Close This

हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने 

मंगलबार माघ २९, २०७५/ Tuesday 02-12-19
Paschim Today

कन्चनपुर, २९ माघ ।
आगामी फागुन १५ गतेदेखि सञ्चालन हुने राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानका लागि भीमदत्त नगरपालिकामा तयारी थालिएको छ । 
भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई उपशाखाले नगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालनका लागि तयारी गरेको हो । उपशाखाका प्रमुख भीम बहादुर महराले नगरपालिकाका सबै वडामा अभियान सञ्चालनका लागि तयारी सुरु गरिएको बताए ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले अभियान सञ्चालनका लागि नगर स्तरीय योजना निर्माण गरेको उप शाखा प्रमुख महराले बताए ।
भीमदत्त नगरपालिकामा एक लाख भन्दा बढी वासिन्दालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने लक्ष्य राखिएको छ । उपशाखा प्रमुख महाराले भने–‘नगरपालिकाको एक लाख जनसंख्या छ, त्यसमा दुई वर्ष भन्दा माथिका सबै र गर्भवती, दिर्घ रोगी बाहेक सबैलाई औषधि खुवाइन्छ ।’ नगरका सबै वडामा स्वास्थ्यकर्मी सहित महिला स्वास्थ्य स्वयम् सेविका परिचालन गरिने छन् ।
स्थानीय तहनिर्वाचन अघि जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर हात्तीपाइले रोग विरुद्धको अभियान सञ्चालन गर्दै आएको भएपनि नयाँ संरचना अनुसार पहिलो स्थानीय तहमा अभियान सञ्चालन तयारी गरिएको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरका सबै वडामा प्रभावकारी रुपमा अभियान सञ्चालन गर्न तयारीमा लागेको भन्दै नगरका कोही पनि औषधि सेवनबाट बञ्चित नहुने बताए ।