Close This

प्रकृति दोहन न्यूनिकरण गर

बुधबार फागुन १, २०७५/ Wednesday 02-13-19
Paschim Today

देशमा तीन तहको सरकार बनिसकेका छन् । केही कानुन बनिसकेका छन् र केही बन्ने क्रममा छन् । तीन वटै सरकार केन्द्रदेखि स्थानीय तहसम्म ध्यान विकास निर्माणमै केन्द्रित छ । तर, विषयवस्तु के हो भने तीन वटै सरकारले विकास निर्माणको बाटो रोजिरहँदा विकास निर्माणका गुरुयोजनाहरु, पर्यावरणीय अध्ययन, दीर्घकालीन रुपमा यसको प्रभावको बारेमा अध्ययन विश्लेषण पूर्ण छ वा अपूर्ण छ यसले महत्व राख्दछ । अहिले केन्द्रदेखि स्थानीय तहसम्म विकास निर्माणका कार्यहरुमा मनपरी ढङ्गबाट विना गुरुयोजना कमिशनका लागि जताततै डोजर आतंक बढेको छ । धेरैजसो पूर्वाधार विकास निर्माणका लागि प्राकृतिक स्रोत साधनहरु आवश्यक पर्दछन् । प्रयोग हुने प्राकृतिक स्रोतसाधन र वातावरण बीचको सन्तुलन पनि एउटा अपरिहार्य विषय हुन्छ । एउटा कलकारखाना, उद्योग सञ्चालनमा समेत वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने हुन्छ । 
वातावरण सम्बन्धी अध्ययन नगरी  बेवास्ता गरेर सञ्चालन गरिने विकास निर्माणका कामले अन्ततः विकास भन्दा पनि विनास र क्षयीकरण हुन्छ र झनै प्राकृतिक विपत्ति निम्त्याउछ । आजका वर्षमा अति चिसो र अति गर्मीको अवस्था विश्वका विभिन्न मुलुकले भोग्दै आएका छन् । विकास निर्माण र प्रगतिका नाममा प्रकृतिको अति दोहनबाट अहिलेको अवस्था आएको हो । हामी नेपाली सवैलाई यतिखेर  विकास निर्माणको आवश्यकता भइरहेको छ । हामीलाई यातायात र अन्य भौतिक पूर्वाधार निर्माणको कामलाई व्यापक बनाउनुपर्ने अवस्था छ । केन्द्रदेखि स्थानीयसम्मका तीनै तहका सरकारको ध्यान विकास निर्माणमै छ । स्थानीय जनप्रतिनिधिदेखि प्रदेश र केन्द्रसम्मका उच्च कोटीका नेताहरुले पनि विकासको दृष्टिमा एउटा सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको देखिन्छ । ग्रामीण सडक निर्माणका नाममा जथाभावी प्राकृतिक सौन्दर्यता मासेर विना अध्ययन जही पायो त्यही डोजर हालेर वन विनास गरी हाम्रा पानीका श्रोतहरु माथि आक्रमण भइरहेको छ ।  तर, विकासका निम्ति चाहिन्छ भनेर जथाभावी हाम्रा प्राकृतिक संरचनाहरु मासेर नदी, नाला, कुवा, खेत, जंगल, अथवा खोतलेर ढुंगाबालुवा निकाल्दा कालान्तरमा पर्ने प्रभाव थप विपत्तिका रुपमा देखा पर्ने हुन्छ । 
अहिले देशभरि विभिन्न स्थानीय तह सरकारको स्वीकृतिमा आफूखुसी ढुंगाबालुवा निम्ति नदी दोहनले व्यापकता पाएको स्थिति छ । अहिलेकै गतिमा विना पर्यावरणीय अध्ययन ग्रामीण सडक निर्माणमा जुन यो डोजर आंतक चलिरहेको छ । यो निरन्तर चलिरहने हो भने यसले केही बर्षमै हाम्रा पानीका मुहानहरु सुकेर जान्छन्, जताततै भुक्षय हुन जान्छ, हाम्रा नदीनालामा कल कल गरी बग्ने पानी सुकेर जादै गर्दा हामी केही बर्षमै खडेरीको विपत्ति सहन बाध्य हुनेछौं र हाम्रा पर्यटकीय आकर्षणका मयावती हराभरा डाडाहरु नाङ्गिनेछन् । जुन हाम्रा पर्यटन आकर्षणका मुख्य श्रोतहरु हुन् । विकास निर्माणमा स्थानीय सरकार सर्वत्र गुनासो खेपिरहेको छ । न कुनै विकासको रोडम्याप छ, न त कुनै अध्ययन नै । आफुुखुसी  विकास निर्माण प्रक्रियालाई आफु नियन्त्रित बनाएर डोजर आतंक र कमिशन खेलले शुसासनको धज्जी उडाएको देखिन्छ । आफु अनुकुलको लेखाजोखाको विकास निर्माणले दीर्घकालीन रुपमा आर्थिक क्षयीकरणले देश टाँट पल्टने अवस्था नआउला भन्न सकिन्न । त्यसैले प्रकृतिमाथिको दोहन न्यूनिकरण गरिनुपर्छ ।