Close This

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन

अहिले नबोले कहिले बोल्ने ?

सोमबार चैत २६, २०७४/ Monday 04-09-18
Paschim Today


दीर्घराज उपाध्याय/
उद्योगी, व्यवसायीहरुको आस्था र भरोसाको केन्द्र, सम्पूर्ण व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत यो देशमा सयौ संघहरु छन् । ती मध्ये अग्रणी संघको रुपमा छाप छोड्न सफल भएको थियो, कैलाली उद्योग वाणिज्य संघ ।
देशकै उत्कृष्ट संघका रुपमा सम्मानित हुने अवसर कैलाली उद्योग वाणिज्य संघ, यसको नेतृत्व, पदाधिकारी र साधारण सदस्यहरुका लागि त सुखद अनुभूति थियो नै । सुदूरपश्चिमवासीका लागि पनि त्यो गर्वको क्षण थियो । 
पेशागत तथा व्यवसायी संघसंगठनहरु केवल आफ्ना सदस्य प्रति जिम्मेवार हुन्छन् । जवाफदेही हुन्छन् । उत्तरदायी पनि आफ्नै सदस्यहरु प्रति हुन्छन् । सदस्यहरुको हकहीत र अधिकारको रक्षाका लागि प्रतिबद्ध भई भूमिका निर्बाह गर्ने एउटै दायित्व हुन्छ, संघसंस्थाहरुको ।
तर कैलाली उद्योग वाणिज्य संघले ती सोच, मान्यता र दायराभन्दा माथि उठेर काम ग¥यो । उसले आफ्ना सदस्यहरुको हीत भन्दा समग्र सुदूरपश्चिमकै हीत, समृद्धि, विकास र पहिचानलाई सर्बोपरी ठान्यो । हो, यही कारण कैलाली उद्योग वाणिज्य संघ देशकै उत्कृष्ट संघ बन्यो ।
यसको जस वा श्रेय कुनै एउटा व्यक्तिलाई जादैन । उद्योग वाणिज्य संघ आजको अवस्थासम्म आईपुग्न दिलिपसिंह मल्ल, मोहनराज मल्ल, मोहनबहादुर शाह, दामोदर भट्ट, उत्तम कठायतको योगदानलाई अवमूल्यन गर्न वा बिर्सन हुदैन ।
अरु पनि थुप्रै नामहरु छन्, जसले उद्योग वाणिज्य संघलाई कठिन परिस्थितिमा जोगाईरन भगिरथ प्रयत्न गरे । टीममा सक्रिय भूमिका निर्बाह गरे ।
गोपाल हमालको नेतृत्वमा यसले थप उचाई प्राप्त ग¥यो । जसमा दिनेशराज भण्डारी, गजेन्द्रबीर चन्द, सञ्जय चौधरी, कर्ण कुँवर, मोहनराज शर्मा, शंकर बोगटी, राजेन्द्र अग्रवाल, शिवलाल भण्डारी, लालबहादुर बोगटी, पुष्पराज कुँवर, हरीशंकर ठाकुर, लोकराज भट्ट, लक्ष्मीकान्त ढकाल लगायत थुप्रै नामहरु छन्, जसले बिभिन्न कार्यसमितिमा रहेर काम गरे ।
तर त्यही संघ अहिले फर्जी मतको चेपुवामा परेको छ । नामै नसुनिएका, व्यवसायमै संलग्न नभएका व्यक्तिका दर्जनौ फर्महरु संघमा दर्ता भएका छन् । 

कैलाली उद्योग वाणिज्य संघले एउटा नयाँ किर्तिमान कायम गरेको छ—फर्जी फर्महरु दर्ता गरेर । चुनाव नजिकिदै गएपछि कैलाली उद्योग वाणिज्य संघ  फर्जी मतलाई लिएर यसरी चर्चामा आएको यो तेस्रो पटक हो । चुनावको मुखमा फर्जी व्यवसायीका नाममा दर्ता भएका झण्डै एक हजार फर्जी फर्म चुनावमा कसलाई जिताउने निर्णायक हुनेछन । 
