Close This

सडकमा अण्डरपास बनाउनु पर्ने वनको अडान

बुधबार फागुन १, २०७५/ Wednesday 02-13-19
Paschim Today

धनगढी, १ फागुन । 
कैलालीको बसन्ता कोरीडोरमा हुलाकी सडक विस्तार गर्दा वन्यजन्तुका लागि मार्ग बनाउनु पर्ने डिभिजन वन कार्यालय कैलालीले माग गरेको छ । 
    कोरीडोर अन्तर्गतको १८ किलोमिटर क्षेत्र हात्ती, बाघ जस्ता वन्यजन्तुको पुरानो जैविक मार्ग रहेकाले ‘अण्डरपास वे’, र ‘ओभरपास वे’ बनाउन माग गरेको हो । बसन्ता कोरीडोर र भारतको दुधुवा नेशनल पार्कमा वन्यजन्तुको ओहोरदोहोर भइरहने गर्दछ । बसन्ता वन्यजन्तुको महत्वपूर्ण जैविक मार्ग भएकाले हुलाकी सडक विस्तार गर्दा तिनीहरुको ओहोरदोहोरलाई सहज बनाउनु पर्ने डिभिजन वन प्रमुख अमरबहादुर बुलनले बताए । 
    ‘त्यसैले वन्यजन्तुको बढी ओहोरदोहोर भइरहने जम्नेहटा लगायतको क्षेत्रमा कम्तीमा पनि तीन वटा अण्डर पास वे र एउटा ओभर पास वे बनाउनु पर्छ भन्ने हाम्रो अडान हो’, उनले भने । यसैगरी, अण्डर र ओभर पास वे भएको क्षेत्र नजिक गाडीको गति कम गर्ने ‘ब्रेकर’ पनि बनाउनु पर्ने बुलनले बताए । 
    बसन्ता वन्यजन्तुका लागि महत्वपूर्ण क्षेत्र रहे पनि हुलाकी सडकको वातावरणीय प्रभाव मूल्याङ्कनमा यी कुराहरु उल्लेख नभएको डिभिजन वन कार्यालयको भनाइ छ । यहाँ तयार पारिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रदेश नम्बर १, २ र ३ का लागि उपयुक्त रहे पनि सुदूरपश्चिमको कैलालीका लागि निकै प्रतिकूल रहेको सो कार्यालयको ठहर छ । किनभने, बसन्ता ठूला वन्यजन्तुको बर्सेनि ओहोरदोहोर भइरहने पुरानो जैविक मार्ग हो । 
    हुलाकी सडकको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा बसन्ता कोरीडोर क्षेत्रमा वन्यजन्तुको ओहोदोहोर मार्ग बनाउने कुरालाई थप्नु पर्ने डिभिजन वन कार्यालयको अडान छ । र, यसलाई हुलाकी सडक आयोजनाले नै बनाउनु पर्ने माग गरिएको छ । यो विषय आइईई प्रतिवेदनमा उल्लेख नगरेसम्म रुख कटान गर्न बाँकी रहेको दुई किलोमिटर खण्डमा कटान आदेश दिन गाह«ो हुने डिभिजन वनको जिकिर छ । 
    ‘दुई किलोमिटर खण्डमा रुख कटानको आदेश नदिएर हामीले अहिलेसम्म रोकी राख्नुको कारण नै यहि हो’, डिभिजन वन प्रमुख बुलनले भने–‘बसन्ता कोरीडोर मान्छेको थलो होइन । सडक बनाउँदा कमसेकम वन्यजन्तुलाई मार्ग ख्याल गर्ने कुरा प्रतिवेदनले बोल्नु प¥यो ।’ 
    कैलालीमा ७० किलोमिटर लम्बाई रहने हुलाकी सडक १८ किलोमिटर क्षेत्र बसन्ता कोरीडोरमामात्रै पर्दछ । वन क्षेत्रको १६ किलोमिटरमा रुख कटान भएर सडक निर्माणको काम भइरहेको छ । भने, बसन्ता रेञ्जपोष्टको कार्यालयदेखि पश्चिम कटैनी नदीसम्म दुई किलोमिटरमा रुख कटानको आदेश मिलेको छैन । दुई किलोमिटरमा साना–ठूला गरी एक हजार चार सय ४० रुख काट्नु पर्ने आइईई प्रतिवेदनमा उल्लेख गरिएको छ । 
    यसैगरी, डिभिजन वनले हुलाकी सडकभन्दा दक्षिणतिरको नाङ्गो वनक्षेत्रलाई तारबार गरेर संरक्षण गर्नु पर्ने र विभिन्न ठाउँमा वन्यजन्तु क्षेत्र भनेर ‘होडिङ्ग बोर्ड’ राख्नु पर्ने समेत माग अगाडि बढाएको छ । बसन्ता कोरीडोरलाई वन्यजन्तु संरक्षित क्षेत्र बनाउन नसकिए पनि सडक विस्तार गर्दा कम्तीमा वन्यजन्तुको ओहोरदोहोरलाई सहज बनाउनु पर्ने डिभिजन वन प्रमुख बुलनले बताए । 
    डिभिजन वनकै अडानलाई लिएर केहि दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा बैठक समेत बसेको थियो । बैठकमा विभिन्न ‘फेज’ मा गरेर हुलाकी सडक बन्ने भएकाले रुख काट्न बाँकी रहेको दुई किलोमिटरमा अन्तिममात्र सडक बनाउने सहमति भएको जनाइएको छ । 
बसन्ता वन क्षेत्रमा हुलाकी सडक निर्माणका लागि तुण्डी परेरा चन्द्रा एण्ड बसन्ता जेभीले ठेक्का पाएको छ । रुख काट्न नपाइएको ठाउँ बाहेक अरुतिर उक्त निर्माण कम्पनीले सडक निर्माणको काम गरिरहेको छ । भजनी नगरपालिकाको कान्द्रा नदीदेखि पश्चिमतिर कैलारी गाउँपालिकाको भुईयाँफाँटा गाउँसम्म सडकमा माटो हाल्ने कार्य भइसकेको हुलाकी सडक निर्माण आयोजनाका सव–इञ्जिनीयर वीरबहादुर कोलीले जनाएका छन् । उक्त खण्डको ठेक्का लागत भ्याट सहित ३१ करोड ६१ लाख छ हजार रुपैयाँ रहेको छ । 
कैलालीमा अन्यत्र सबैतिर हुलाकी सडकको काम भए पनि अब बसन्ता कोरीडोरको दुई किलोमिटर खण्डमामात्रै रोकिएको छ ।