Close This

चमेलियाको विद्युत उत्पादन  दैनिक ६ घण्टा मात्रै

आयोजना हस्तान्तरण हुन सकेन

शनिबार फागुन २६, २०७४/ Saturday 03-10-18
Paschim Today

पश्चिम टुडे,दार्चुला, फागुन २६ । चमेलिया जलविद्युत आयोजनाले दैनिक ६ घण्टा विद्युत उत्पादन गरिरहेको छ । बिहान ६ देखि ९ बजेसम्म र बेलुकी ६ देखि ९ बजेसम्म गरी दैनिक ६ घण्टा विद्युत उत्पादन भइरहेको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको भारप्रेषण केन्द्रको प्रत्यक्ष निगरानीमा विद्युत उत्पादन कार्य भइरहेको छ । बिहान र बेलुकाको समयमा बढी विद्युत खपत हुने भएकाले बिहान र बेलुका ३र३ घण्टा उत्पादन भइरहेको छ । १५/१५ मेगावाटका दुइटा टर्वाइनबाट दैनिक २५ देखि ३० मेगावाट विद्युत उत्पादन भइरहेको आयोजना प्रमुख दाहालको भनाइ छ ।
अहिले चमेलिया नदीको पूरै पानी जम्मा गरेर विद्युत उत्पादन भइरहेको छ । विद्युत उत्पादन हुने समयबाहेक अन्य समय नदीमा पानी छोडिएको छैन । बिटुलेस्थित बाँधस्थलमा पानी जम्मा गरी आवश्यक परेको बेला विद्युत उत्पादन भइरहेको छ ।
सुख्खायाम भएकाले नदीमा पानीको सतह निकै कम छ । चमेलियामा अहिले बगिरहेको पानीबाट बढीमा ६–७ मेगावाट मात्र विद्युत उत्पादन हुन सक्छ । तर नदीको पानी बाँधस्थलमा जम्मा गरी आवश्यक भएको बेला पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।


आयोजना हस्तान्तरण हुन सकेन
सात नम्बर प्रदेशमा निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजना चमेलिया निर्माण कम्पनीले हस्तान्तरण गरेको छैन । जलविद्युत आयोजना निर्माणमा संलग्न चिनियाँ र कोरियाली कम्पनीले आयोजना हस्तान्तरण गर्न बाँकी छ । आयोजनामा सिभिल निर्माणमा संलग्न चीनको सीजीजीसी कम्पनी र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यमा संलग्न कोरियाको केएनएचपी कम्पनीले हस्तान्तरण गर्न बाँकी रहेको हो । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्व रहेको चमेलिया जलविद्युत आयोजना  निर्माण सम्पन्न भएपछि दुवै कम्पनीले हस्तान्तरण गर्नुपर्नेछ ।
आधारभूत कार्यहरु सकिएपछि तत्काल विद्युत उत्पादन सुरु गरिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । केही कागजी प्रक्रिया र सामान्य कार्य मात्र पूरा हुन बाँकी भएकाले तत्काल औपचारिक उद्घाटन मात्र गरिएको उनको भनाई छ ।
अहिले आयोजनास्थल बलाँचमा रहेको पावरहाउस अगाडिको आगन कंक्रिट गर्ने कार्य भइरहेको छ । सिभिलतर्फको यो कार्य चिनियाँ कम्पनीको जिम्मामा छ । यसैगरी पावरहाउसभित्रै इलेक्ट्रोमेकानिकल र हाइडूोमेकानिकल कार्यको पनि फिनिसिङ भइरहेको छ ।
पावरहाउस अपरेट गर्नका लागि नयाँ जनशक्तिलाई सिकाउने कार्य समेत भइरहेको आयोजना दाहालले बताए । आयोजनाको निर्माणमा संलग्न दुवै कम्पनीहरुले निर्माण कार्य सम्पन्न भएपछि सम्पूर्ण कार्यको प्रगति विवरण प्राधिकरणलाई बुझाउनुपर्ने उनको भनाई छ । सबै उपकरण प्रयोगको अवस्था सहितको विवरण प्राधिकरणलाई बुझाएसँगै हस्तान्तरण कार्य सम्पन्न हुनेछ । आयोजना निर्माणमा संलग्न कोरियाली कम्पनी केएनएचपीसँगको सम्झौताअनुसार हाइडूोमेकानिकल र इलेक्टूोमेकानिकल कार्यमा आयोजना हस्तान्तरण भएपछि एक वर्षसम्मको अवधिमा कुनै समस्या आए कम्पनी जिम्मेवार हुन्छ । एक वर्षको डिफेक्ट लायबिलिटी पिरियड अर्थात डिएलपी हुने भएकाले यसको गणना हस्तान्तरण भएको दिनदेखि हुने आयोजन प्रमुख अजयकुमार दाहालको भनाई छ ।
आयोजनामा संलग्न कोरियाली कम्पनीले प्राधिकरणलाई हस्तान्तरण गर्न अझै एकदेखि डेढ महिनासम्म लाग्ने उनले बताए । सिभिल निर्माणमा संलग्न चिनियाँ कम्पनीले पनि केही हप्ताभित्रै आफ्नो कार्य पूरा गर्दैछ ।