Close This

सुशासन परियोजनाको क्षमता विकास तालिम सम्पन्न

धनगढी उपमहानगरपालिका र कैलारी गाँउपालिकाका बिभिन्न नागरिक संस्थाका २४ जनाको सहभागिता

मंगलबार चैत ६, २०७४/ Tuesday 03-20-18
Paschim Today

पश्चिम टुडे, धनगढी, चैत्र  ६ । ग्राम विकास तथा अनुसन्धान केन्द्र र सेसीको साझेदारीमा सञ्चालित सुशासन परियोजना अन्तर्गत धनगढीमा जारी सुशासन र जवाफदेहितामा रचनात्मक नागरिक संलग्नता र प्रबिधिको दिगो प्रयोग सम्बन्धि क्षमता विकास तालिम सोमवार सम्पन्न भएको छ । तालिमको समापनमा समारोहका प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले स्थानीय तह र सेवा प्रदायक निकायहरुमा नागरिकको संलग्नता र सहभागितामामा मात्र सुशासन र जवाफदेहिता संभव हुने बताउनुभयो । प्रजिअ रिजालले तालिममा सिकेका कुराहरुलाई व्यबहारिक जीवन र आफ्नो कार्यक्षेत्रमा लागु गर्न सहभागीहरुलाई आग्रह गरे ।
तालिममा सहभागीहरुलाई प्रमुख अतिथि प्रजिअ रिजाल, बिशिष्ट अतिथि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, सेसीका क्षेत्रीय संयोजक महेन्द्र शाहीले प्रमाण पत्र प्रदान गरे । ग्राम विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष दीर्घराज उपाध्यायको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सहभागीका तर्फबाट रमिता चौधरीले मन्तव्य व्यक्त गरेकी थिईन । तालिममा सहभागीहरु लाई धनगढी उपमहानगरमपालिकाकी  उपप्रमुख सुशिला मिश्र भट्ट, सूचना अधिकारी  सुरेन्द्र सिंह कार्की, सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करिया प्रधानले बिभिन्न विषयमा तालिम दिएका थिए । तालिममा स्थानीय सरकार र शासन प्रकृया सञ्चालन, सार्वजनिक सेवा, नागरिक संलग्नता, सामाजिक जवाफदेहिता, खुला सरकार, खुला बजेट, सार्वजनिक गुनासो सुनुवाई, सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि प्रबिधिको प्रयोग लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।
तालिममा कैलालीको धनगढी उपमहानगरपालिका र कैलारी गाँउपालिकाका बिभिन्न नागरिक संस्थाका २४ जनाको सहभागिता रहेको थियो ।