६० प्रतिशत योजनाको काम हुँदै    

आइतबार फागुन ५, २०७५/ Sunday 02-17-19
Paschim Today

धनगढी, ५ फागुन । कैलालीको कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार हसुलियामा सम्पन्न भएको छ । 
    गाउँपालिका कार्यालयको आयोजना र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्तिक मसान्तमै पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गर्नु पर्ने भए पनि पहिलो चौमासिकमा आयोजनाको प्रगति नभएकाले ढिलो हुन गएको कैलारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । 

 


    मंसिर महिनाबाटमात्रै योजनाहरु कार्यान्वयनमा गएकाले ढिलो गरी सार्वजनिक सुनुवाइ गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । उनले सम्पूर्ण वडाहरुको सार्वजिक सुनुवाइ आउँदो चैत मसान्तसम्म सम्पन्न गरी सक्ने र चालु आर्थिक वर्षमा कुल १२ वटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने जनाए । 
    कैलारी गाउँपालिकामा चालु आर्थिक वर्षमा तीन सय योजनाहरु रहेका छन् । जसमध्ये दुई सय ९२ योजनाको पत्राचार भइसकेको र आठ वटा योजनाको पत्राचार गर्न बाँकी रहेको छ । एक सय ७९ योजनाहरु उपभोक्तामार्फत सञ्चालन भइरहेको र कालोपत्रेका आठ वटा योजनाहरु टेण्डर प्रक्रियामार्फत सञ्चालित छन् । १२ वटा योजना विभिन्न संघसंस्थामार्फत र ११ वटा योजना गाउँपालिकाको विभिन्न शाखामार्फत सञ्चालन भइरहेको जनाइएको छ । यसैगरी, केही योजना वडा कार्यालयमार्फत सञ्चालनमा रहेका छन् । ४३ वटा योजनाको पहिलो किस्ता निकासा भइसकेको सार्वजनिक सुनुवाइमा जनाइएको छ । 


    चालु आर्थिक वर्षमा ३८ करोड २९ लाख ४७ हजार रुपैयाँको गाउँपालिकाको कार्यालयले योजना बनाएको थियो । तर, हालसम्म १७ करोड ६२ लाख ५० हजार ४६५ रुपैयाँमात्र बजेट अख्तियारी आएको र त्यसमध्ये हालसम्म ११ करोड ६७ लाख ६१ हजार रुपैयाँ खर्च भइसकेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । 
    चालु आर्थिक वर्षमा सञ्चालित सबै योजना जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएको अध्यक्ष चौधरीले जनाए । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा योजना कार्यान्वयनमा यसवर्ष पछाडि परेको उनको भनाइ थियो । कैलारी गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षमा यहि अवधिसम्म ८० प्रतिशत योजनाको काम सञ्चालन गरिसकेको थियो । यो वर्ष हालसम्म ६० प्रतिशत योजना चालु अवस्थामा रहेको अध्यक्ष चौधरीले जानकारी दिए । 
    यसैगरी, कैलारी गाउँपालिकाको विभिन्न वडाबाट चालु आर्थिक वर्षको हालसम्म संकलन भएको राजस्व पनि प्रस्तुत गरिएको छ । वडा नम्बर १ बाट दुई लाख ५२ हजार, दुई बाट दुई लाख १४ हजार, ३ बाट पाँच लाख पाँच हजार, ४ बाट दुई लाख १८ हजार, ५ बाट ९७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, वडा नम्बर ६ बाट दुई लाख ५३ हजार, ७ बाट एक लाख ३७ हजार, ८ बाट तीन लाख ४२ हजार र वडा नम्बर ९ बाट दुई लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ । 
    गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिकाको शिक्षा शाखा, पशु सेवा शाखा, महिला बालबालिका शाखा, खानेपानी तथा सरसफाई शाखा, स्वास्थ्य शाखा र कृषि शाखाले सञ्चालन गरेको कार्यक्रम र हालसम्मको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए । 
    उनले ऐलानी जग्गाको लालपूर्जा वितरण र वनसम्बन्धी कानून केन्द्र र प्रदेश सरकारले अहिलेसम्म नबनाएकाले यसतर्फ स्थानीय सरकारलाई काम गर्न कठिनाइ रहेको बताए । ‘संघ र प्रदेशले कानून बनाइसकेपछिमात्रै नबाझिने गरी स्थानीय सरकारले कानून बनाउने व्यवस्था छ’, उनले भने–‘त्यसैले कानून नभएकाले ५० वर्षदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएकालाई पनि हामीले लालपूर्जा दिन सकेका छैनौं ।’
    कार्यक्रममा वडा नम्बर ४ का ठागुप्रसाद चौधरी, दख्खिन टेढीका भलमन्सा बाँधुराम चौधरी, तीर्थ नेपाल, हसुलिया बजार व्यवस्थापन समितिका अध्यक्ष नेपालु चौधरी, पवेराका बुधराम चौधरी, वडा नम्बर ३ का रमेश चौधरी लगायतले विविध सवालमा जिज्ञासा राखेका थिए । यसैगरी, नेपाली काङ्ग्रेसका खेम चौधरीले विभिन्न सुझाव र मागसहित गाउँपालिकाका अध्यक्षलाई लिखित ज्ञापनपत्र बुझाए । सबैको जिज्ञासाको जवाफ गाउँपालिकाका अध्यक्ष चौधरीले दिएका थिए । 
    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द भट्ट, सूचना अधिकारी योगेन्द्र चन्द, विभिन्न शाखाका कर्मचारी, सबै वडाका वडा अध्यक्ष र गाउँपालिकावासीको उपस्थिति रहेको थियो ।