य प्राबिधिक र कर्मचारीलाई सचेत गर्नुपर्छ । यो घट्नालाई हल्का ढंगले लिईयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । 
एउटा सचेत र क्याम्पसमा पढाउने व्यक्तिले साबधानी अपनाएकै कारण कुनै दुर्घटना भएन, अन्यथा नसोचेको घट्ना हुन सक्थ्यो ।