Close This

काठमाण्डौं डीपीएलको प्लेअफमा 

आइतबार फागुन ५, २०७५/ Sunday 02-17-19
Paschim Today

पश्चिम टुडे, धनगढी ५ फाल्गुन । 
रुस्लान धनगढी प्रिमियर लिगमा ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौं गोल्डेन्स प्लेअफमा प्रवेश गरेको छ । 
    शनिबार काठमाण्डौं र विराटनगर किङ्ग्सबीचको खेल ओसिलो मैदानका कारण रद्द भएपछि अङ्क बाँडेको काठमाण्डौं बाँकी दुई खेल अगावै प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । खेल रद्द भएपछि काठमाण्डौं र विराटनगरले एक÷एक अङ्क बाँडेका थिए । तीन खेलबाट काठमाण्डौं पाँच अङ्ककका साथ शीर्ष स्थानमा छ । चार खेलबाट चार अङ्क प्राप्त गरेको विराटनगर चौथो स्थानमा छ । एक खेल खेल्न बाँकी रहेको विराटनगरको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहेको छ । 
    यसैगरी, शनिबार नै हुने घरेलु टिम धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल पनि हुन सकेन । पानीले पखालेको मैदानमा खेल नभएपछि दुवै टिमले एक÷एक अङ्क बाँड्न बाध्य भएका छन् । दुवै टिम अङ्क तालिकाको पुछारमा छन् । चारमध्ये अहिलेसम्म कुनै पनि खेल जित्न नसकेको सोमपाल कामी नेतृत्वको धनगढी स्टार्सको प्लेअफ पुग्ने सम्भावना अब सकिएको छ । एक अङ्कसहित तालिकाको पुछारमा रहेको धनगढी अब खेल्न बाँकी रहेको एक खेल जितेपनि अघिल्लो चरणमा प्रवेश गर्न सक्दैन । 
    यसैगरी, चार खेलबाट दुई अङ्क बटुलेको महेन्द्रनगर युनाइटेड पनि अप्ठ्यारो परिस्थितिमा छ । यद्यपि, अघिल्लो चरणमा प्रवेशका लागि झिनो सम्भावना कायम रहेको छ । महेन्द्रनगरले प्लेअफमा पुग्नको लागि अब विराटनगरको अन्तिम खेलमा भर पर्नु पर्नेछ । एक खेल खेल्न बाँकी रहेको विराटनगरले आफ्नो अन्तिम खेलमा लज्जास्पद् पराजय भोगेमा महेन्द्रनगरको सम्भावना बन्न सक्छ । तर, यसका लागि महेन्द्रनगरले आफ्नो अन्तिम खेल राम्रो रनरेटका साथ जित्न आवश्यक हुनेछ । यदि, महेन्द्रनगर पराजित भएमा काठमाण्डौं गोल्डेन्ससंगै सीवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स र विराटनगर पनि प्लेअफमा पुग्नेछन् । 
    प्रतियोगितामा अहिलेसम्म खेलेको दुई खेल जित्दै अत्तरिया चार अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । तीन खेल खेलेर दुईमा जित निकाल्दै चार अङ्क पाएको रुपन्देही च्यालेञ्जर्स तेस्रो स्थानमा छ । 
    लगातार तीनदिनसम्म भएको वर्षाले शनिबारको खेल प्रभावित भए पनि आइतबारदेखि खेल सुचारु हुने धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ । शनिबार घाम लागेर मैदान सुकेकाले आइतबार विहान ८ बजेबाट बाँकी खेल सञ्चालन हुने एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।