चुनाव जित्नैका लागि बनाईएका यी फर्जी मतदाताको चर्चा र महत्व चुनाव सकिएको भोलिपल्ट सकिने गरेको छ । उद्योग वाणिज्य संघको शान, सकारात्मक चर्चा र प्रतिष्ठा पनि तिनै फर्जी मतदातासंगै सकिएको छ ।
उद्योग वाणिज्य संघमा फर्जी फर्म दर्ता गरेर चुनाव जित्ने संस्कार बनिसकेको छ । परम्परा बनि सकेको छ । संघका लागि मात्र नभएर सम्पूर्ण उद्योगी,व्यवसायीहरुका लागि यो दुर्भाग्य हो । 
जसको नाममा कुनै उद्योग वा व्यापार छैन । त्यसैका नाममा १४ वटासम्म फर्म दर्ता भएको खवर सार्वजनिक हुदासम्म न कसैलाई ग्लानी छ । न कसैलाई चासो र चिन्ता । सबै मौनताको संस्कृतिमा बाँचेका छन् । अहिले हस्तक्षेप नगर्ने,नबोल्ने । अनि समस्या पर्दा संघले हेरेन, बोलेन भनेर भोलि कुनै पनि व्यापारी तथा उद्योगीहरुले गुनासो गर्नुको कुनै अर्थ हुने छैन । 
चुनावमा उठ्नेहरुको ध्यान जितेर संघका लागि केही काम गर्ने भन्दा पनि प्रतिद्धन्दीलाई कसरी रोक्नमै केन्द्रित हुने गरेको छ । करोडौ रुपैया खर्च गरेर फर्जी मतदाता बनाउने । तिनैको बलमा जित्ने परम्पराको अन्त्य नभएसम्म कैलाली उद्योग वाणिज्य संघमा सुधार हुनै सक्दैन । कैलाली उद्योग वाणिज्य संघको चुनाव त कसैलाई हराउन, कसैलाई रोक्न भईरहेको छ । मानौ, त्यो बाहेक अरुकुनै एजेण्डा नै छैन, चुनाव लड्नेहरुसंग । अहिले जसले यसरी फर्जी मत बनाए । ती मात्र दोषी होईनन । हिजो जसले यो कुरा सिकाए, ती गुरुहरु र अगुवाहरु पनि दोषी हुन् । 
बाहिर हेर्दा उम्मेदवार देखिने त उम्मेदवार नै होईनन । ती कसले उचालेर उम्मेदवार भएका हुन् ? कसका उम्मेदवार हुन् । चुनाव त ती जित्ने होईनन । चुनाव जित्ने त कोही पर्दा पछाडि हुन्छन् । कोही चुनावमा बेनकाव हुन्छन । 
अव यो पटक एक्लिने पालो कसको ? को को मिलेर कसलाई सक्ने ? को सकिए कसको स्वार्थ पुरा हुने ? कसलाई सक्दा को खुशी हुने ? 
एकथरी देखिने गरी सक्रिय छन् । एकथरी नदेखिने गरी । उद्योग वाणिज्य संघमा चुनाव लड्नेलाई भन्दा लडाउनेलाई बढि लाग्छ । अहिलेपनि चुनाव लडाउनेलाई लागेको छ । बस, यही खेल भईरहेको छ । को उठे, कसलाई फाईदा हुने ? बितेका केही वर्ष यही खेलमा बितेका छन् । यस्तो लाग्छ, संघको साख, शान र प्रतिष्ठासंग कसैलाई सरोकार छैन । 
क्षमता भएका, संघको सकारात्मक छवि निर्माणमा योगदान पु¥याएका, संघप्रति त्याग र समर्पण भएका उद्योगी र व्यवसायीहरु गलहत्याइएका छन् । पाखा लगाईएका छन् । यही प्रबृति रहिरहने हो र यसैलाई परम्परा बनाउने हो भने भोलि कैलाली उद्योग वाणिज्य संघको ईतिहास,त्यो बिरासत, त्यो प्रतिष्ठा र पहिचान एकादेशको कथा हुनेछ ।
फर्जी व्यवसायीले मतदान गर्ने । अनि व्यवसायी चाही फटके किनाराको साक्षी भईरहने । कहिलेसम्म ?
