Close This

सीवाइसी अत्तरिया शीर्ष स्थानमा

शुक्रबार फागुन ३, २०७५/ Friday 02-15-19
Paschim Today
रुपन्देहीको विकेट लिएपछि खुशी साटासाट गर्दै अत्तरियाका खेलाडी । 

पश्चिम टुडे, धनगढी ३ फाल्गुन । 
रुस्लान धनगढी प्रिमियर लिगमा बलियो देखिएको रुपन्देही च्यालेञ्जर्सलाई हराएर सीवाइसी अत्तरिया अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 
    आफ्नो दोस्रो खेलमा लगातार जित दर्ता गर्दै चार अङ्कसहित रनरेटको आधारमा अत्तरिया अङ्क तालिकामा सबैभन्दा माथि स्थान बनाएको हो । अत्तरियाले बिहीबार रुपन्देहीलाई ३९ रनको फराकिलो अन्तरले पाखा लगायो । दुई खेलमा जित र एक खेलमा पराजयसंगै समान चार अङ्क बटुलेको रुपन्देही तेस्रो स्थानमा झरेको छ । दुई खेलमा अपराजित रहेको काठमाण्डौं गोल्डेन्स अङ्क तालिकाको दोस्रो स्थानमा छ । 
    फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी पालि खेल्दै अर्धशतक पूरा गरे । ५० बलमा एक छक्का र १० चौकाको मदतले उनले सर्वाधिक ६७ रन बनाए । दीपेन्द्र म्यान अफ द म्याच घोषित भइ १५ हजार रुपैयाँ पुरस्कारको हकदार समेत बने । उनलाई रुपन्देहीका बाबर हायातले रनआउट गराएका थिए । 
    यसैगरी, सुबेन्दु पाण्डेय, रीत गौतम र सन्नी पटेलले समान १२/१२ रनको योगदान दिएपछि निर्धारित २० ओभरमा नौ विकेट गुमाएर अत्तरियाले १२१ रन जोड्न सफल भएको थियो । अरु ब्याट्सम्यानहरु भने क्रिजमा धेरै बेरसम्म टिक्न सकेनन् । 
    बलिङ गर्दै रुपन्देहीका लागि ललितराज वङ्शीले सर्वाधिक तीन, विक्रम सोबले दुई, कप्तान बसन्त रेग्मी र पुनित मेहराले समान एक/एक विकेट लिएका थिए ।  
    १२२ रनको विजयी लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको रुपन्देही पुरै ओभर खेल्दै नौ विकेटको क्षतिमा मात्र ८२ रनमा समेटियो । रुपन्देहीलाई सस्तैमा समेट्क्रममा अत्तरियाका सन्नी पटेल, भुवन कार्की, कप्तान दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले समान दुई÷दुई विकेट लिए । युवा बलर कमलसिंह कार्कीको पोल्टामा एक विकेट परेको थियो । अत्तरियाका बलरले कसिलो बलिङ गर्दै लगातार रुपमा रुपन्देहीको विकेट लिन सफल भएका थिए । भने, रनमा पनि अङ्कुश लगाएका थिए । 
    आफ््नो टिमका लागि रुपन्देहीका सुमित महर्जनले सर्वाधिक २२ रनमा नटआउट रहे । सन्दीप सुनारले १५, प्रदीपसिंह ऐरी र विक्रम सोबले समान १४÷१४ र विनोद भण्डारीले १० रन बनाउनका बाहेक अरु ब्याट्सम्यानहरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । रुपन्देहीका कुनै पनि खेलाडीबीच लामो साझेदारी हुन सकेन ।  
    आफ्नो टिमले डीपीएलमा दुई खेल राम्रो खेले पनि तेस्रो खेल भने अपेक्षाकृत हुन नसकेको रुपन्देहीका कप्तान बसन्त रेग्मीले बताए । ‘विपक्षी टिमले हामीभन्दा निकै राम्रो खेलेकाले हाम्रो हार भयो’, उनले भने–‘खास गरेर दीपेन्द्रसिंह ऐरीको शुरुवातदेखि नै प्रदर्शन राम्रो थियो ।’ सुरुका चार ब्याट्सम्यान र चार बलर चलेमा खेल जित्ने अपेक्षा गरे पनि त्यस्तो हुन नसकेको रेग्मीले बताए । 
    यसैगरी, विजेता टोली अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ, फिल्डिङ दुवै राम्रो हुँदा खेल जितेको प्रतिक्रिया दिए । ‘यो जित हाम्रो लगातार अभ्यासको नतिजा पनि हो’, उनले भने–‘हाम्रो प्रशिक्षक विदेशी रहेकाले पनि खेलमा केहि फरकपना आएको छ ।’
    यसैबीच, महेन्द्रनगर युनाइटेड र विराटनगर किङ्ग्सबीच भएको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । पानीले मैदान पखालिएपछि खेल रद्द गरी दुवै टोलीलाई एक÷एक अङ्क बाँडिएको छ । विराटनगरले टस जितेर १८ दशमलव ३ ओभरमा महत्वपूर्ण सात विकेट गुमाएर मात्र ८२ रन जोड्दा खेल रोकिएको थियो । खेल रद्द भएपछि विराटनगरलाई फाइदा भएको छ । भने, महेन्द्रनगरको अप्ठ्यारो अवस्था कायमै रहेको छ । 

दर्शकसंग जोन्टिको खेल
विश्व प्रसिद्ध क्रिकेटर एवम् धनगढी प्रिमियर लिगका ब्राण्ड एम्बेसडर जोन्टि रोड्सले बिहीबार दर्शकसंग क्रिकेट खेलेका छन् । 
    उनीसंग क्रिकेट खेल्नका लागि छ जना भाग्यशाली दर्शकलाई मैदानमा निम्त्याइएको थियो । टिकट काटेर मैदान प्रवेश गरेका भाग्यशाली तीन दर्शकलाई जोन्टिले प्रहार गरेको बल क्याच गर्ने अवसर प्रदान गरिएको थियो । दुई जना दर्शकले क्याच गरी गोल्डस्टार जुत्ता प्राप्त गरे । एक जना दर्शक भने चुकेका थिए । 
    यसैगरी, तीन जना दर्शकलाई स्टम्पमा हान्ने मौका प्रदान गरिएको थियो । स्टम्पमा बलले हान्न सक्ने दर्शकलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो । भाग्यशाली तीन जना दर्शक उक्त पुरस्कार जित्नबाट चुके ।