Close This

उपेक्षामा परेको दोधारा–चाँदनी समृद्धितर्फ

बाह्य पर्यटकको पनि आकर्षक गन्तव्य

मंगलबार चैत १३, २०७४/ Tuesday 03-27-18
Paschim Today

शेरबहादुर सिंह,  चैत्र १३ ।
धेरैले अझै पनि पश्चिममा महाकाली नदीलाई नेपाल–भारतको सीमा नदी मान्छन् । तर कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रमा महाकाली नदीलाई पश्चिमतर्फको सीमा मान्नुभयो भने त्यो अन्याय हुन्छ । कारण महाकाली नदीपारिको दोधारा–चाँदनी भएर बग्ने अर्को नदी जोगबुढाभन्दा पनि केही परसम्म नेपाली बस्ती छन् । जहाँ प्रदेश नं ७ कै सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको छ । विसं २०६० को दशकसम्म महाकाली नदीमा एउटा पुलसम्म नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) भोग्नुपरेको पीडा शब्दमा वर्णन गर्न कठिन छ । झण्डै पाँच दशकअघि बसेको दोधारा–चाँदनीको बस्ती अहिले आइपुग्दा विकासका दृष्टिले कुनै अन्य क्षेत्रको तुलनामा पछि छैन । विसं २०६१ सम्म जिल्लाको सदरमुकाम महेन्द्रनगरसँग जोडिन नसकेको दोधारा–चाँदनीका लागि महाकाली नदीमा बनेको झोलुङ्गे पुल एउटा दरिलो माध्यम बन्न पुग्यो ।
‘झोलुङ्गे पुल बन्नु अघिसम्म मैले २० वर्ष महाकाली नदीमा किस्ती चलाएर स्थानीवासीलाई ओहोर–दोहोर गराएँ ।’ महाकाली नगरपालिका–४ का ६८ वर्षीय भीमबहादुर सिंहले भने–‘अहिले त विकासको क्रम अन्य नगरपालिकाको भन्दा यहाँ बढी नै भइरहेको छ ।’ स्थानीय तहको निर्वाचनमा वडा सदस्यसमेत निर्वाचित भएका सिंहले प्रतिव्यक्ति रु पाँच लिएर वर्षात्को समयमा यात्रुहरू ओसारेको विगत सुनाए । ‘अहिले भन्दा कथा जस्तो लाग्छ’ विसं २०३३ मा बाजुराबाट बसाइँ सरी दोधारा–चाँदनी आएका सिंहले भने–‘कैयन रातहरू वर्षात्मा घर छाडेर अग्लो गाउँमा बितायौँ ।’

