Close This

नेपाली बस्ती डुवानमा पार्ने गरी भारतले बनायो डिल

आइतबार फागुन ५, २०७५/ Sunday 02-17-19
Paschim Today
फोटो क्याप्सन ः बस्ती नजिक भारतीय पक्षले ट्रेन्च खनेर बनाएको डिल ।  

पश्चिम टुडे, धनगढी ५ फाल्गुन । 
भारतीय पक्षले कैलालीस्थित नेपाल–भारत दशगजा क्षेत्र नजिक मनोमानी ढङ्गले ट्रेन्च खनेको छ । केहि दिन अगाडि कञ्चनपुरको पुनर्वास क्षेत्रमा ट्रेन्च खनेको भारतीय पक्षले यहाँको कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुर गाउँ नजिक पनि टे«न्च खनेर अग्लो डिल बनाएको हो । 
    भारतले नेपाली पक्षसंग कुनै पनि समन्वय नगरी एकलौटी रुपमा नेपाली बस्ती नजिक ट्रेन्च खनेको स्थानीयले बताएका छन् । दुधुवा नेशनलपार्कमा करिब चार फिट गहिरो ट्रेन्च खनेर बाँध जस्तो अग्लो डिल उठाइएको छ । केहि दिन अगाडि भारतीय पक्षले डोजर लगाएर करिब तीन किलोमिटर लामो ट्रेन्च खनेको स्थानीयले जनाएका छन् । भारतले ट्रेन्च खनेर बनाएको अग्लो डिलका कारण शिवरत्नपुर गाउँ समस्यामा पर्न सक्ने उनीहरुको भनाइ छ । 
    बस्तीको पानी निकास हुने ठाउँमा ट्रेन्च खनेर अग्लो डिल बनाएकाले शिवरत्नपुर गाउमाँ डुवान समस्या भयावह हुन सक्ने स्थानीय ज्ञानबहादुर चौधरीले बताए । ‘उता, बनाइएको बाँध जस्तो अग्लो डिलले पानी निकास रोकिन गइ डुवान समस्या बढी हुन सक्छ’, उनले भने । 
    शिवरत्नपुर कटानमा ७४ घरधुरी रहेको छ । गाउँको अधिकाङ्श घर पहिलेदेखि नै डुवानमा पर्दै आएको छ । भारतले ट्रेन्च खनेर बनाएको डिलका कारण सिङ्गो गाउँ नै थप डुवानमा पर्ने खतरा बढेको वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश चौधरीले बताए । 
    उनका अनुसार बर्खामा भारतीय जङ्गलबाट पानी शिवरत्नपुर कटानतर्फ आउने गर्दछ । गाउँमा भरिएको पानी अहिले ट्रेन्च निर्माण गरी डिल बनाइएको तर्फबाट पुनः भारततर्फ नै निकास हुने गर्दछ । पानी निकास हुने ठाउँमै ट्रेन्च खनेर डिल बनाइएकाले अब गाउँ बढी डुव्न सक्ने अध्यक्ष चौधरीले बताए । 
    ‘१० वर्ष अगाडि पनि भारतीय पक्षले त्यहाँ ट्रेन्च खनेको थियो’, उनले अगाडि भने–‘तर, त्यो ट्रेन्च सानो थियो । र, भत्किएपछि अहिले अग्लो बाँध जस्तो डिलसहितको ट्रेन्च पुनः बनाइएको छ ।’
    भारतले मनोमानी ट्रेन्च खनेको खबर बाहिरिएपछि शनिबार प्रदेश सांसद् वीरमान चौधरीसहित सशस्त्र प्रहरीको टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको छ । टोलीले निरीक्षण गर्दा दशगजाभन्दा एक सय मिटर पर भारतले आफ्नै भूमिमा ट्रेन्च खनेको पाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए । यद्यपि, ट्रेन्च बनाउँदा भारतले समन्वय नगरेको उनले जनाए । 
    ‘शिवरत्नपुर नजिक पनि कञ्चनपुरको पुनर्वास क्षेत्रको जस्तै ट्रेन्च खनिएको छ’, उनले भने–‘तर, हामीलाई यसको बारेमा भारतीय पक्षले जानकारी गराएको छैन । यता र उताको वनको समन्वय भएको भए हामीलाई थाहा भएन ।’ 
    भारतले दशगजा नजिक आफ्नै भूमिमा कुनै पनि संरचना बनाए पनि नेपाली पक्षसंग समन्वय गर्न आवश्यक रहेको बताइन्छ । तर, कञ्चनपुरतर्फ मनोमानी ढङ्गले ट्रेन्च खनेको भारतले शिवरत्नपुर नजिक ट्रेन्च खन्दासमेत त्यस्तै व्यवहार दोहो¥याएको छ ।  
    भारतले ट्रेन्च खनेर बनाएको अग्लो डिलले शिवरत्नपुर गाउँ समस्यामा पर्ने कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । ‘पहिलेदेखि नै डुवान समस्या रहेको गाउँ ट्रेन्चका कारण थप डुवान हुन सक्ने भएकाले गाउँवासीले त्यसको विरोध गरेका छन्’, उउनले भने–‘शिवरत्नपुर यसअघि पनि डुवान हुदैं आएको ठाउँ हो ।’ 
    बर्खा याममा गाउँ डुवानमा पर्दा उक्त गाउँका स्थानीयले सुरक्षित घरमा आश्रय लिने गरेका छन् ।