डोटी जिल्ला अस्पतालमा दरवन्दीका डाक्टर हाजिर

सोमबार चैत ५, २०७४/ Monday 03-19-18
Paschim Today

पश्चिम टुडे, डोछी, चैत्र ५ । डोटी जिल्ला अस्पतालमा सरकारी दरवन्दीका डाक्टर हाजिर भएर बिरामीको उपचार सेवा सूचारु गरेका छन् । अस्पतालमा भर्खरै लोक सेवा उत्तिर्ण गरेका एमविविएस डक्टर भुषण मिश्र चैत्र २ गते हाजिर भएका छन् । गत फाल्गुन ६ गते अस्पतालमा कार्यरत डाक्टर जितेन्द्रकुमार सिंहमाथि स्थानीयबाट कुटपिट भएपछि जिल्लामा रहेका सबै डाक्टरहरुले जिल्ला छोड्दा करिब अढाई हप्तासम्म उपचार सेवा प्रभावित भएको थियो । निक साईमन इन्स्टिच्यूटले खटाएका डाक्टरले जिल्लामा सेवा दिईरहेका थिए ।
त्यस्तै यसपूर्व पनि संस्थामार्फत जिल्ला अस्पतालमा काम गरिसकेका र भर्खरै लोक सेवा उत्तिर्ण गरेका एमविविएस डक्टर धनश्याम भट्टलाई पनि स्वास्थ्य सेवा विभागले जिम्मेवारी तोकिसकेको अस्पताल विकास समिति अध्यक्ष सोपान बोहराले जानकारी दिए । यद्यपी अस्पतालमा हाजिर भएका छैनन् । एमडिजिपी डक्टर गिरिस अवस्थी र एमविविएस डक्टर विनोद तामाङ पनि जिल्ला अस्पतालमा कार्यरत छन् । डक्टर तामाङ् केहि दिनका लागि घर बिदामा छन् । यि दुबै जना निक साईमन इन्सच्यूटबाट खटाईउका डाक्टर हुन ।
उपचारका लागि अस्पताल पुगेका एक महिलाको उपचारका विषयमा डक्टर र स्थानीयबीच विवाद भएपछि कुटपिट भएको थियो । 
घटनाका बखत जिल्ला बाहिर रहेका निक साईमन इन्सच्यूट बाट अस्पतालमा कार्यरत डाक्टर गिरिस अवस्थी फाल्गुन २५ गते अस्पतालमा हाजिर भए पनि एक्लैलाई उपचार सेवा दिन हम्मेहम्मे परेको थियो ।  अब जिल्ला अस्पतालमा डक्टर आईसकेकाले अस्पतालले प्रदान गर्ने सबै सेवाहरु सूचारु भएको र सबै सर्वसाधारणलाई सेवा लिन आउन जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख रामस्वार्थ यादवले आग्रह 
गरे । डोटी जिल्ला अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, प्रसुती सेवा, अन्तरङ्ग सेवा, एक्स–रे, भिडियो एक्स–रे, हात खुट्टा भाँचिएको प्लास्टर, खोप, सुरक्षित गर्भपतन, कुपोषण उपचार, रक्त सञ्चार सेवा, शल्यक्रिया, कुष्ठरोग उपचार सेवा, क्षयरोग उपचार सेवा, कलेजो, किड्नी चेकजाँच सेवा, एचआईभी परीक्षण सेवा लगाएतका महत्वपूर्ण सुविधाहरु रहेको ल्याब टेक्निसियन संगीत श्रेष्ठले बताए ।
हर्निया, हाईड्रोशिल र चाँडै बिरामी पुगेमा एपेन्डि साईटका बिरामीहरुको समेत उपचार गरिने डाक्टर गिरिस अवस्थीले जानकारी दिए । जिल्ला अस्पतालमा अनुभवी डाक्टरहरु आएसँगै उपचार सेवा लिन आउने बिरामीको चाप पनि बढेको छ । आइतबार मात्रै ७१ जना नयाँ बिरामीहरुले अस्पतालबाट उपचार सेवा लिएका छन् । जिल्ला अस्पताल विकास समिति अध्यक्षमा सोपान बोहराले जिम्मेवारी पाए यता अस्पताल परिसरमा सरसफाई, खानेपानीको व्यवस्था, कर्मचारीको खटनपटन लगाएतमा पनि सुधार हुँदै गएको छ ।