    विसं २०२२ देखि दोधारा–चाँदनीमा बसोबास रहे पनि २०६० सालपछि मात्रै यहाँ विकासले गति लिएको उनको भनाइ छ । ‘भारतीय सीमावर्ती शहर वनवासामा कुटानीपिसानी गरेर भोक टाथ्र्यौं ।’ उनले भने–‘वनवासा पुलमा आवातजावत गर्दा भारतीयबाट धेरै हेपाइथिचाइ हुन्थ्यो ।’
आफ्नै भूमिमा जाँदा भारतको बाटो भएर जानुपर्ने बाध्यता पनि झोलुङ्गे पुल बनेपछि हटेको उनले बताए । ‘वारि ओदालीमा किस्ती(डुंगा)मा यात्रु लिएर नदी तर्दा करिब पाँच किलोमिटर तल गएर दोधारातर्फ ओर्लिने गथ्र्यौं’ सिंहले भने–‘एकपटक ४० क्विन्टलसम्म किस्तीमा तार्न सकिन्थ्यो ।’
त्यो बेला दोधारा–चाँदनीवासीको सहजताका लागि दुईवटा किस्ती महाकालीमा चल्ने गरेको सिंहले जानकारी दिए । ‘हिउँदमा नदीमा पानी नहँुदा पैदल हिँडेर ओहोदोहोर गर्ने गरेका थियौँ ।’ उनले भने–‘अब निर्माणाधीन चार लेनको पक्की पुल बने यहाँको स्वरूप नै परिवर्तन हुन्छ ।’ पुल बने नेपाल–भारतको व्यापारिक नाकाका रूपमा पश्चिमी नाका विकास भएसँगै त्यसको सबैभन्दा बढी फाइदा दोधारा–चाँदनीवासीलाई नै पुग्नेमा दुविधा छैन ।
पुलको निर्माण थालिएसँगै दोधारा–चाँदनीमा जग्गाको कारोवारसमेत बढेको स्थानीयवासीको भनाइ छ । प्रदेश नं ७ को सुख्खा बन्दरगाह पनि महाकाली नगरपालिका–७ कञ्चनभोजमा निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । सुख्खा बन्दरगाहसँगै महाकालीको चार लेनको पुल, एशियाकै दोस्रो लामो झोलुङ्गे पुल दोधारा–चाँदनीका समृद्धिका ढोका हुन् । विसं २०२२ मा बझाङबाट बसाइँ सरी महाकाली नगरपालिका–२ आउनुभएका ७० वर्षीय उजेली दमाईंले पनि विगतका कष्टकर दिन सम्झँदै भने–‘अहिले त स्वर्गजस्तै बन्दैछ, दोधारा–चाँदनी ।’ ‘पूरै जंगल र झाडीमात्रै थियो ।’ उनले भने–‘अहिले जताततै विकास भइरहेको देख्दा खुशीको सीमा नै छैन ।’ किस्तीमा जोखिमपूर्ण यात्रा गर्दा पूर्णागिरि माताको नाम लिएर विगतको यात्रा गरेको उनले सुनाए । ‘गाउँमा अरूको घर हेर्नु परे रुखमा चडेर छिमेकीको घरको उज्यालो देखिन्थ्यो’ उनले भने–‘अहिले तर घर घरमा पक्की सडक पुग्दैछन् ।’
झोलुङ्गे पुल स्थानीयवासीलाई आवागमनसँगै आन्तरिक तथा बाह्य पर्यटकको पनि आकर्षक गन्तव्य बनेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पर्ने दोधारा–चाँदनी पछिल्ला निर्वाचनमा चुनावी प्रचारको प्रमुख गन्तव्य बन्ने गरेको छ ।  बाइस हजार मतदाता रहेको महाकाली नगरपालिकाबाट प्रदेश नं ७ को प्रदेशसभा सदस्यमा दोधारा–चाँदनीकै मानबहादुर सुनार निर्वाचित हुँदा उच्च राजनीतिक तहमा प्रतिनिधित्व पाएको स्थानीयवासीको बुझाइ छ ।
    महाकाली नगरपालिकामा स्थानीय वीरबहादुर सुनार नगरप्रमुख रहेका छन् । दोधारा–चाँदनीमा बस्ती बस्दादेखि नै भारतीय नोटको बढी कारोवार हुने गरेको उजेली दमाईंको भनाइ छ । ‘पछिल्ला वर्षहरूमा त नेपाली नोटको कारोवारले प्राथमिकता पाएको छ ।’ उनले भने–‘तर नेपाली नोट दिए पनि भारतीय मूल्यमै कारोवार भने यथावत् नै छ ।’ महाकाली नगरपालिकामा केही वर्षयता पक्की सडक, खानेपानी, पुल निर्माणलगायत पूर्वाधार निर्माणका काम तीब्र गतिमा भइरहेका छन् । ‘मलेरिया नालामा मात्रै नौ वटा पुल बन्दैछन् ।’ स्थानीय भीमबहादुर सिंहले भने–‘व्यापारिक ‘हब’ बन्ने भएपछि यहाँ बाहिरबाट समेत जग्गा खरिद गर्न दिनहुँ आइरहेका छन् ।’ 
कुनै समय भारतीय सीमावर्ती बजार वनवासा र खटिमाको भरमा दोधारा–चाँदनीको दैनिकी चल्ने गरेको भए पनि सुरक्षा निकाय, सरकारी कार्यालय, स्वास्थ्य केन्द्र र स्कूल खुलेको उनले बताए । दोधारा–चाँदनीमा सिँचाइका लागि पनि नहर निर्माणको कामलाई प्राथमिकतामा राखिएको छ ।
महाकाली नगरपालिका–७ स्थित बाबाथाम बजार व्यवस्थापन समितिका सचिव मानबहादुर ओलीले दोधारा–चाँदनीमा खानेपानी, सडक पूर्वाधार, सञ्चार, शिक्षालगायत सबै पूर्वाधार पुगिसकेको बताए । विसं २०३० मा सुर्खेतबाट यहाँ आउनुभएका ओलीले दोधारा–चाँदनी समृद्धितर्फ दु्रत गतिमा अघि बढिरहेको बताए । सडक डिभिजन कार्यालय कञ्चनपुरले महाकाली नगरपालिकामा चालू आवमा चारवटा सडक कालोपत्रे र आधा दर्जनभन्दा बढी पुल बनिरहेको जनाएको छ ।
साविक दोधारा र चाँदनी गाविस मिलेर बनेको महाकाली नगरपालिकामा बैतडी, दार्चुला, बझाङ, बाजुरा, दैलेख र सुर्खेतबाट बसाइँ सरी आएकाको बसोबास बढी रहेको छ ।