Close This

सिकलसेल सम्बन्धी सचेतना कार्यक्रम

बुधबार चैत २८, २०७४/ Wednesday 04-11-18
Paschim Today


हसुलिया, २८ चैत्र ।
वंशाणुगत सिकलसेल रोग निराकरणका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले थारु बाहुल्यता रहेका क्षेत्रमा सचेतना कार्यक्रम गरेको छ । 
आमा समूहका महिलाका लागि हसुलिया र थापापुर स्वास्थ्य चौकीमा सचेतना कार्यक्रम गरिएको हो । सिकलसेलमुक्त गाँउ बनाउने उद्देश्यले सिकलसेल (हसिया) रोग सम्बन्धी सचेतनाका कार्यक्रम गरिएको जिल्ला जनस्वास्थ्य कैलालीका वरिष्ट अधिकृत टंकप्रसाद चापागाईले बताए । 
२०६८ को जनगणना अनुसार कैलालीमा १ लाख ३७ हजार ४ सय ७० थारु समुदायको जनसंख्या रहेकोमा १८ प्रतिशतमा सिकलसेल रहेको छ । सिकलसेल रोगको लक्षण व्यक्ति अनुसारको फरक–फरक हुने भएकाले थारु समुदायमा रगत परिक्षणका लागि सरकारले आग्रह गरेको छ । 
लक्षण अनुसारको औषधि सेवन गरेमा रोग लागेका मान्छे लामो समय सम्म बाँच्ने प्रशिक्षक इन्द्र बानियाले बताए । एक पुस्ताबाट अर्काे पुस्तामा मात्र सर्ने यो रोग नेपालमा थारु समुदायमा मात्र देखा परेको छ । तर, अन्य समुदायमा पनि रोग हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन । रोगको बारेमा जानकारी, रोगबाट बच्न सकिने उपाय, रोगका बारेमा समुदाय स्तरमा रहेको अन्यौलता लगायतका बारेमा जानकारी गराइएको थियो । 
धनगढीको सेती अञ्चल अस्पताल र घोडाघोडी अस्पताल सुखडले सिकलसेलका विरामीहरुको उपचार गर्दै आएको छ । सिकलसेलका विरामीले नेपाल सरकारबाट एक लाख रुपैया बराबरको औषधि उपचार सेवा पाउने व्यवस्था छ ।