Close This

बझाङ्गमा खानेपानीमा लगानी बालुवामा पानी

बुधबार चैत ७, २०७४/ Wednesday 03-21-18
Paschim Today

बझाङ,७ चैत । 
बझाङको मष्टा गाँउपालिका कोटदेवल रनाडाका स्थानीय वासीन्दाहरु खानेपानीका लागि राति २ बजे सम्म कुवामा बस्ने गरेका छन् । स्थानीय धाराबाट पानी नआउने भएपछि कुवाको पानी खानुपर्ने बाध्यता छ । कुवामा पानी निकै कम आउने भए पछि राति २र३ बजेसम्म पानीको कुवा कुरेर बस्नुपर्छ ।
यो समस्या यहाँका स्थानीयहरुको बर्षौँ देखिको हो । झन्डै एक सयभन्दा बढी परीवार रहेको कोटदेवलका स्थानीयले कुवाको पानी प्रयोग गर्दै आइरहेका छन् । खानेपानीको समस्या समाधानका लागि तत्कालीन कोटदेवल गाविसबाट र जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु बाट झन्डै २ करोड भन्दा बढी बजेट सकिएको भए पनि यो लगानी बालुवामा पानी जस्तै भएको स्थानीय कौसिल्लादेवी सिंहले बताए ।
उनका अनुसार खानेपानीका योजनाहरु तत्कालीन गाविस र वडामा पटक–पटक आए पनि दिगो नहुने बताए । नुहाउनको लागि गाई, भैँसीलाई पानी खुवाउनको लागि १ घन्टा भन्दा टाढा रहेको पातल गाडमा जानुपर्ने बाध्यता रहेको सरस्वती माविका शिक्षक आनन्द कुमार सिंहले बताए । उनले विषेश गरेर वृद्ध वद्धाको लागि र एकल महिलाहरुको लागि पानीको निकै समस्या भएको बताए ।
कुवाको पानी आधा घण्टा कुरेर ५ लिटर पानी स्थानीयहरुले भर्ने गरेका छन् । २०७२ सालमा जिल्ला खानेपानी कार्यालयबाट २६ लाख बराबरको खानेपानीको आयोजना परेको स्थानीयले बताएका छन् । त्यो आयोजनाबाट खानेपानीका धारा निर्माण भए पनि धारा बाट भने पानी नझरेको उनीहरुको भनाई छ । रनाडाका लागि मात्रै खानेपानी मर्मतका लागि बर्षेनी डिभीजन कार्यलयले–२ लाख जति रकम छुट्याइएको जिल्ला खानेपानी कार्यालयले जनाएको छ ।