Close This

कुटपिटमा परेकी महिलाको उजुरी लिन प्रहरीद्वारा आनाकानी

सोमबार भदौ २, २०७६/ Monday 08-19-19
Paschim Today

धनगढी ,२ भदौं।

जग्गाको साँधसिमा विवादमा निर्घात कुटिएकी महिलाको उजुरी प्रहरीले दर्ता गर्न आनाकानी गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८, गोप्काकी ३० वर्षीया रामजानकी चौधरीलाई गत १७ असारमा उनका छिमेकी मार्कण्डी चौधरी, यमबहादुर चौधरी र यमकी छोरी लक्ष्मी चौधरीले कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भएकी रामजानकीको ४० दिनपछि होस आएको थियो । उनको अहिले सेती अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार पीडित, पीडक र प्रहरीबीच उजुरी दर्ताका लागि छलफल भएको थियो । छलफल निष्कर्षविहिन भएपछि पीडितहरूले ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दर्ता गराउँदा प्रहरीले नलिएको उनीहरूको गुनासो छ ।पीडित रामजानकीका श्रीमान तीर्थले भने, ‘ज्यान मार्ने उद्योग अन्र्तगत प्रमाण अपुग भएको र अन्य शिर्षकमा उजुरी दर्ता गराउन प्रहरीले सुझाव दिएर फर्काए ।’ पीडित पक्षले यसअघि पनि ज्यान मार्ने उद्योग अन्र्तगत इलाका प्रहरी कार्यालय लम्की र जिल्ला प्रहरी कार्यालयमा पटकपटक उजुरी दर्ताका धाएका थिए ।

तीर्थले भने– ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरीका लागि अंगभंग, निलडाम अथवा हतियार प्रयोग भएको घाउ अनिवार्य हुनुपर्ने प्रहरीले बताउने गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गर्दा पीडितका पक्षमा मुद्दा कमजोर हुने देखिएकाले कुटपिट तथा अन्यमा मुद्दा दर्ता गराउन सुझाव दिएको बताए ।