Close This

किम रेल चढेर बेइजिङ पुगेको पुष्टि

बिहीबार चैत १५, २०७४/ Thursday 03-29-18
Paschim Today


चैत्र १५,२०७४
सोलरबेइजिङ — एक अप्रत्याशित भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन चीनको राजधानी बेइजिङ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले पुष्टि गरेको छ ।

सिन्ह्वाकाअनुसार उत्तर कोरियाली कूटनीतिक रेल चढेर बेइजिङ पुगेकाउत्तर कोरियाली नेता उनले कडा सुरक्षाबीच चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गरेको जनाएको छ। सो भ्रमणको चीन तथा उत्तर कोरियाका अधिकारीले समेत पुष्टि गरेका छन्।

सबैभन्दा पहिला जापानी सञ्चारमाध्यमले एउटा उत्तर कोरियाली कूटनीतिक रेलबाट एक उच्च अधिकारी बेइजिङ पुगेको र कडा सुरक्षाबीच भेटवार्ता भएको जनाएको थियो । उसले ती उच्च अधिकारी अरू कोही नभएर सर्वोच्च नेता किम जोङ–उन नै भएको दाबी गरेको थियो।

दक्षिण कोरियाले उक्त व्यक्तिको परिचय प्रस्ट नभइसकेको दक्षिणका अधिकारीले जनाएका थिए । तर ‘सावधानीपूर्वक वस्तुस्थिति नियालिरहेको’ उसले जनाएको थियो ।

चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र हो।

सन् २०११ मा उत्तर कोरियाको शासन सञ्चालन गरेका किमको यो पहिलो भ्रमण हो। उक्त भ्रमण बारे उत्तर कोरियाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर चिनियाँ विदेश मन्त्रलायले भने ‘तत्कालका लागि कुनै सूचना नभएको’ बताएको थियो। उसले केही समयभित्रै यसबारे थप जानकारी सार्वजनिक गर्ने जनाएको छ । किम जोङ–उनको चीन भ्रमणलाई निकै महत्त्वपूर्ण घटनाको रूपमा हेरिएको छ ।

गतमहिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग वार्तामा बस्ने प्रस्ताव स्वीकार गरेका थिए ।

जटिल कूटनीतिक आवश्यकताका कारण अधिकारीले पर्दापछाडि काम गरिरहेको हुन सक्ने बीबीसीले जनाएको छ । यसअघि उत्तर कोरियाली र चिनियाँ नेताबीच भेटवार्ता हुन सक्ने विश्लेषकले बताएका थिए । चीन उत्तर कोरियाको प्रमुख आर्थिक तथा कूटनीतिक साझेदार हो ।

टोकियोस्थित निप्पोन न्युज नेटवर्कले किम चढेको भन्दै पहेंलो रेखा कोरिएको हरियो रंगको रेलको दृश्य प्रसारण गरेको हो । तर दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुराकानी गर्दै विश्लेषकले उक्त उच्च अधिकारी किम जोङ–उनकी बहिनी किम यो–जोङ पनि हुन सक्ने बताएका थिए। उनले दक्षिण कोरियामा हालै सम्पन्न हिउँदे ओलम्पिकमा सहभागी हुने उत्तर कोरियाली टोलीको नेतृत्वसमेत गरेकी थिइन् ।

सन् २०११ मा बेइजिङ भ्रमणका क्रममा किमका पिता एवं उत्तर कोरियाली पूर्वप्रशासक किम जोङ–इलले प्रयोग गरेको जस्तै रेल देखिएको निप्पोनले जनाएको थियो ।