Close This

ओझेलमा झिलमिला ताल

मंगलबार माघ २९, २०७५/ Tuesday 02-12-19
Paschim Today

महादेव अवस्थी, कन्चनपुर, २९ माघ । 
कञ्चनपुरको चुरे पहाडसंगै जोडिएको झिलमिला ताल संरक्षण नहुँदा ओझेलमा परेको छ । 
कञ्चनपुर सदरमुकाम महेन्द्रनगर देखी करिब २५ किलोमिटर टाढा चुरे फेदमा रहेको ताल संरक्षण एव्म प्रचारप्रसार हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । वर्षातको समयमा चुरे क्षेत्रबाट बगेर आउने माटो तालमा जम्मा हुने भएकाले पनि तालको अस्तीत्व संकटमा परिरहेको छ ।
भीमदत्तनगरपालिका वडा नम्वर ९ ब्रह्मदेव स्थित झिलमिला ताल सुदूरपश्चिमका ठूला तालहरुमध्ये एक हो ।  तालको गहिराईबारे यकिन गर्न नसकिए पनि झन्डै १ किलोमटिर लम्बाई र ३०० मिटर चौडाई रहेको यहाँका स्थानीयहरुको भनाई छ । चारैतिर हरिया डाँडाँहरु भएका कारण तालको सौन्र्दयता अति नै आर्कषक देखिन्छ । प्रकृतिसंग रमाउनका लागि झिलमिला ताल पुग्ने पर्यटकहरुको मनै लोभिने गरेको छ । 
मौसम अनुसार तालको रंग परिर्वतन हुने यहाँका स्थानीयको भनाई छ । प्राकृतिक रुपमा धनी झिलमिला ताललाई धार्मिक महत्वका हिसाबले पनि महत्वपूर्ण गन्तव्यका रुपमा लिइन्छ  । प्राचिनकालबाट  झिलमिला क्षेत्रमा गएर सच्चा भावले पूजा आराधना गर्नाले सबै मनोकाङक्षा पूर्ण हुने धार्मीक विश्वास रही आएको छ ।
मनोकाङक्षा पूरा हुने विश्वासले नेपालका मात्र नभइ भारतबाट पनि श्रद्धालुहरु आउने गरेका छन । तर, ताल संरक्षणका निम्ती सरकारबाट कुनै पहल नभएको स्थानीय लालबहादुर विष्टले बताए । उनले भने–‘यहाँ केहि छैन बाटो, खानेपानी, बिजुली बत्ती सरकारले नै सबै व्यवस्थीत गर्नुपर्छ, यो ताल धार्मीक पर्यटनको हिसाबले पनि महत्वपूर्ण छ ।’
तालमा रहेको पानीको सतह सधै एकनासको रहनु, आश्चर्यजनक माछा, तालको वरपर हरियाली रुखहरु भएतापनि तालमा पात पतिङ्गर देखा नपर्नु, तालमा घामको किरणसंगै तालको रङ्ग परिवर्तन हुनु, तालमा धेरै पानी रहनु लगायतका कुराले झिलमिला तालको महत्व झल्काएको छ । 
द्वापर युगमा पाण्डपहरुको १२ वर्ष बनवास र एक वर्ष गुप्तवास बस्ने क्रममा महाभारत पर्वतमा पाण्डपहरुको वास भएको र महाभारत पर्वतमा हिड्दै जाादा द्रोपती लाई तिर्खा लागेर बाटोमा मुर्छित हुँदा कतै पानीका मुहान नपाएपछि अजुर्नको वाणको प्रहारबाट झिलमिला तालको उत्पत्ति भएको विश्वास गर्ने गरिएको शंकरसिहं विष्टले बताए । उनले भने–‘तालको प्रचारप्रसार हुनसकेको छैन र पहिला सरकारले यहाँसम्म पुग्ने बाटो र मन्दिर बनाउन आवश्यक छ  । त्यसपछि यहाँको प्रचार प्रसार गर्नुपर्छ ।’
प्राकृतिक तथा धार्मिक रुपले प्रर्यटक तथा श्रद्धालुहरुलाई लोभ्याउने ताल भए पनि त्यहाँसम्म पुग्नका लागि राम्रो बाटो तथा अन्य सेवा सुविधा नभएकाले स्थानीय, प्रदेश तथा केन्द्र सरकारले ताल संरक्षणमा चासो देखाउनु पर्ने स्थानीयवासीको भनाइ छ ।
धार्मिक, पौराणिक र जैविक विविधताले भरिपूर्ण झिलमिला ताललाई सरकारले पर्यटकीय गन्तव्यबाट छुटाउनु दुःखद भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । सरकारले सय वटा पर्यटकीय गन्तव्य छनोट गर्दा झिलमिला ताललाई पनि छनोट गनुपर्ने उनको धारणा थियो । 
तालसम्म सहज रुपले पुग्नको लागि सघन शहरी विकास कार्यक्रम अन्र्तगत ९ किलोमिटर बाटो बनाउने लक्ष्यका साथ अगाडि बढेको नगर प्रमुख विष्टले बताए । उनले भने–‘वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट नबन्दा सडक कालोपत्रेमा समेत समस्या भएको छ । यसका लागि सरोकारवाला निकायले सहजीकरण गर्न आवश्यक छ ।’
सहज रुपमा बाटोको पहुँच पुगाउन सके पाहुना घर लगायत अन्य व्यवस्थापनका लागि बजेट विनियोजन गरेर काम अगाडि बढाउने प्रमुख विष्टले बताए । तालको संरक्षण, भौतिक पूर्वाधार निर्माण र प्रचार प्रसारमा नगरपालिकाले ध्यान दिएको भन्दै नगर प्रमुख विष्टले अगाडि थपे–‘गुरुयोजना बनाएर यसको व्यवस्थापन गर्नेछौं ।’ 
भीमदत्त नगरपालिकाले भ्यूटावर निर्माणका लागि ८० लाख रुपैया बजेट विनियोजन गरेको छ । यसैगरी, ताराकोट, झिलमिला, बाह«मासे झरनासम्म पुग्न पदमार्गसमेत बनाउने जनाएको छ ।