Close This

धनगढीमा चोरीका घट्नामा बृद्धि

स्थानीयवासी त्रस्त

बिहीबार चैत ८, २०७४/ Thursday 03-22-18
Paschim Today


धनगढी,८ चैत, 
पछिल्लो समययता धनगढी उपमहानगरपालिकाका केही वडामा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रस्त बन्दै गएका छन । रातिको समयमा मौका छोपेर आउने चोरले स्थानीय बासिन्दाका घरबाट विद्युतीय खानेपानी तान्ने मोटर, खोरमा भएका खसीबोका, साइकल लगायतका वस्तु चोरी हुन थालेपछि स्थानीय बासिन्दा त्रस्त बनेका हुन । धनगढी मुख्य बजारबाट झण्डै एक किलोमिटरभन्दा कम दूरीमा रहेको वडा नं २ र ५ को हसनपुर, तारानगर, वडा नं ७ को क्याम्पसरोड र वडा नं ३ को बडहरालगायतका स्थानमा दिनदहाडै चोरीका घटना बढ्न थालेका छन । दुई हप्ताको अवधिमा मात्रै वडा नं २ अन्तर्गत पुरानो भन्सार गाउँमा ४५ वटा पानी तान्ने मोटर चोरी भएको स्थानीयले बताएका छन । यसरी दिनहुँ चोरी हुन थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन । सोही अवधिमा विद्युतीय रिक्साको ब्याट्री, सिँचाइ गर्ने प्लाष्टिकका पाइपसमेत चोरी भएको छ भने धनगढीकै हसनपुर, तारानगर र क्याम्पसरोड क्षेत्रका केही घरमा दिउसै चोरी भएको बताइएकोे छ । सुरक्षा निकायले उपमहानगरपालिकाका मुख्य स्थानमा मात्रै काम गर्ने गरेको पाइए पनि सडकका भित्री गल्लीमा भने दिनप्रतिदिन चोरीका घटना हुन थालेका र रातिको समयमा प्रहरीको गस्ती पनि निकै फितलो हुन थालेपछि दैनिकजसो चोरी बढ्न थालेको छ ।