Close This

‘सामुदायिक विद्यालयलाई विश्वास गरौं’

बुधबार फागुन १, २०७५/ Wednesday 02-13-19
Paschim Today

धनगढी, १ फागुन । 
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । 
    कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड प्रमुख अतिथि रहेका थिए । उनले सामुदायिक विद्यालयलाई विश्वास गर्न वडले आग्रह गरे । ‘शिक्षक सेवा आयोग पास गरेर आएका शिक्षकहरु छन् । भौतिक पूर्वाधार सहित निशुल्क पठनपाठनको व्यवस्था राज्यले गरेको छ’, नगरप्रमुख वडले भने–‘तर पनि अभिभावकहरुले नै सामुदायिक विद्यालयलाई विश्वास गरेको छैन ।’ 
नगरप्रमुख वडले पढाइको गुणस्तरमा सुधार गर्ने विद्यालयलाई सहयोग बढाएर दिने बताएका छन् । ‘तपाईहरु शिक्षक सेवा पास गरेर आउनु भएका शिक्षकहरु हुनुहुन्छ’, नगरप्रमुख वडले भने–‘व्यक्तिले भर्ना गरेका तपाईहरु भन्दा थोरै सेवा सुविधा दिने नीजि विद्यालयका शिक्षकहरुले पढाउदा कसरी गुणस्तर राम्रो हुन सक्छ ?’ नगरप्रमुख वडले सामुदायिक विद्यालयका शिक्षक र अभिभावकका लागि यो चुनौतीको विषय भएको बताए । 
उनले अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय सरकारको विद्यालयको पढाइ सुधार गर्न सामान भूमिका रहेको बताए । 
बेहडाबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले विद्यालयमा पूर्वाधारको अभाव भएको बताए । उनले भने–‘विद्यार्थीको तुलनामा शिक्षक दरबन्दी समेत कम रहेको छ ।’