सुकुम्वासीलाई बस्ती उठाउन दवाव

हामीलाई बिचल्लीमा पार्न खोजियो : सुकुम्बासी

शनिबार चैत ३, २०७४/ Saturday 03-17-18
Paschim Today

पश्चिम टुडे,धनगढी, चैत्र ३ ।  आफै जग्गा कब्जा गरेर बस्ती बसाएका नेताले ठाउँ खालीगर्न दवाव दिएको भन्दै कैलाली हरैयाका सुकुम्वासी आक्रोसित भएका छन् । कैलालीको गोदावरी नगरपालिका अन्तर्गत हरैयामा पूर्व पश्चिम राजमार्गसंगै रहेको रणबहादुर शाहको ३५ बिगाहा जग्गा २०६३ सालमा नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले नै कब्जा गरेर सुकुम्वासीहरुको बस्ती बसाएका थिए ।  अहिले जग्गा खाली गर्न त्यस क्षेत्रका जनप्रतिनिधिले दवाव दिएका छन् ।  माओवादी केन्द्रबाट कैलाली निर्वाचन क्षेत्र ४ बाट विजयी प्रतिनिधि सभाका सांसद लेखराज भट्टले उक्त जग्गा खाली गर्न दवाव दिएको सुकुम्बासी शिविरका अध्यक्ष सञ्जु चौधरीले बताए ।
कब्जामा रहेको उक्त जग्गा केहि समय अगाडी पोखराका व्यापारीहरुले खरिद गरेका थिए । खरिद प्रकृयामा माओवादीका प्रभावशाली नेताहरु आफै सक्रिय भएका थिए । सुकुम्वासी र गरीवका नेता भन्नेहरु अहिले हुकुमवादी भएर निस्कीए । चौधरीले भने, ’पहिले हाम्रो उचित व्यवस्थापन गर्नुस अनि मात्रै खाली गर्छौ भन्दा नेता भट्टले तिमिहरुको व्यवस्थापन भैहाल्छ पहिला जग्गा खाली गर ।“ भनेर दवाव दिने गरेको बताए । जग्गा खाली गर्न नेता भट्टले माओवादी केन्द्रका जिल्ला सदस्य गौरी जोशीलाई निर्देशन दिएका छन् । अध्यक्ष चौधरीले भने, ’गौरी जोशी आएर हामीलाई पटक पटक जग्गा खाली गर्न धम्की दिने गरेका छन् ।“ जिल्लामा हुने विभिन्न सभा, सम्मेलन र आन्दोलनमा सहभागी हुन शिविरका मानिसहरुलाई दवाव दिने गरेको अध्यक्ष चौधरीले बताए । उनले भने, जिल्लामा हुने सबैखाले आन्दोलनमा सहभागी भईयो तर अहिले आएर हामीहरुलाई तिनै नेताले विचल्लीमा पार्न खोजे । आन्दोलनमा मात्रै सहभागि भएर उनिहरुलाई सुख थिएन, पार्टीलाई मासिक लेवी समेत तिर्नु पथ्र्यौ हैसियत अनुसार ५० रुपैया देखि सय रुपैयासम्म लेवि तिर्नु पथ्र्यो । शिविरकी धर्मादेवि जोराले अहिले आएर उठिबास लाउन थियो त पहिले नै जंगलमै छोडेको भए हुन्थ्यो भन्दै गुनासो गरिन । उनले आफ्नो स्वार्थको लागि पार्टीको झण्डा बोकाउने देखि जुलुश आन्दोलनमा सहभागि गराए अहिले राती राती आएर जग्गा खालीगर भनेर धम्की दिने गरेको बताईन ।’
गत महिना उक्त जग्गा पोखराको सौभाग्य रियल स्टेट एण्ड हाउजिङ्ग प्रालि र प्रालिका तीन जना सदस्यका नाममा मालपोत कार्यालय कैलालीबाट नामसारी भएको थियो ।करिब ६० करोड रुपैयामा उक्त जग्गाको किनबेच भएको बताइएको छ । मालपोत कार्यालयमा भने ३९ करोड ८ लाख ८४ लाख रुपैयामा कारोबार भएको लिखतमा उक्त जग्गा पास भएको देखिन्छ । सबिना मल्ल शाहको नाममा रहेको ७ बिघा १३ का जग्गा सौभाग्य रियल स्टेट एण्ड हाउजिङ्ग प्रालि नाममा नामसारी भएको छ । उक्त जग्गा १६ करोड २० लाख ८४ हजार रुपैयामा कारोबार भएको मालपोत कार्यालयले जनाएको छ । मल्ल बिक्री भएको सबै जग्गाका मालिक रणबहादुर शाहकी श्रीमती हुन् ।
यस्तै शाहको नाममा रहेको १८.७३ का जग्गा ७ करोड ८० लाखमा कारोबार भएर नामसारी भएको मालपोत कार्यालयले जनाएको छ । सुदर्शन कुमार मल्लको नाममा रहेको जग्गा सिल्मिया बसेल, अम्बिका शाहको नाममा रहेको जग्गा भावना बसेल र अरुणकुमार हमालको नाममा रहेको जग्गा सुप्रिया बसेलको नाममा नामसारी भएको देखिन्छ ।
मालपोत कार्यालयका अनुसार सुदर्शनको नाममा रहेको ८८.५९ का जग्गा ७ करोड रुपैया, अम्बिकाको नाममा रहेको ९० का ८ करोड १० लाख र अरुणका नाममा रहेको ८१.४९ का जग्गा ७ करोड रुपैयामा कारोबार भएको छ । सिल्मिया, भावना र सुप्रिया सौभाग्य रियल स्टेट एण्ड हाउजिङ्ग प्रालिका सदस्य रहेको बताइएको छ ।

 

मैले दवाव दिएको छैन : भट्ट
कैलालीको गोदावरी नगरपालिका अन्तर्गत हरैयामा सुकुम्बासीले कब्जा गरी बसीराखेको ३५ विगाहा जग्गा खाली गर्न आफुहरुले दवाव नदिएको प्रतिकृया नेकपा माओवादी केन्द्रका नेताहरुले दिएका छन् । माओवादी केन्द्रबाट कैलाली निर्वाचन क्षेत्र ४ बाट विजयी प्रतिनिधि सभाका साँसद लेखराज भट्टले उक्त जग्गा खाली गर्न दवाव दिएको माओवादी केन्द्र प्रचार विभाग प्रमुख ओमविक्रम भाट (सरल) द्वारा हस्ताक्षर गरीएको विज्ञप्ती सार्वजनिक गरीएको छ  ।  हरैयाको सुुकुम्वासी वस्ती माओवादीले बसाएको थियो । त्येसैले ’आफैले बसाएको वस्ती आफैले उठाउनु कल्पन्ना भन्दा बाहिरको बिषय हो ।“ विज्ञप्तीमा उल्लेख गरीएको छ ।  पाटीका कुनै नेताले दबाब दिएको र भुमिका खेलेको पाइए छानविन गरी कारवाही गरिने समेत विज्ञप्ती  माफर्त जानकारी गराईएको छ । तत्कालिन समयमा रणबहादुर शाहको नाममा रहेको उक्त जग्गा केहि  समय अगाडी पोखराका व्यापारीहरुले खरिद गरेका 
थिए । खरिद प्रकृयामा माओवादीका प्रभावशाली नेताहरु आफै सक्रिय भएका थिए ।