कोही हार्दा खुच्चिङ् भनेर रमाउने वा बिग्रिदै गएको संघको त्यो शान, साख र विश्वास फर्काउन एकजुट भएर लाग्ने ? उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, पदाधिकारी र हरेक व्यवसायीले एकपटक ईमान्दार प्रयास प्रयास गर्नैपर्छ । बाहिर रहेर टिप्पणी र आलोचना गर्ने होईन, अव हरेक व्यवसायीहरुले आफ्नो छाता संगठनको अस्तिव,साख र प्रतिष्ठाको रक्षाका लागि हस्तक्षेप गर्नैपर्छ । चासो र चिन्ता प्रकट गरेर मात्र हुदैन । सक्रिय हुनैपर्छ ।
अध्यक्षहरुको लहरमा फोटो झुण्ड्याइएकाहरुले चुनावमा खेल्ने, एक्ल्याउने वा रमिता हेर्ने काम कम्तिमा गर्नुहुदैन । आफनो अभिष्ट पुरा गर्न र कसैसंग रीस फेर्नका लागि आफ्नो उर्जा, समय, शक्ति लगाउनु हुदैन । कैलाली उद्योग वाणिज्य संघको अवसान वा अद्योगतिमा खुशी मनाउने छुट उनीहरुलाई छदै छैन । अहिलेको नेतृत्वलाई दोष लगाएर कुनै पूर्व अध्यक्ष वा पदाधिकारीले उन्मुक्ति पाउदैन । राम्रो कामको जस लिनेले आज उद्योग वाणिज्य संघमा गलत भयो भनेर आरोप लगाईरहदा यो हुनुको दोषी र त्यसको भागीदार म आफै पनि हूँ भनेर आत्मसमीक्षा र आलोचना गर्नैपर्छ । 
एउटा चुनावमा संगै मिलेर चुनाव लडेकाहरु अर्को पटक अर्कै टीमबाट लड्दा पानी बाराबार भईसकेको हुन्छ । मित्रता दुश्मनीमा परिणत भईसकेको हुन्छ । उद्योग वाणिज्य संघमा त्यस्तो के चिज छ, जसका लागि यो हदसम्म जान जो कोही तयार हुन्छन् ?
कौरव र पाण्डवको लडाईमा पाण्डवको बिजय भयो । दुर्योधनसंगै सय भाई मारिए । संगसंगै मारिए ती सेना र प्रजा । जसका कारण हस्तिनापुर राज्य थियो । र राजा थिए । पाण्डवले युद्ध त जीते । तर न शासन गर्नका लागि प्रजा बाँचेका थिए । न त जीतको खुशी मनाउन भाई, भारदार र प्रियजनहरु । युद्ध जीत्ने पाण्डवले पनि सबै प्रियजन गुमाए । जुन हस्तिनापुरमाथि राज गर्नका लागि कौरव र पाण्डवहरुकाबीचमा धर्मयुद्ध भयो । द्रोपदीको चीरहरण भयो । भिष्म पितामहले तीरको शैयामा मृत्युवरण गर्नुप¥यो । पुत्र अस्वस्त्थामाको मृत्युको झुटो खवरले द्रोणाचार्यले इहलोक त्यागे । खराव मात्र मारिएनन, त्यो युद्धमा भिष्म पितामह, द्रोणाचार्य जस्ता राम्रा मान्छे पनि मारिए । 
कैलाली उद्योग वाणिज्य संघको चुनाव जित्नेहरुको हालत पनि पाण्डवको जीत झै हुने गरेको छ । जितेर पनि खुशी मनाउन नसक्ने । जित्नुको खुशी अरुलाई हराएर हुनै सक्दैन । अरुको मन जितेर, अरुलाई पनि संगसंगै लगे मात्र त्यो खुशी दिगो हुन सक्छ । र त्यसले संस्थालाई पनि खुशी, उर्जा र गति दिनसक्छ । 
जव महोत्सव शुरु हुन्छ । तव उद्योग वाणिज्य संघमा रौनक शुरु हुन्छ । महोत्सव सकिएपछि रौनक पनि सकिन्छ । महोत्सव पनि रमाईलो मेलामा परिणत भईसकेको छ । यही प्रकृया हरेक वर्ष दोहरिरहन्छ । कुनै बेला संघमा सधै रौनक हुन्थ्यो । विकासका एजेण्डामा छलफल हुन्थ्यो । हरेक बिबाद समाधानको मध्यस्थता त्यही भित्र हुन्थ्यो । 
