Close This

सेती अंचल अस्पतालमा सुधार कहिले ?

मंगलबार चैत ६, २०७४/ Tuesday 03-20-18
Paschim Today

सेती अंचल अस्पताल लथालिङ्ग अबस्थामा छ । बिरामी निको पार्नका लागि आउने अस्पताल आफै बिरामी भएपछि के हालत होला ? अहिले यही अबस्था रहेको छ । सेती अंचल अस्पताल यस प्रदेशकै एक मात्र रिफरल अस्पताल हो । यस अस्पतालमा जनशक्ति , भौतिक संरचना , आवश्यक उपकरण र चिकित्सकको अभावका कारण विरामीले उपचार पाउन निकै सास्ती भोग्नु परेको छ । अस्पताल जीर्ण र अब्यबस्थित भएको छ । सर्वसाधारणले अस्पतालमा आएपछि उपचार पाउने प्रकृयाका बिषयमा जानकारी पाउनै कठिन छ । अस्पतालमा चाप बढेपछि बिरामीले बेड भर्नाको समय समेत छोट्याउनु परेको छ, । बेडको अभाव भएपछि नजिकका बिरामीलाई दोश्रो दिन फर्किने गरि घर पठाउने गरिन्छ । अहिले गर्मि बढेकाले बिरामी बढेका छन् । दैनिक ३ सयको हाराहारीका बिरामीको नाम दर्ता हुने गरेको छ ।
अस्पताल नै अस्तब्यस्त भएपछि त्यसको मार बिरामीमा परेको छ । बिरामीले नामदर्ता   गर्न र ऐक्सरेको लागि पैशा बुझाउन घण्टौ लाईनमा बस्नुपरेको छ । लाईनमा बस्नुपर्दा बिरामी ढल्ने समस्या समेत देखिएको छ । बढ्दो गर्मि संग बिरामीको चाप बढ्दा चेकजाँचको लागि आउने बिरामीले पालो समेत पाउन सकेका छैनन् । अंचल अस्पतालमा पालो नपाउने भएपछि बिरामीहरु निजि क्लीनिक धाउने गरेका छन् । जस्का कारण बिरामीको ढाड सेकाई हुने गरेको छ । सम्वन्धीत रोगका बिरामीलाई चेकजाँच गर्ने संख्याको सिमा तोकिएकाले पनि एक्सरे, ल्याव परिक्षणका लागि बिरामी निजिक्लीनिकमै जानुपर्ने बाध्यता रहेको छ ।
यहाँ घुमाउरो तरीकाले ति बिरामीलाई निजिक्लीनिक पठाउने काम हुन्छ जहाँ सेती अंचल अस्पतालका डक्टरहरु जोडिएका हुन्छन् । अंचल अस्पतालमा थोरै समय देखिने डाक्टरहरु अधिकांस समय निजिक्लीनिकमै हुन्छन् । उनिहरुलाई सेती अंचल अस्पतालको डिउटी भन्दा निजि क्लीनिक जानुको हतारो हुन्छ । अस्पतालकै कर्मचारीहरुले बाहिर निजि क्लीनिकहरु संचालन गरेका छन् । कतिपय क्लीनिकमा अस्पतालका डाक्टरहरुको पनि लगानी रहेको   छ । त्यस कारण पनि अस्पतालमा सास्ती दिएर बिरामीलाई निजिक्लीनिक जान बाध्य पार्ने गरेको गुनासो आउने गरेको छ ।  
हेर्दै डरलाग्दो ४६ बर्ष अघि निर्माण भएको अस्पतालको पुरानो जीर्ण भवनमा सुत्केरी सेवा संचालनमा रहेको छ । सरसफाइ पनि छैन् ।  दिउंसै वत्ति वाल्नुपर्ने यो भवन जुनसुकै समयमा पनि भत्कीन सक्ने र ठूलो दुर्घटना हुन सक्ने अस्पतालकै कर्मचारी आशंका ब्यक्त गर्छन् । ०६० सालमा निर्माण भएको अर्को भवन पनि ब्यवस्थित हुन सकेको छैन् । नयां वनेको भवनमा पनि प्रशस्त ठाउं छैन् । शौचालय र सरसफाइ जस्ता सामान्य सुबिधा समेत अस्पतालमा उपलब्ध नभएपछि बिरामीले सास्ती भोग्नु परेको छ ।
८ वटा विभाग भएको अस्पताल ०३७ सालमा कायम भएको दरवन्दीको भरमा अहिलेसम्म संचालन भइरहेको छ । ४ दशक अघि र अहिलेको स्थितिमा निकै भिन्नता आएपनि अस्पतालको भौतिक संरचना , दरवन्दी , सेवासुबिधा , चिकित्सकीय उपकरण सवै कुरामा अस्पतालले अभाव झेलीरहेको छ । थोरै जनशक्तिले गर्न सक्ने भन्दा निकै वढी सेवा दिइरहेका छन् । बिरामीको चाप दश बर्ष यता तुलनात्मक रुपमा ५० गुना बढेको छ तर सेवा सुबिधा जनशक्ति र भौतिक संरचना पुरानै अवस्थामा छन् । 
स्वीकृत ५० वेड र अस्पताल विकास समितिले थप गरेको ७५ वेड सहित १ सय २५ शैयाको सेती अंचल अस्पतालमा पानी र विजुली जस्ता सामान्य सुबिधा समेत उपलब्ध छैनन् । अहिले अस्पतालमा २८ जनाको दरवन्दी मध्य १५ जना मात्रै हाजिर रहेका छन् । चिकित्सा परिचालन अन्तरगतका १० जना डाक्टर रहेका छन् । अस्पतालमा बिभिन्न स्वास्थ्य प्राविधीक बिषयको पठनपाठन गर्ने क्याम्पसबाट ओजेटीका लागि आएका विद्यार्थीहरुको भिडभाड देखिन्छ । उनिहरुले गर्ने ब्याबहारबाट वाक्क बनाउने गरेको बिरामीहरु बताउँछन् । समग्रमा सेती अंचल अस्पतालको अबस्था टिठ लाग्दो छ । बिरामीले सास्ती मात्रै पाएका छन् । यो अबस्थामा सुधार कहिले होला ?