Close This

छोटी भन्सार कार्यालय एक दशक देखि बन्द

सुरक्षाकर्मी र तस्करहरुको मनपरी

बिहीबार चैत ८, २०७४/ Thursday 03-22-18
Paschim Today

दार्चुला, ८ चैत । 
दार्चुलाको मुख्य भन्सार कार्यालय झुलाघाट अन्तर्गतका तीनवटा छोटी भन्सार कार्यालयहरु एक दशकदेखि बन्द छन् । नेपालमा चलेको सशस्त्र द्वन्द्वका क्रममा ०५८ सालतिर तिङ्करको सितापुल, दत्तु र जौलजिबी छोटी भन्सार कार्यालयहरु बन्द भएका हुन् ।
सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक भन्दा बढी समय बितिसक्दा पनि छोटी भन्सार कार्यालय पुनःस्थापित भएका छैनन् । भन्सार कार्यालय पुनःस्थापित नहुँदा चोरी निकासी बढ्नुका साथै सरकारी राजश्वसमेत गुमिरहेको छ ।
जौलजीवी छोटी भन्सार कार्यालय पहिले सञ्चालनमा रहे पनि माओवादी जनयुद्ध सुरु भएसँगै बन्द भएको स्थानीय व्यापारी पदमबहादुर चन्दले बताए । बन्द छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा स्थानीय व्यापारीहरु राजस्व तिर्न इच्छुक भएपनि सरकारी राजस्व गुम्ने गरेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकेन्द्रसिंह धामीको भनाइ छ ।
दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको छोटी भन्सार कार्यालय दार्चुलामा मात्रै हाल भन्सार तिरेर सामानहरु आयात निर्यात हुने गरेका छन् । दार्चुला जिल्लाका अन्य नाकाहरुमा नेपाल भारत तर्फ सुरक्षाकर्मीको उपस्थिति भएपनि भन्सार छली गरी विभिन्न सामानमा हुने राज्य कर असुली बन्द भएको छ । अहिले मुख्य भन्सार कार्यालय बैतडी जिल्लाको झुलाघाँटमा रहेको छ । झुलाघाँटबाट सबै नाकाहरुमा निगरानी गर्न कर्मचारी अभाव भएको झुलाघाँट भन्सार कार्यालयका प्रमुख डिल्लीराज सुवेदीले जानकारी दिए ।

बन्द दार्चुलाका छोटी भन्सार कार्यालय बेला–बेला विभागमा पत्रचार गर्दा पनि कुनै सुनुवाई नभएको मुख्य भन्सार कार्यालय झुलाघाँटले जनाएको छ । त्यसैगरी छोटी भन्सार कार्यालय दार्चुलामा पनि सीमित कर्मचारी भएकाले पनि छोटी भन्सार नाकाहरु सञ्चालन गर्न नसकिएको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख लेखनाथ शर्माले दार्चुलाका छोटी भन्सार कार्यालय सञ्चालनका लागि पहल गर्ने बताए । राजस्वबाटै सरकार सञ्चालन भइरहेकाले छोटी भन्सार कार्यालय सञ्चालन गर्न ठोस पहल गर्ने कार्यालय प्रमुख शर्माले बताएका छन् ।


भन्सार नाकामा ६ महिना सुरक्षाकर्मी, ६ महिना तस्करहरुको मनपरी
दार्चुला जिल्लाको उत्तर पश्चिमा रहेको नेपाल–भारत जोड्ने सीतापुल छोटी भन्सारमा ६ महिना मात्रै सुरक्षाकर्मीको उपस्थिति हुने गरेको छ । 
त्रिदेशी सीमा क्षेत्रको सामरिक महत्व बोकेको दार्चुलाको उत्तरपश्चिमी सीमा क्षेत्रमा छ महिना मात्रै सुरक्षाकर्मीको उपस्थिति हुने गरेपनि छ महिना भने राज्य उपस्थिति नै नहुने गरेको स्थानीयहरुको गुनासो छ ।
चीन र भारतसँगको उत्तरपश्चिमी सीमा क्षेत्र तिंकर गाउँमा छ महिना मात्रै नेपाल प्रहरीले सुरक्षा दिने गरेको छ भने नेपाल भारत जोड्ने काठेपुल सीतापुलमा समेत नेपाली सुरक्षाकर्मीहरु ६ महिना मात्रै बस्ने गरेका छन् । उच्च हिमाली क्षेत्रमा झण्डै २र३ फिटसम्म हिउँ पर्ने भएकाले त्यस्तो अवस्थामा सो क्षेत्रमा बस्नै नसकिने हुँदा तिंकरमा बाह्रै महिना प्रहरी राख्न नसकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
व्याँस गाउँपालिकाको वडा नम्बर १ व्याँसमा बस्दै आएका व्याँसी सौकाहरु पनि ६ महिना व्याँस र ६ महिना जिल्ला सदरमुकाम खलंगा बस्ने गरेका छन् । यसरी उत्तरपश्चिमी सीमा क्षेत्र सुरक्षा र मानवविहीन बन्दै गएपछि तस्करहरु सक्रिय हुने गरेका छन् । मानव र सुरक्षा विहीन भएपछि तस्तकहरु निडर भएर आखेटोपहार, विभिन्न जीवजन्तुको हाड छाला, यार्सा गुम्बा जस्ता बहुमूल्य जडीबुटी ओसार पसार कार्यमा सक्रिय हुने गरेका आशंका गरिएको  छ । साथै त्यसक्षेत्रलाई चोरी तस्करी गर्नेहरुको ट्रान्जिट पोइन्टको रुपमा समेत लिने गरिएको छ तर बाह्रैमास सुरक्षाकर्मी तैनाथ गर्न सकिएको छैन ।