Close This

धनगढीका होटलमा  पाहुनाको भीडभाड

बिहीबार चैत २२, २०७४/ Thursday 04-05-18
Paschim Today

पश्चिम टुडे, धनगढी, चैत्र २२ । कैलालीको धनगढीमा रहेका होटलहरु पाहुनाले खचाखच भरिएका छन् । यहाँ भइरहेको धनगढी प्रिमियर लिग (डीपीएल)–२ क्रिकेट प्रतियोगिताका कारण होटलमा पाहुनाहरुको भीडभाड बढेको हो । होटलहरुमा खेलाडी, अफिसियल, टिम मालिक लगायत बाहिरबाट खेल अवलोकन गर्न आएका पाहुनाहरुको बसोबास छ ।  अस्थायी राजधानी बनेपछि आवास तयार नभएका कारण केहि मन्त्री तथा कर्मचारीहरु, प्रदेश सभा सदस्यहरु होटलमा बसोबास गरिरहेका बेला क्रिकेट प्रतियोगिता सञ्चालनमा आउँदा होटलमा भीडभाड झनै बढेको हो । 
विभिन्न छ वटा टिमका खेलाडी तथा टिमसंग सम्बन्धित व्यक्ति द डिभोटी, होटल साथी, होटल फ्लोरा, द रु रुबस होटलमा बसोबास गरिरहेका छन् । क्रिकेट प्रतियोगिता सञ्चालनमा आएपछि यहाँ रहेका साना ठूला सबै होटलमा पाहुनाको भीडभाड रहेको कैलाली जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष कलम बमले बताए । ’होटलहरुमा पाहुनाहरुको भीडभाड बढेसंगै व्यापार पनि बढेको छ“, उनले भने,’हामी होटल व्यवसायीहरुले स्तरीय सेवा प्रदान गरिरहेका छौं ।“’  यहाँ तीन तारेसम्मका होटलहरु बनेका छन् । होटलमा लगानी थपिदैं गएको छ । यद्यपि, गैरसरकारी सङ्घ संस्थाको गोष्ठी, सेमिनार र आन्तरिक पर्यटकका भरमा होटल चल्दै आएका छन् । प्रायः समय सुनसान रहने यहाँका होटलमा यति खेर चहल पहल बढेको ग्यालेक्सी क्याफेका म्यानेजर टङ्क कठायतले बताए । 
धनगढीमा चैत ३० गतेसम्म डीपीएल प्रतियोगिता हुनेछ । यो अवधिभरी यहाँ पाहुनाहरुको भीडभाड रहने होटल व्यवसायीहरु बताउँछन् । उनीहरुले कुनै–कुनै दिन पाहुना थपिंदा सेवा दिन पनि हम्मे हुने गरेको जनाएका छन् ।