Close This

वाणिज्य संघमा नेतृत्व हत्याउने होड

सोमबार चैत २६, २०७४/ Monday 04-09-18
Paschim Today


कैलाली उद्योग वाणिज्य संघमा यस अघिका चुनावमा पनि फर्जि फर्म बनाएको बिषयले चर्चा नपाएको होईन । उद्योग वाणिज्य संघमा आफु र आफु नजिकका ब्यक्तिलाई जिताउनका लागि फर्जिफर्म बनाएर दर्ता गरिन्छ । कैलाली उद्योग वाणिज्य संघले फर्जिफर्महरु दर्ता गर्ने यो तेश्रो कार्यसमिति हो । यस अघिका दुईवटा कार्यसमितिहरुले यसरी नै आफु नजिकका ब्यक्ति र एउटै ब्यक्तिका नाममा धेरै फर्महरु दर्ता गरेर चुनाव जितेका हुन । यस पटक पनि त्यही नजिरका कारण गलत कामले निरन्तरता पाएको छ । अर्थात गुरुहरुले जे गरे तिनिहरुका चेलाहरुले त्यही अनुसरण गरेका छन् । 
यसको दोष अहिले गलत गर्ने भन्दा गलत गर्ने कार्यको नजिर बसाउनेहरुलाई दिनुपर्दछ । किनभने उद्योग वाणिज्य संघ कैलालीको यो परंपरा हो । तिनका अग्रजहरुले जे गरे हुन सक्छ सन्ततीहरुले तिनिहरुको परंपरा बचाउनकै लागि फर्जिफर्महरु दर्ता गरेका हुन । अग्रज र ठूला ब्यावसायीहरु रहेको भनिएको कैलाली उद्योग बाणिज्य संघमा देखिएको यो गलत कार्य उपहास मात्रै होईन निन्दनीय पनि हो । उद्योग बाणिज्य संघ भनेको ठेला ब्यापारी देखि ठूला उद्योगपती सम्मको संस्था हो । यस संस्थाले ब्यापारीहरुको हक हितमा काम गर्नुपर्छ । ब्यापारीहरुको पिडामा मलम लगाउनुपर्छ । ब्यापार ब्यावसायहरुको प्रवद्र्धनका लागि काम गर्नुपर्छ । राज्यलाई आवश्यक परेको बेला रचनात्मक सल्लाह तथा सुझाव दिनुपर्छ । यसका अतिरिक्त उद्योग बाणिज्य संघका थुप्रै कार्यहरु रहेका छन् । यसको उल्टो कैलाली उद्योग बाणिज्य संघमा साना पूँजीका ब्यापारीको हितमा होईन उनिहरुको प्रवेशलाई निषेध गर्न खोज्दै छ । फर्जि फर्म दर्ता गरेर नेतृत्व हत्याउन खोज्नु भनेको नै साना ब्यापारीहरुलाई ठाउँ छैन भन्नु हो । 
यस पटकको कुरा गर्ने हो भने मात्रै कैलाली उद्योग वाणिज्य संघले चुनावको मुखमा करीव एक हजार फर्जी व्यवसायीक फर्म दर्ता गरेको छ । यी सबै फर्म चुनावमा नेतृत्व हत्याउन दर्ता गरिएका हुन् । संघका पछिल्ला तीन निर्वाचनममा यस्तै फर्जी मत निर्णायक भएका कारण यस पटक पनि दोहरिएको हो ।  रेकर्ड हेर्दा चैत्र १३ र १४ गते मात्रै धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरुमा करिब ७ सयको हाराहारीमा नयाँ व्यवसाय फर्महरु दर्ता भएका छन् । १३ र १४ गते सबैभन्दा बढि ७ सयको हाराहारीमा फर्म दर्ता भएपनि पछिल्लो अबधिमा यसरी ९ सयभन्दा बढि फर्म दर्ता भएका छन् । फर्म दर्ताबाट कैलाली उद्योग वाणिज्य संघलाई ठूलो आम्दानी भएको छ । एउटा व्यवसाय दर्ता गरे वाफत उद्योग बाणिज्य संघ कैलालीले २ हजार ५५ रुपैया लिने गरेको छ । जसमा एकै व्यक्तिको नाममा ५ देखि १४ ओटा व्यवसाय दर्ता भएका छन् । जसबाट वडा कार्यालयहरुको राजश्वमा समेत बृद्धि भएको छ । एउटै व्यक्तिले पान पसल देखि तरकारी पसल अनि जुत्ता पसल देखि जुस सेन्टरसम्म दर्ता गराएका छन् । सो वाफत वडा कार्यालयलाई ६ सय देखि ३ हजारसम्म राजश्व तिरेका छन् । कतिसम्म भने एउटै व्यक्तिले धनगढी उपमहानगरपालिकाका अलग अलग वडाहरुमा व्यवसाय दर्ता गराएका छन् । यसरी चुनाव जित्नकै लागि फर्जि फर्महरु दर्ता हुनु राम्रो होईन यो प्रबृतीको अन्त्य गरिनु पर्छ ।