संघ सबैको साझा चौतारी हो । हिजो कैलालीमा जुनसुकै बिबाद हुदा त्यसको समाधान गर्ने थलो थियो, संघ । डुडेझारी घट्ना होस वा अन्य घट्नाहरु धेरै घट्ना र समस्याको समाधान संघकै हलबाट संभव भयो ।
अझ समग्र सुदूरपश्चिमको विकासको पहलका लागि सुदूर पश्चिम दवाव समूह त्यही संघको अग्रसरतामा गठन भयो । सुदूरपश्चिम उपेक्षित हुदा सबै राजनैतिक दल र यस क्षेत्रका अगुवाहरु त्यही संघको फोरममा बोले । सुदूरपश्चिमका माग, आवश्यकता र प्राथमिकताको फेहरिस्त त्यही संघको अगुवाईमा तयार भयो । सबैको आस्थाको केन्द्र थियो, संघ । सुदूरपश्चिमलाई केन्द्रमा राखेर उसले सञ्चालन गरेका गतिबिधि, क्रियाकलाप र कामहरुले यो उचाई प्राप्त गरेको हो ।
तर त्यही उद्योग वाणिज्स संघ आज रनभुल्ल छ । गन्तव्य के हो ? कहाँ जाने ? उद्देश्य के हो ? बाटो बिराएको यात्री जस्तो भएको छ ।
एकथरी बाहिर बसेर टिप्पणी गर्छन । संघ खत्तम भयो । तर उनीहरुले संघलाई राम्रो बनाउन कहिल्यै पहल गरेनन । कहिल्यै अग्रसर भएनन । चुनावमा कहिल्यै भोट हालेनन । 
अर्कोथरी छन्, उनीहरु भन्छन्, हामी हुदा ठिक थियो । अहिले खत्तम भयो । 
तेस्रोथरी छन्, उनीहरु, संघ बनाउनेलाई सम्झिनै चाहन्नन । तिनको योगदानको चर्चा गर्दा आफू ओझेलमा परिने डरले उनले पुरानाको नाम लिदा पापै लाग्छ कि जस्तो गर्छन ।
चौथौ थरी छन्, उनीहरु, कहाँनिर अहिलेका ले गल्ती गर्छन र उनीहरुको खेदो खन्न मिल्छ । त्यसैको ताकमा हुन्छन् । हर हमेशा । उनीहरुलाई नेतृत्वमा भएकोलाई गाली गरेरै आत्मरतीमा बाँच्न मन पराउछन् ।
पाँचौ थरी व्यवसायी र उसका सदस्यहरु यस्ता छन्, जो न टिप्पणी गर्छन । न चासो राख्छन् । नजाने गाँउको बाटो किन सोध्नु ? भन्दै आफ्नै व्यापार व्यवसाय बाहेक केहीमा चासो राख्दैनन ।
संघलाई राम्रो बनाउने हो भने, यतिबेला आम व्यवसायी जसको व्यापार बाहेक अर्को कर्म छैन, उनीहरु त जागरुक हुनैपर्छ । त्यसमाथि यो प्रदेशका सबै सचेत नागरिकले पनि संघलाई लिएर चासो र चिन्तासंगै यसलाई कसरी राम्रो बनाउने भनेर अभिमत प्रकट गर्नैपर्छ । किनकी कैलाली उद्योग वाणिज्य संघ जो, त्यसको सदस्य छन्, उनीहरुको मात्र होईन । यो त प्रदेश नम्बर सातको धरोहर हो । यसको अवसानमा केहीको अभिष्ट पुरा होला, तर समग्र प्रदेश नम्बर सातका लागि भने अपुरणीय क्षति हुनेछ ।
फर्जी फर्म दर्ता हुदा चुप लाग्ने । चुनावमा भोट नहाल्ने । तर पछि संघ राम्रो भएन भनेर आलोचना गर्ने र पछुताउने काम यो पटक कसैबाट नहुने हो भने संघले फेरि कुशल र सही नेतृत्व पाउनेछ । गुमेको साख र प्रतिष्ठा फर्कनेछ । अन्यथा चुनावपछि गरिने टिप्पणी र पश्चाताप लगन पछिको पोते  हुनेछ ।