Close This

धनगढीको बसपार्क निर्माणमा ढिलाई

आन्दोलन गर्ने चेतावनी

बुधबार फागुन ३०, २०७४/ Wednesday 03-14-18
Paschim Today

कमल सावद, धनगढी, फागुन ३० । निर्माण कम्पनीको लापरवाहीका कारण धनगढी बसपार्कको निर्माणमा ढिलाई भएको छ । निर्माण कम्पनीले बिभिन्न बहानामा निर्माण कार्यमा  ढिलाई गरेको स्थानीयले आरोप लगाएका छन् । यही गतिमा निर्माण कार्य भए निर्धारित समयभन्दा निकै ढिलो निर्माण सम्पन्न हुने देखिएको छ ।
प्रदेश नम्बर सातकै प्रमुख बसपार्क निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बसपार्क निर्माण अबिलम्ब सुरु गर्नुपर्ने बताएका छन ।  होली अघि रोकिएको निर्माण कार्य अझै सुरु हुने संकेत नदेखिएपछि निर्माण कम्पनीलाई दवाव दिन स्थानीय बासिन्दाले आन्दोलन गर्ने चेतावनी दिएका छन ।  
राजेन्द्र—रुद्रावती जेभीले धनगढी बसपार्कको निर्माणको ठेक्का पाएको हो । २०७४ असार २१ गते सरकार र निर्माण कम्पनीबीच बसपार्क निर्माणको सम्झौता भएको हो । सम्झौता अनुसार २०७५ भाद्र २२ गते निर्माण सम्पन्न भईसक्नुपर्नेछ । तर निर्माण सुरु भएको ८ महिनमा ३५ प्रतिशत काम भएको आयोजनाले बताएको छ । तर निर्माण कम्पनीले वेवास्ता गर्दा निर्धारित समयमा निर्माण पुरा हुन सक्ने अवस्था नरहेको स्थानीय  उज्जल साउदले बताए  ।  बसपार्क क्षेत्रीय सघन शहरी विकास आयोजनाको १ करोड १९ लाख ४० हजारको लागतमा निर्माण भैरहेको हो । बसपार्क निमार्ण पुरा भएमा धनगढी क्षेत्रका बस पार्किङ्गका लागि सहज हुने यातायात व्यसायीले बताएका छन ।  सुदूरपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष पदमराज सापकोटाले निर्माण कम्पनीले निर्माणमा लापरवाही गरिरहेको गुनासो गरे । 
स्थानीय बासिन्दा र यातायात व्यवसायीहरुले निर्माण कम्पनीले निर्माणमा लापरवाही र ढिलासुस्ती गरिरहेको आरोप लगाएपनि निर्माण कम्पनी राजेन्द्र रुद्रावती जेभीका किशोर ठकुराठीले निर्माणमा ढिलाई नभएको दावी गरे । उनले बसहरु जथाभावी पार्किङ गरिएका कारण निर्माणमा ढिलाई भएको बताए ।